बागलुङ/नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ बागलुङ नगरको अध्यक्षमा सूर्य लामिछाने चयन भएका छन् । युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङले चौथो अधिवेशनले लामिछानेको अध्यक्षता ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिपेन्द्र रेग्मी, सचिव हरि गौतम, सह–सचिव शोभा शर्मा र कोषध्यक्षमा अर्जुन खड्का चयन भएको युवा संघ बागलुङले जनाएको छ । कार्यक्रमको उद्घाटनपछि बोल्दै नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले देशको चौतर्फी विकासका लागि युवा संघको नेतृत्व आवश्यक रहेको बताइन् । देश विकासको मेरुदण्ड युवा भएको हुँदा युवाहरूको सहभागिता, परिचालन र सशक्तीकरण बिना कुनैपनि राष्ट्रको बिकास असम्भव भएको उनले बताइन् ।
युवाहरु श्रम, सीप र क्षमतालाई परिचालन गर्ने सके मात्र राष्ट्रियता र दीगो विकासलाई संस्थागत ढंगले अगाडी बढाउन सकिने केसीको भनाई थियो । सोही अवसरमा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सचिव लालबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले युवाका अधिकार क्षेत्रलाई कागजमा लेखेर मात्र नभई सक्षम र क्षमतावान बनाएर युवालाई उत्पादन र आयमुलुक कार्यमा जोड्न जरुरी भएको बताएका थिए । कार्यक्रम नेपाल युवा संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष रेशम घर्तिको स्वागत र सचिव प्रदिप आचार्यको संचालनमा सम्पन्न भएको थियो ।