तीते करेली
कृष्णराज शर्मा
मलाई भारत भन्ने शब्द सुनेदेखि नै डरले बास गरेको छ मेरो मनमा । तर्सन्छु र खुट्टा काँप्छन् मेरा । यसो हुनुमा,मेरो दोष छैन । दोष छ त, भारत भोगेर आएका भुक्तभोगीहरूले अनुभव सुनाउनु दोष हो । भोगीहरूले बालापनमा सुनाईएका घटनाक्रमहरू सुनेर हो । भारतीय सेनामा काम गरेर फर्केका सैनिकहरूले सुनाएका तीता कथाहरूले हो । नेपालीहरू भारत छिर्दा देखिनै भोग्ने गरेका दर्दनाक घटनाहरूको नालीबेलि सुनेर हो । रेलमा होस् या बसमा अथवा बोर्डरमा होस्, संधै नेपालीहरूले भोगेका नमिठा कुरामात्रै मेरो दिमागमा जमेर बसेर हो । यिनै कुराहरूले गर्दा भारतप्रति नफरत र घृणा छ मेरो दिमागमा अहिलेसम्म । भारत पुगेर फर्केका कसैले पनि मलाई कुनै न कुनै हण्डर नखाएका कथा सुनाउँदै सुनाएनन् । ति हण्डर प्राकृतिक होईनन् मानव श्रृजित हण्डर हुन् । मान्छेले मान्छेलाई दुःख हण्डर दिएका मात्रै कथा हुन्थे । जाऊँ जाऊँ लाग्ने एउटै यात्रा स्मरण कसैको मुखबाट सुनिन् । त्यसैले भारतप्रति पटक्कै आकर्षण छैन । त्यताजाने कसैले अफर गर्दा पहिले नै ‘नो’ भन्दिन्छु मैले । जतिसुकै ऐतिहासिक सुन्दर र धामैधामले भरिएको देश भएपनि मेरो मनले त्यो ठाउँ टेक्दै नटेकी मर्न पाइयोस भन्ने चाहन्थें । चारधामका देवभूमीको दर्शन नगरे पापी भईन्छ भने म पाप गर्न तयार छु,तर म भारत जान्न । म मरेपछि नर्कको बास परेछ भनेपनि स्वीकार छ । तर त्याहाँ जानै नपरोस् । यसो भन्थें म ।
यसो भन्दा–भन्दै पनि बाध्यताले लतारे पछि केही लाग्दो रहेनछ । जापानबाट नेपाल आउँदा त्यही भारत भएर आउन बाध्य भएँ । करिब बाह्र घण्टाको ट्रान्जीटमा दिल्लीमा बस्न पर्यो । आजभन्दा बाह्रबर्ष अगाडीको कुरा हो । दिल्लीको ईन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा म उत्रें । मध्यरातको एक बजेको थियो । त्यो बाह्र घण्टाको ट्रान्जीटको समय बिताउन बाह्रैजुनी फेरेको जस्तो भयो । साथमा भारतीय मुद्रा थिएनन् । जापानीज एन र केही हजार नेपाली रूपैयाँ थियो । बाहिर निस्कने कुरा भएन । भित्रका मनि एक्सचेञ्जरले न जापानी एन साट्न माने न त नेपाली रूपैयाँ नै साटे । हाम्रो देशमा भारतीय मुद्रा पहाडका कुना कन्दरा लगाएत हिमाली जिल्लामा पनि चल्ने तर हाम्रो नेपाली रूपैयाँ त्याहाँ चलेन । खर्चन सक्ने सक्षमता हुँदाहुदै म बिखर्ची भएँ । भोक भोकै भएँ । म त्याहाँको प्रतिक्षा हलमा भोक र तीर्खाले छटपटीएको थिएँ । टाई सुटका मान्छेहरू यता र उता दौडादौड गर्छन् । अडिएका र सोध्न सक्ने मान्छे भेटाउनै मुश्किल । पुलिसमात्रै अडिएका देखिन्थे । ती पनि डण्ठे लेबलका । तैपनि ड्युटीमा रहेको खैरो पोशाकको पुलिसलाई समस्या सुनाएँ । उसले उधर जाओ ! भनेर एकातिर देखाउँथ्यो । त्याहाँ पुग्दा मेरो काम हुँदैनथ्यो । निःशुल्क पानी पिउने व्यवस्था पनि कतै देखिन । बिना पैसा त्याहाँ हुनेवाला केही थिएन । भएका लगेज डोर्याउँदै कति यताउता गर्नु, तैपनि त्यो पुलिसको सहानुभूति हात पार्न यसो गर्थें । पैसा भएर पनि खान नपाउँदाको त्यो क्षण जीवनकै अविष्मरणीय रह्यो । पटकौंको ओहोर–दोहोर पछि फेरी त्यही पुलिससंग मुख फालें । आप भी कुछ लिजीए और मेरे को भी पानी पिला दिजीए साहब ! यति अनुनय गरेपछि थोरै दिलचस्पी लियो मोराले । र भन्यो– ठीक हे रूको, मे बोल्दुङ्गा उसको । उसको साहेबले नदेख्ने गरी गएर बोलेर आएपछि म गएँ । मेरो काम भयो । त्यहाँ लेखिएको दररेटमा सटही भएन । नाफा घाटाको कुरै रहेन । पैसा चल्नु मात्र मेरोलागि नाफा हो । मेरो अत्तो अप्ठ्यारो फुकाएँ । त्यसपछि शर्त अनुसार एक बोतल पानी उसलाई किनेर त्यहीं पसलमा छोडी दिएँ । भोक तीर्खा मेटाएँ । कफि र ब्रेड किनेर खाएँ । काठमाण्डौको जहाजको प्रतिक्षामा बसें । मेरो मनमा बास गरेको डर यो छोटो अबधिको विश्राममा पनि म सँगै बसेको थियो । मलाई त्याहाँको व्यबहारले कतिखेर मेरो देश पुग्ने होला भन्ने लाग्थ्यो । कत्तिखेर मेरो देशभित्र पसौं भयो । लामो र पट्यार लाग्दो प्रतिक्षा पछि मेरो जहाज काठमाण्डौ उड्ने तयारीमा रहेको संकेत माईकबाट थाहा पाएँ । हतार मै जहाजमा छिरें । एयरपोर्टमा खान र निद्रा नपुगेर पेट बिग्रेको थियो । त्यसैबाट उत्पन्न वायुलाई मिलाएर सानो आवाजमा त्यसैको भूमी माथीको आकाशमै मेरो आसनको वायुमुख बाट ‘पुट्ट’ पार्दै बाई–बाई ईण्डिया ! भन्दै रिस् पोखें । उडेको केहीबेरमै हाम्रा हिमाल टल्केको देखेपछि खुशीले चङ्गा भयो मेरो मन । यसरी भोलीपल्ट दिउँसो दुई बजेतिर काठमाण्डौ ओर्लें । यो आँफैले भोगेको नफरतको भारत भयो मेरा लागि ।
भारतसँग अर्को घटना यसैमा जोडेर हेर्न मनलाग्छ मलाई । बि.सं.०६८ सालको कुरा हो । बागलुङ बजारमा यौटा धार्मीक सभाको आयोजना गरिएको थियो । करिब एक महिना पहेलेदेखि यसको प्रचार प्रसार भएको थियो । बागलुङ प्रबेश गर्ने मुख्य द्वारदेखि नै एकजना जटाधारी र दाह्रीवाल स्वामीको फोटो बिजुलीका पोल पोलमा टाँसिएका थिए । उनको निकै तारिफ गरेर चर्चा गरिन्थ्यो । मेरो मन धार्मीक भएकाले उत्ती नै चासोपूर्वक सुन्थें । केन्द्रिय समितिको आयोजनमा यो भैरहेको थियो । आयोजकहरू मै बागलुङेको हालिमुहाली रहेछ । त्यसैले पनि यस्तो भएको हुनु पर्दछ । स्थानीय बालमन्दिरको प्राङ्गणमा भव्य पण्डाल खडा गरिएको थियो । बागलुङले यति ठूलो पण्डाल र धार्मीक सभा पहिलो चोटी देखेको हुनु पर्दछ । समय नयाँबर्षको शुरूवातको बैशाख महिना थियो । स्वामी हरिदास यसका प्रमुख थिए । उनैबाट धर्म र विज्ञानको समन्वयात्मक प्रबचन दिने भनिएको थियो । यिनै स्वामी हरिदासको आधुनिक प्रबचन सुन्न म पनि लालायित भएँ । बालमन्दिको प्राङ्गण भक्तजनको भीडले खचाखच भरिएको हुन्थ्यो । स्थानीय प्रशासनका सबै हाकिम प्रशासक स्वामी हरिदासको चरणमा झुक्थे । कोही धनुषाकारमा कोही अष्टाङ्ग दण्डवतमा । नीजामति जंगी प्रहरी सवै राष्ट्र सेवकहरू स्वामीका भक्त बने । राजनीतिक नेताहरू झन् एकबित्ता बढी थिए । धर्मै मान्दिन भनेर राजनीति गर्नेहरू पनि स्वामीका अगाडी फिस्स हुन्थे । काँग्रेसबाट बागलुङको जिविस सभापति भएका गोपाल सापकोटा संस्थाको केन्द्रिय सचिव भएकाले बागलुङे काँग्रेसहरूको फूर्तीफार्ती हुनै भयो । माओवादीले डामे पछि उनी राजनीति छाडेर यता लागेका हुन् भनिन्छ । जे होस् पन्ध्र दिनसम्म बागलुङ बजार स्वामी हरिदासमय भयो । जय नेपाल र लालसलाम भन्नेहरूले सब छोडेर– ‘राधे–राधे !’ भन्न थाले । नमस्कार भन्ने पनि हरायो केही समय । यस्तो माहौलमा सबै होमिए । सबै पोलिए । म पनि होमिएँ । पोलिएँ । स्वामीको समन्वयात्मक प्रवचनको दुईघण्टे अबधीमा मान्छेको गजबकै उपस्थिती हुन्थ्यो । स्वामीले प्रवचनमा गीता र वेदका श्लोक भनेपछि नम्वर पनि भन्थे । दुई–चारछ, सोह्र–नौ–बाह्र अथवा श्लोक अनुसार फरक–फरक नम्वर भन्थे । पहिला त के भनेको हो थाहा भएन । पछि थाहा भयो सबैलाई । आँफूले कण्ठस्थ भनेका श्लोक प्रमाणित होस् भन्ने आशयले यसो भनिएको रहेछ । यसो हेर्दा भगवानले भन्दा बढी जान्ने रहेछन् भन्ने पारे स्वामीजीले । स्वामी हरिदासको सारभाव थियो– चारित्रिक बन्दै भगवानलाई सम्झौं ! भगवानको पूजाको लागि नखरा गर्नु पर्दैन । शौचालयमा शौच बिसाउँदै गर्दा पनि भगवान सम्झन सकिन्छ । सबैले आ–आफ्ना भगवान त्यसरी सम्झे पुग्छ भन्ने सन्देश छोडे । यही भावमा म खिचिएर केही समय त्याहाँ रहेको छु । पछि त्यहाँ राजनीति घुसो । संगसंगै स्वामी हरिदास भन्दा डबल ‘हरिपदास’ स्वामीहरूको चर्तीकला देखेर मै पछि हटें । यही राधे(राधेमा लाग्दै गर्दा, सकृय रहँदै गर्दा फेरी भारतमा जाने कुरा आयो । यो पनि थाह थियो– भारत त भारत, त्यही भारतले खाएको सिक्किममा राधे राधेको कार्यक्रम आयोजना स्थल रहेछ । भारत नजाने भनेको मैले सिक्किमको नाम सुनेर जाऊँजाऊँ भयो । नेपाल जस्तै एउटा स्वतन्त्र देश थियो सिक्किम । म सानो छँदा सिक्किमलाई ईन्दिराको ईण्डियाले खायो भन्ने सुनेको थिएँ । त्यो सानो हिमाली अधिराज्य हेर्ने मन थियो । सबै नेपाली बस्छन त्याहा भन्नेपनि त्यतिनै बेला सुनेको थिएँ । बुझ्ने भएपछि सबै पढियो जानियो । जीवनमा एक पटक त्यो ठाउँमा पाईलाटेक्ने सपना बोकेको पनि थिएँ । यही राधेराधेले मेरो सपना पुरा गराउने भयो भन्ने लाग्यो । आखिरमा बागलुङबाट एक गाडी हामी राधेराधेहरू सिक्किमको ग्यान्टोक पुग्यौं ।
सिक्किममा हामीले दुई दिन बितायौं । तेश्रोदिन बिहानै फर्क्यौं । पहिलो दिन कार्यक्रमको शुभारम्भको अवस्था रह्यो । दोश्रो दिन देखि बागलुङकै प्रवचन हुनथाले । सिक्किमेली प्रवचनमा,हामी गान्तोक घुम्न थाल्यौं । त्याँको चिनोको रूपमा सबैले केही न केही लियौं । घुम्ने क्रममा गान्तोकको मुख्य बजार एमजी मार्गमा थियौं । यहींको यौटा स्तरीय रेष्टरेण्टमा खाजा खाने क्रममा पस्यौं । खाजा तयार हुँदै थियो । सिक्किमको भाषा भेष देख्दा हामी भारतको कुनै प्रान्तमा गएको झैं नै लागेन । धेरैजसो सिक्किमेलीहरू नेपाली टोपि मै देखिए । टोपी नलगाए पनि बोलीको भाषामा हाम्रो भन्दा मिठासयुक्त थियो । यही रेष्टुरेण्को साहुले सुन्नेगरि हामी आपसमा कुरागर्दै थियौं । त्याहाँको राजनीतिको बारेमा बोल्न थाल्यौं । मुख्यमन्त्री पवन चाम्लिङको चुनावी जीत र विपक्षीको कुरा गर्यौं । गर्दागर्दै भारतले सिक्किम लिएपछि त्याहाँका जनतालाई भारतले कस्तो ब्यबहार गरेको