बागलुङ/जनएकता वचत तथा ऋण सहकारी संंस्था लिमिटेड ताराखोला गाउँपालिका वडा नं. ३ हिल घुस्मेलीको २१ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन पछि बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले ग्रािमण क्षेत्रमा बस्ने जनताको आर्थिक उन्नतीका लागि सहकारी उपयुक्त माध्यम भएकाले यसको अधिकतम उपयोगमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा ताराखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष डिलबहादुर बस्नेत, हरि मावि हिलका प्रधानाध्यापक हरिप्रसाद पौडेल, जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसी, ताराखोला बचत तथा ऋण सहकारी संस्थाका सचिव हुमादेवी कंडेल, संस्थाका महिला शेयर सदस्य फुलकुमारी कंडेल निउरे र पुरुष शेयर सदस्य हर्कबहादुर विकले सहकारीले समाज रुपान्तरणमा गरेको योगदान महत्वपूर्ण भएकाले राज्यले सहकारीको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता, सहसचिव पूर्णबहादुर चोखालको सञ्चालन र शिक्षा उपसमितिका सदस्य डम्बरबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव क्षेत्रबहादुर बस्नेतले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश चोखालले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रविलाल कंडेलले लेखा समितिको प्रतिवेदन र शिक्षा उप समितिका सदस्य खड्क नाउसा मगरले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, एइइ परिक्षामा उत्कृष्ट शेयर सदस्यका छोरा छोरी, जेष्ठ शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो । ७ सय ३७ जना शेयर सदस्य रहेको संस्थामा ५५ लाख शेयर रकम, ३ करोड वचत, ३ करोड २० लाख ऋण लगानी रहेको कोषाध्यक्ष गणेश चोखालले जानकारी दिए ।