बागलुङ, २६ भदौ – धौलागिरी अञ्चल अस्पतालको निर्माणाधिन भवन सम्पन्न नभएपछि विकास समितिले अगाडि सारेका योजना पुरा हुन सकेका छैनन् । त्यस्तै स्वास्थ्यकर्मीले काम गर्न नपाएपछि विरामीले उपचार नपाइ पोखरा लगायतका अन्य अस्पतालमा जान बाध्य भएका छन् ।
अस्पताल विकास समितिले शनिवार बिहान आयोजना गरेको पत्रकार सम्मेलन तथा सरोकारवालाको भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष टिकाराम सापकोटाले अस्पतालमा व्यवस्थापकीय सुधार गरेपनि गुणस्तरीय सुधार गर्न नसकेको बताए । उनले लथालिंग रुपमा रहेको अस्पताललाइ आफ्नो कार्यकालमा तंग्राउने प्रयास गरिरहेपनि चाहेजस्तो नभएको धारणा राखे । सापकोटा अध्यक्ष रहेको समितिको म्याद सकिनै लागेको छ ।
अञ्चल अस्पतल भएपनि विशेषज्ञ डाक्टर अझै ल्याउन नसकेको उनले गुनासो गरे । ‘दरवन्दीका डाक्टरलाइ ल्याउन गरेको पहल अझै सफल भएन’ उनले भने, ‘केहीले आएर हाजिर गरेर फर्किदिंदा धौलागिरी अञ्चलका विरामीले सास्ती पाउनु परेको छ ।’ स्वास्थ्य सेवा विभाग र मन्त्रालयले गम्भिर रुपमा नलिए सम्म यो समस्या समाधान नहुने उनले बताए । अहिले पनि धौलागिरी अञ्चल अस्पतालमा कम्तिमा स्त्रिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन र फिजिसियन लगायतको विशेषज्ञ आवस्यक भएको उनले बताए ।
अस्पतालमा दरवन्दी भएर पनि केही विशेषज्ञहरु अझै शहरीक्षेत्रका ठूला अस्पतालमा काम गरिरहेको र विकास समितिले गरेको पहलले केही गर्न नसकिएको समितिको धारणा सार्वजनिक भएको हो । समितिमा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी समेत सदस्य रहने कानूनी व्यवस्था छ । समितिले आफ्नो पहलमा भने विद्युतको वैकल्पिक व्यवस्थापन, सोलार प्रविधि जडान, चिकित्साजन्य फोहोर व्यवस्थापन समेत गरेको छ । तीन प्रकारका फोहोरको व्यवस्थापन गरेर संक्रमण हुन सक्ने फोहोरलाइ तत्कालै जलाउने व्यवस्था गरिएको हो । खानेपानीको व्यवस्थापन गरिएको, ट्रमा सेन्टरका लागि आवस्यक मेडिकल उपकरणहरु खरिदको चरणमा पुगेको सापकोटाले जानकारी गराए ।
अस्पतालको बी क्लब र सी ब्लकक लामो समय देखि निर्माणाधिन भएर पनि हस्तान्तरण नभएपछि अस्पतालले भएका जनशक्तिको व्यवस्थापन, विरामी जाँच्ने कोठा, शैया र विशेषज्ञ सेवा दिने वार्डहरु समेत विस्तार गर्न नसकेको हो । ठेकेदार कंपनीले अघिल्लो बर्षको पुसमै सक्नुपर्ने कामलाइ अहिले सम्म पुरा नगरेपछि अस्पतालको काम हुन नसकेको हो ।
तर पनि अस्पताल विकास समितिले इसिजी कोठाको वैकल्पिक व्यवस्था गरेको छ । त्यस्तै ओपिडिमा विरामी जाँच्नका लागि डाक्टरको क्याविन निर्माण भएको, खानेपानीको व्यवस्था गरेको, विद्युतको व्याकअप राखिएको, सामान्य अपरेशनका लागि छुट्टै थिएटरको व्यवस्था गरिएको समेत जानकारी गराइएको थियो । त्यस्तै निशुल्क स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्य बीमाको कार्यक्रमलाइ पनि अस्पतालमा दस्तावेजको रुपमा राख्न थालिएको हो । जापनीज स्वयंसेवकको पहलमा एक्सरे, लगायतका केही सुधारका व्यवस्थापन गरिएको उपाध्यक्ष हिराबहादुर केसीले बताए । नागरिक वडापत्रलाइ व्यवस्थित गरिएको, वार्षिक प्रतिवेदन, समिक्षा बैठक, एम्बुलेन्स सेवा, सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरिएको उनले बताए । साथै स्विकृत दरवन्दी पुरा गराउने काममा समितिले पहल गरिरहेको उनले बताए । उक्त अवसरमा प्रजिअ भागिरथ पाण्डेयले विकास समितिको पहल तथा स्वास्थ्यकर्मीको व्यवहारमा सुधार आएमा विरामीले उपचारका लागि अञ्चल अस्पताल आउने धारणा राखे । साथै उनले काम नगरेका ठेकेदार भएमा कारवाहीका लागि सिफारिस गर्ने हिम्मत गर्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण भट्टले अहिले पनि राम्रो सँग काम गर्ने वातावरण तयार नभएको, राज्यले काम गरेका स्वास्थ्यकर्मीलाइ हेर्ने दृष्टीकोण र सेवामा सुधार गर्नुपर्ने धारणा राखे । साथै उनले सबै प्रकारका विशेषज्ञ नभए सम्म गम्भिर प्रकृतिका अपरेशन र उपचार संभव नभएको भन्दै पटक पटक रिफर गर्न बाध्य भएको पनि बताए । उनले अझै सम्म चिकित्सकहरुको बस्ने वासको व्यवस्थापन भैनसकेकोले बस्न चाहनेलाइ पनि बसाल्न नसकिएको धारणा राखे ।
आन्तरिक रुपमा गरिएको सुधार बाहेक राष्ट्रिय तहबाट पनि आवस्यक उपकरण र बजेट ल्याउन कठिन नभएको अध्यक्ष सापकोटाले बताए । ‘पैसा र उपकरण ल्याउन कठिन छैन, विशेषज्ञ बस्ने गरी ल्याउन कठिन भएको छ’ उनले भने, ‘सबै राजनीतिक दलको प्रतिवद्धता र सामुहिक मागलाइ जोडदार रुपमा लैजान सकेमा मात्र अस्पताललाइ सबैको विश्वास गर्न लायक बनाउन सकिन्छ ।’ अध्यक्ष सेरेमोनियल र मेडिकल सुपरिटेन्डेन्ट कार्यकारी हुने भएकोले प्राविधिक रुपमा बढी चासो दिएर काम गरेमा मात्र सुधार गर्न सकिने उनको धारणा छ ।
Previous Articleअतित र वर्तमानमा डराएको म
Next Article हाजिर गरेपछि बाहिर नजानुस्-सभामुख