आजभन्दा दुई बर्ष पहिला अर्थात् असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको दिन । यस दिनमा नेपालीका घर–घरमा दिपावली मनाईएको थियो । हिजो दोस्रो संबिधान दिवस अर्थात् नेपालमा संबिधान जारी भएको दिनको सम्झनामा बिभिन्न कार्यक्रम गरेर सरकारी कर्मचारी, राजनीतिज्ञदेखी मजदुरसम्मले मनाए । देशले मुहार फेरेको दिनको सम्झनामा देशभर संबिधान दिवस मनाईरहँदा जनताले चाहेअनुसारको अनुभूति गर्न पाए कि पाएनन् भन्ने हो । काठमाण्डौमा सेनाले हेलिकोप्टरको प्रयोग गरेर भए पनि पुष्पबृष्टि गरायो । तारे होटलहरुमा संबिधान कार्यान्वयनको समिक्षा भए र सरकारले दिएको बिदामा निजामति तथा बिभिन्न सरकारी सेवाका कर्मचारी तथा शिक्षक बिद्यार्थीले पनि राम्रैसँग मंगलबारको दिन बिताए । आजभन्दा ठिक दुई बर्षअघि २०७२ साल असोज ३ गते नेपालमा नागरिकले आफ्नो मत प्रयोग गरेर चुनेको प्रतिनिधिहरुले लामो समय लगाएर बनाएको संबिधान जारी भएको दिन हो । भारतको गलत दृष्टि र उसैको नुनपानीले फुलेका केहि नेपालका राजनीतिक दलहरुले कालो दिनको रुपमा मनाएको दिन पनि हो असोज ३ ।
एकातर्फ हर्सोल्लासका साथ दिपावली भएको थियोभने अर्कोतर्फ मालिकको कलो खाएकाहरुले मालिकको जय जयकारमा मसाल जुलुस निकालेको दिन पनि हो । पहिलो र दोस्रो गरेर झण्डै दशकको अवधि खर्च गरेको संबिधानसभाले बिभिन्न आरोह–अवरोहहरु पार गरेर संबिधान दिएको छ । संबिधान जारी भएपछिका क्रियाकलापलाई हेर्दा सकारात्मक रुपमा कार्यान्वयनको पक्षमा रहेको स्वीकार गर्न सकिन्छ । संबिधानले कल्पना गरेको स्थानिय संरचना र सोही अनुसार भएका निर्वाचनका कार्यक्रमले संबिधान कार्यान्वयनको पाटोलाई प्रष्ट पारेको हो । एकाध सत्ता समिकरण र भागवण्डाको लुछाचुँडीबाहेक मुल प्रवाहका राजनीतिक दलहरुले संक्रमणको यो समयमा खेलेको भुमिकालाई पनि सकरात्मक रुपमा लिनुपर्छ । सरकार गठनको जोडघटाउमा लामो समय खर्च गरेका दलहरुले संबिधानको दु्रत कार्यान्वयनमा ढिलाइ गरेपनि मंसिरमा घोषणा गरिएको संघ र प्रदेशको निर्वाचन पश्चात देशले संघिय संरचनामा रहेर मुहार फेरीएको अनुभुति गराउनेमा आमनागरिक बिश्वस्त छन् ।
संबिधान जारी भएको दोस्रो बर्षगाँठ मनाउँदासम्म पनि साना–साना कुरामा संसोधनको प्रस्ताव आउनु र छिमेकी तथा अन्य मित्र शक्ति केन्द्रको भरमा देशको संबिधान जस्तो मुल मर्म बोकेको कानुनलाई बिबादित बिषय बनाउनु भने आमनेपाली जनताको दुर्भाग्यको बिषय हो । संबिधान मार्गदर्शक मात्रै हो त्यसलाई पालना गर्दा अन्य नियम तथा कानुनहरुको निर्माण हुन्छ र सोही अनुसार अधिकार तथा सेवा सुबिधाको प्रत्याभुत हुने हो । मुलभुत रुपमा समाबेश गर्नुपर्ने केही त्यस्ता कुराहरु छुटेको भए गहन रुपमा छलफलको बिषय बनाएर संसोधन गर्ने र होइन भने सानातिना कुराहरुलाई बिनियम र बिधयेकमार्फत संबोधन गर्ने गरी संबिधान कार्यान्वयनको गतिलाई द्रुत बनाउन आवस्यक छ । हामीले संबिधान निर्माणमा धेरै समय खर्चेका छौं । अबको हाम्रो समय आर्थिक विकासको लागि खर्चिनु पर्छ । संविधानको अलमलले हाम्रो अघिको बाटो छेक्छ । नमिलेका बिषय मिलाएर संबिधानको कार्यान्वयन गर्दै आर्थिक क्रान्तिमा लागौं ।