काठमाडौं, २६ भदौ- सभामुख ओन्सरी घर्तीमगरले सांसदहरुलाई हाजिरी गरेर बाहिर बेपत्ता नहुने र बैठकमा सहभागी हुन रुलिङ गरेकी छिन् ।शुक्रबार कोरम नपुगेर स्थगित भएपछि आइतबार बसेको संसद्को बैठकको सुरुमै सभामुखले यस्तो रुलिङ गरेकी हुन् । संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा सांसदहरुको संसद्मा उपस्थिति अनिवार्य रहेको बताउँदै बाहिरी गतिविधिलाई संसद्को विजनेसलाई प्राथमिकता दिन पनि सभामुखले रुलिङ गरेकी छिन् ।
शुक्रबार संसद्मा हाजिरी गरेका २४० जना सांसदहरु एनजिओको गोष्ठीमा भाग लिन रिसोर्टमा गएपछि संसद्को बैठक स्थगित भएको थियो । यसबारेमा सबतिरबाट आलोचना र खबरदारी भएपछि आइतबार संसद्मा सांसदहरुको उपस्थिति केही बाक्लो देखिएको छ।
शुक्रबारको बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले दिउँसो एक बजे बैठक अचानक स्थगित गर्नुपरेको थियो। गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसद्ंमा जम्मा १२६ जना सांसदहरु थिए। तर संसद्को हाजिरी खातामा भने ३६६ जना सांसद्ले दस्तखत गरेका थिए। ५ सय ९५ संख्या रहेको संसद्मा बैठकले कुनै निर्णय लिन वा प्रस्ताव पास गर्नका लागि १४९ सांसद आवश्यक पर्दछ।
पछिल्लो दिनमा संसद्मा सांसदहरुको उपस्थिति पातलो हुँदै गएपछि सभामुखले पटकपटक दलका सचेतकमार्फत चासो राख्दै आएकी छिन् भने संसद्मा पनि ध्यानाकर्षण गराउँदै आएकी छिन्। संसद्को बैठकभन्दा विदेश भ्रमण, जिल्ला भ्रमण र एनजिओको गोष्ठीतिर सांसदहरुको बढी रुचि र प्राथमिकता देखिएको छ।
संसद् भवन पुगे पनि हाजिर गरेर टाप ठोक्ने प्रवृत्ति बढेको छ । संविधान कार्यान्वयनका लागि संसद्लाई क्रियाशिल बनाएर धमाधम विधेयक पारित गर्नुपर्नेमा सांसद्हरु नै यसमा उदासिन देखिएका छन् । हाजिर गरेर टाप कस्ने र हाजिरै नगर्ने सांसदहरुले पनि तलब भत्ता तथा अन्य सुविधा भने नियमित रुपमा लिने गरेका हुन्छन्। २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संसदीय चुनाव गरेर संविधान कार्यान्वयन गर्न सयभन्दा बढी कानुन बनाउनुपर्ने आवश्यकता छ। संसद् चलेको बखत गोष्ठी तथा भ्रमणमा नजान सभामुख ओनसरी घर्तीमगरले पटकपटक सांसदहरुलाई व्यक्तिगत रुपमा र दलगत रुपमा पनि सचेत गराउँदै आए पनि सांसदहरु अटेर गर्दै संसद् बैठकमा अनुपस्थित हुने र हाजिर भए पनि बाहिरिने गरेका छन्।
Previous Articleअञ्चल अस्पताललाई तंग्राउने प्रयास
Next Article डा.वाग्ले पून: आयोगमा, १२ सचिवको सरुवा