तारानाथ आचार्य/बागलुङ, ४ असोज
जिल्लाको दक्षिण व्यापारिक केन्द्र कुश्मीशेरासँग जोडिएका साविकका आधा दर्जन गाविस जोड्ने मोटरेवल पुल निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र जिल्ला समन्वय समितीले समयमा निर्णय दिन नसक्दा पुल निर्माणमा ढिलाई भएको हो । कुश्मीशेरा बजारलाई हालको जैमिनी नगरपालिका–४ सर्कुवासँग जोड्ने पुल निर्माणमा ढिलाई हुँदा उपभोक्ताहरु मारमा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए ।
पुल निर्माणको जिम्मा पाएको अनेष्ट कन्ट्रक्सन एमआर जेभीले समयमा निर्माणको काम नसक्दा समस्या पैदा भएको रानाले बताए । सुरुमा पुल निमाणको काम थालिएको भए पनि पुल नजिकैको सडकको ट्रयाकमा मुख्य रुपमा समस्या देखिएको हो । पुलको ६० प्रतिशत काम सम्पन्न भएको भएपनि आसपासका ट्रयाक निर्माण नहुँदा सवारी आवतजावतमा समस्या भएको रानाले बताए । ‘पुलसँगै पुलको पश्चिमपट्टिको ट्रयाक निर्माण सम्पन्न भएको छ’ –रानाले ढोरपाटनसँग भने– ‘पुलको पर्व पट्टिको ट्रयाक निर्माण हुन नसक्दा सवारी आवतजावत हुन नसकेको हो ।’ पुन निर्माणमा भएको ढिलाईका कारण जिल्लाको दक्षिणमा रहेका सविकका बिनामारे, सकुर्वा, जैदी, छिस्ती, अर्जेवा लगायतका सर्वसाधरणले बर्षादको समयमा सास्ीत खेप्दै आएका छन् । हिउँदको समयमा ठेउलेखोला बाट सवारी आवतजावत गर्ने भएपनि बर्षातको समयमा समस्या हुने गरेको रानाले बताए । गत असार महिनामा कम्पनीले निर्माण सकेको पुर्वतर्फको ट्रयाक ठेउले खोलाले बगाएपछि समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
ठेउलेखोला जलबिद्युत आयोजनाको उच्च बाँधका कारण ट्रयाक बगाएपछि कम्पनीले नयाँ ट्रयाक निर्माणको लागि जिल्ला विकास समितीमा अनुमति मागेको कम्पनीका इन्जिनियर बिष्णुप्रसाद ढकालले बताए । ट्रयाकको गहिराईबाट खोलाले बगाएपछि जिल्ला विकास समितीसँग पुनः स्टमेट मागेका थियौं’ ढकालले भने– ‘जिल्ला विकास समितीले स्टमेट उपलव्ध गराउन ढिलाई गर्दा काममा समस्या भएको हो ।’ गतबर्ष नै जिविससँग स्टमेट मागिएको भएपनि २०७४ जेष्ठमा मात्रै आफुहरुलाई कामको लागि स्टमेट प्रप्त भएको ढकालले बताए । पुलको पुर्वपट्टि २५ मिटरको ट्रयाक निर्माण गर्नको लागि खोलाको सतहबाट ११ मिटरको ढलान सहितको पर्खाल निर्माण गर्ने गरी स्टमेट प्राप्त भएपछि कम्पनीले काम थालेको थियो । ‘हामीले ६५ प्रतिशत काम सकेका छौं’ ढकालले ढोपाटनलाई भने– ‘ट्रयाक निमार्णमा लागेको ३७ लाख रुपैयाँ जिल्ला विकास समितीले उपलव्ध नगराउँदा समस्या पैदा भएको छ ।’ ढकालका अनुसार, जिविसले रकम उपलव्ध नगराए पनि दशैं बिदा लगत्तै बाँकी काम सुचारु गरिने छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढ्ंगानाले केन्द्बाट नै बजेट नआएकाले उपलब्ध गराउन नसकेको बताए । २५ मिटर लामो पुलको अहिलेभन्दा ३ बर्ष पहिले कम्पनी निर्माण कार्य सुरु गरेको थियो । कुल १ करोड ९९ लाखको योजना भएपनि पछि खोलाले निर्मित संरचना भत्काएपछि लागत बढजेर २ करोड २९ लाख पुगेको इन्जिनियर ढकालले बताए । निर्माण कम्पनीले २०७२ साल माघमा निर्माण सक्ने गरी २०७१ साल असारमा सम्झौता गरेको थियो । पुल निर्माणमा ढिलाई भएपछि जैमिनी नगरले भने बैकल्पिक बाटो खोजेको छ । ठेउले खोलामा पानीको बहाव घट्दै गएको र बाँकि पानीलाई फराकिलो तरिकाले बगाउँदा यातायात आवतजावत गर्न सक्ने भएकाले सोहि बिकल्प अपनाइएको उप–प्रमुख रानाले बताए ।
निर्माण कम्पनी र ठेउलेखोला बिद्युत परियोजनाको सहयोगमा बैकल्पिक मार्गको निर्माण गरिएको हो । बैकल्पिक मार्ग निर्माण भएसँगै मंगलबार साँझबाट नै त्यस क्षेत्रमा सवारी सञ्चालनमा आएका छन् । चार्डबाडको समयलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा आएपछि त्यस क्षेत्रका सर्वसाधरणमा समेत उत्साह छाएको छ ।