म्याग्दी/जिल्लाका सामुदायिक विद्यालयमा स्थापना भएका पुस्तकालयले शैक्षिक गुणस्तर बृद्धिमा प्रभावकारी भूमिका खेलेको बताए । बालबालिकालाई पाठ्यक्रममा सिमित राख्दा शैक्षिक गुणस्तर बृद्धि, पढाई प्रतिको आर्कषण बढाउन समस्या भइरहेको अवस्थामा नियमित पुस्तकालयको प्रयोग गर्न शिक्षकलाई घण्टी तालिका, पठन क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको स्तरमापन गर्ने विधिले शैक्षिक गुणस्तर बढेको बताएका थिए । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङमार्फत म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको समिक्ष र आगामी दिनमा गर्नुपर्ने भूमिका विषयक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले सामुदायिक विद्यालयमा पुस्तकालय बरदान सावित भएको बताए ।
उनले पुस्तकालयको पहुँचमा अभिभावक समेत पुगेको देखिएकाले निरक्षर उन्मुलन गर्ने अभियानमा समेत पुस्तकालय सहयोगी बनेको बताए । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले पुस्तकालय भित्र प्रवेश गरेपछि प्रयोगमा ल्याइएको रजिष्टर र विधिले विद्यार्थीलाई आत्मनिर्भर स्वतन्त्र पाठक बनाउन सहज भएको बताए । ‘पुस्तक संगै प्रयोगमा ल्याइएको विधीले विद्यार्थीलाई पढाईमा आर्कषित गरेको छ । समिक्षा तथा छलफल कार्यक्रममा रुम टु रिड नेपालका क्षेत्रीय कार्यक्रम ब्यवस्थापक खड्ग बहादुर कुँवरले म्याग्दी जिल्लामा पुस्तकालय सञ्चालनका लागि प्रयोग गरिएका विधिहरू अन्य जिल्लाले समेत सिकेको बताए । त्यस्तै पुस्तकालय सञ्जाल म्याग्दीका अध्यक्ष भक्त बहादुर कार्कीले निरन्तर सहयोगको आवश्यकता औलाए ।
गाजा डेभलपमेन्ट फाउण्डेशनका कार्यकारी अधिकृत प्रमानन्द कँडेलले जिल्लामा संस्थामार्फत शिक्षाको क्षेत्रमा निरन्तर सहयोग हुने प्रतिबद्धता जनाए । उनले प्लान नेपालको सहयोगमा बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकाका २५ वटा विद्यालयमा पढाई विकास कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सरोकारावाला निकायबाट प्राप्त भइरहेको सहयोगबाट कार्यक्रम प्रभावकारी बनेको बताए । जिल्लामा थप ३० वटा विद्यालयबाट पुस्तकालयको माग गरिएको छ । जिल्लामा ९९ वटा विद्यालयमा ६ लाख बराबरको पुस्तक, फर्निचर सहयोग गरी पुस्तकालय स्थापना गरिएको छ भने १७ वटा विद्यालयमा पुस्तक सहयोग गरिएको छ । समिक्षा कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, दलबहादुर थापा, रामकरण पाल, बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुईकेल, स्रोतब्यक्ति दुर्गाराम सुबेदी, गिरीप्रसाद छन्त्याल, मोहन बानियाँ, रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुबेदी, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालय पुस्तकालय कार्यक्रम संयोजक तथा पत्रकार हरिकृष्ण गौतमले गरेका थिए ।