२ असोज, काठमाडौं । प्रमुख तीन दल अस्थायी शिक्षकको दरबन्दीको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने गरी शिक्षा ऐन अघि बढाउन सहमत देखिएका छन् । शिक्षाविदहरुले भने यसलाई ‘सार्वजनिक स्कुल डुबाउने खेल’ भनेका छन् ।
गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक दिने गरी शिक्षा विधेयकमा आठौं संशोधन भयो । यसले स्थायीको परीक्षामा खुला प्रतिस्पर्धाबाट ५१ र अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धाबाट ४९ प्रतिशत आउने व्यवस्था गर्यो । साथै अस्थायी शिक्षकलाई परीक्षामा सामेल हुने कि गोल्डेन हृयाण्डसेक एक रोज्नुपर्ने विकल्प दियो ।
तर, अस्थायी शिक्षकहरुको आन्दोलनपछि उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐनको नवौं संशोधन दर्ता गरे । जसमा स्थायीको परीक्षामा ६० प्रतिशत अस्थायीबाट र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रस्ताव गरिएको छ ।
साथै परीक्षामा सामेल भएर फेल भए पनि अस्थायी शिक्षकहरुले गोल्डेन हृयाण्डसेक पाउने उल्लेख छ ।सुरुमा सांसदहरुले यसको विरोध गरे । तर, तीन दलबीच अब अस्थायी शिक्षकलाई आफ्नो पक्षमा तान्ने होड चलेको छ । र, उनीहरुले को भन्दा को कमको शैलीमा अस्थायी शिक्षकहरुको पक्षमा संशोधन दर्ता गराएका छन् ।
कांग्रेस सांसदहरुले स्थायीको परीक्षामा ७५ प्रतिशत अस्थायीबाट ल्याउने संशोधन हालेका छन् । माओवादी केन्द्रका सांसदहरुले पनि ७५ प्रतिशत नै प्रस्ताव गरेका छन् भने एमालेले ८० प्रतिशत पुर्याउनु पर्ने भन्दै संशोधन हालेको छ ।
Previous Articleदिउँसो दुर्इ बजेसम्म करिब ६० प्रतिशत मतदान
Next Article मन्त्रि परिसदका आधा दर्जन निर्णय।