छ भनेर जनताकै मुखबाट सुन्न चाहेर सोध्न खोजेका के थियौं साहुजी सिधै हाम्रो टेबुलमा आएर भने– कृपया, सबै कुरा गर्नुस् तर यहाँ राजनीतिको कुरा नगर्नुहोला । हामी त झसङ्ग भयौं । हामी लज्जावती झार खुम्चिए झैं कच्याक् कुचुक् भयौं । कुरा अर्केतिर बटार्यौं । फटाफट् मःमः र चिसोले पेट भरेर बाहिर फोटो लिंदै घुम्यौं । मनमनै भने प्रजातन्त्रको मसीहा भन्ने देशमा राजनीतिको उच्चारण गर्न नपाईने कस्तो देश होला ! आखिर म त भारतमा न थिएँ । मेरो मनमा बसेको डर रेष्टुरेण्टवालाले भनेपछि बाहिर आयो । नेपाली हुनुको नाताले त्याहाँका नेपालीको भावना बुझ्न र साट्न नसकिने ठानें । म भारत नगएर सिक्किम पुगेको कुरा फगत झूठो बन्यो । उसैको झण्डा मुनी न उभिएको थिएँ । राज्यको कडा अनुशासनमा बसेका त्याहाँका जनता देखेर दङ्ग पर्यौं । त्यहाँ अपराधका घटना खासै हुँदा रहेनछन् । विकास निर्माणमा कुनै कमि रहेनछ । केन्द्र सरकारले विशेष संरक्षण दिएको रहेछ त्यहाँ । कुनै कुराको अभावमा उनीहरूमा बिद्रोहका आवाज ननिस्किऊन् । बडे परियोजनाहरू टिष्टा नदिको आसपासमा निर्माणाधिन थिए । सिक्किमेलीहरू काम गर, संमृद्ध बन र मोजमस्ती गर भन्ने भावनमा डुबेका थिए । स्वास्थ्य शिक्षा लगाएतका आधारभूत आवश्यकताका बारेमा राज्यका तर्फबाट भरपुर सहयोग पनि छ । मेरो छोटो बसाईको सतही अध्ययनले त्यही पढ्यो । बुझ्यो । उनीहरूको देश र झण्डा कहाँ छ भनेर चासो लागेपनि सोधखोज गर्दैनन् । आफ्नो देश कता हरायो भनि खोजीगर्नु पनि जरूरी छैन । जनता ब्यापार व्यवशायमा रमाएका छन् । शान्तीपूर्वक जीवनयापन गरेका छन् । नियम कानूनको शिरोधार्य गरेका छन् । जुनबेला जसले गल्ति गरे ऊ प्रति बोल्न आवश्यक ठान्दैनन् । मनै मनमा मनका किताबका पाना पल्टाउँछन् । देश हराउनेलाई पढ्छन् । धिक्कार्छन् मात्र । सिक्किमेलीको पुस्तान्तरण भैसक्यो । नयाँ पुस्ताले अभिभावक बाट सिक्किमको इतिहास सुनेर पढ्छन । विगतको चिन्ता छैन केही ।
यो स्मरणको निचोडमा के भन्न खोजिएको हो भने राष्ट्रियता गुमेपछि उसको काम खाने लाउने र मोजमस्तीमा भुल्ने मात्रै हुन्छ । आज हाम्रो देशमा देश र जनताको मायाँ भन्दा विदेशीको डलर र पार्क भिलेजको मिठो खाना भए पुगेको छ । आईएनजिओका दह्रो भत्तामा साँसदजीहरू भुल्न थालेका छन् । करोडौं डलरमा राष्ट्रिय पहिचान बिकेका छन् । राष्ट्रिय धरोहर ढलेका छन् । देशको आन्तरिक गुह्यतामा गाँठले चर्चो गर्दैछ । नेमकिपाकि बिजुक्छेले भने अनुसार बाईस हजार सरकारी कर्मचारी विदेशी दूतावासको भत्ता बुझ्छन् । खान र रम्न पाए पुग्नेले देश र जनता खोज्दैन । अहिलेको ट्रेण्ड हेर्दा राजनीतिको पहिलो सिंडीदेखि टुप्पासम्म यही अवस्था हावी छ । के थाहा ? यि खाईपल्केकाले हामीलाई तिनै सिक्किमेली पो बनाउँछन् कि भन्ने डर नेपाली जनतामा पैदा भएको छ । अर्को भारतीय दलाल आफ्नै देशभित्र पसेर घर गर्न थालेको छ । आफ्नै दैशभित्र,आफ्नै घरभित्र त्यो पसेपछि म कहाँ जाऊँ !
Previous Article२६ भदौ २०७३, ढोरपाटन दैनिक
Next Article अञ्चल अस्पताललाई तंग्राउने प्रयास