बागलुङ/भीमसेन माध्यमिक विद्यालय विहुँ बागलुङले सेवा निवृत प्राचार्य टिकाराम सापकोटालाई सोमबार भव्य कार्यक्रमबीच सम्मान तथा विदाई गरेको छ । २०३७ सालमा स्थापना भएको भीमसेन माविमा स्थापनाकालदेखि प्राचार्य रहेर ३७ वर्षसम्म सेवा गरेका सापकोटाले विद्यालय क्षेत्रका साविकका ८ गाविसको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । एउटै पदमा निरन्तर पौने चार दशकसम्म काम गरेर विद्यालयको भौतिक, शैक्षिक लगायत रचनात्मक र सिर्जनात्मक क्षेत्रमा सापकोटाले गरेको योगदानको कदर गर्दै विद्यालयले सम्मान सहित विदाई गरेको हो । विद्यालयले आयोजना गरेको अभिभावक भेला, शुभकामना आदान प्रदान तथा विदाई कार्यक्रममा बोल्दै सेवा निवृत प्राचार्य टिकाराम सापकोटाले समाजका हरेक क्षेत्रको सहयोगले आफुले ३७ वर्षसम्म भीमसेन माविमा रहेर शिक्षा क्षेत्रको विकासमा योगदान गर्न पाएको भन्दै सबैलाई धन्यवाद ज्ञान गरे ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले काँठेखोला गाउँपालिकाको एउटा विद्यालयमा रहेर जिल्लाकै शैक्षिक उन्नतीका लागि सापकोटाले गरेको योगदान उल्लेखनीय रहेको बताए । कार्यक्रममा काँठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले शैक्षिक जगतमा सापकोटाले गरेको योगदानको उच्च प्रशंसा गर्दै गाउँपालिकाको शैक्षिक विकासमा उहाँसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक प्रकाश वझा, विद्यालयका संस्थापक जब्बरबहादुर लामिछाने, पूर्व विद्यार्थीहरुका तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, भीमसेन क्याम्पस व्यस्थापन समितिका अध्यक्ष भीमबहादुर खड्का, सदस्य गंगाप्रसाद कंडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टिकाबहादुर थापा, काठेखोला गाउँपालिका वडा नंं १ का अध्यक्ष खड्क थापा, अमर माविका प्रधानाध्यापक भिष्म कंडेल, विद्यालयका पूर्व शिक्षकहरुको तर्फबाट विजयराज पन्त, संस्थापकहरुका परिवारको तर्फबाट स्वर्गीय बलबहादुर कार्कीका छोरा डिलबहादुर कार्की, नेपाल शिक्षक संघका पूर्व सचिव भवानीप्रसाद कंडेल, विद्यार्थी रविना कंडेल लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, शिक्षक बालकृष्ण कंडेलको स्वागत मन्तव्य र शिक्षक नारायणप्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।