काठमाडौं, २ असोज – स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा दिउँसो दुर्इ बजेसम्म करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।
आज अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन्। दुई नम्बर प्रदेशमा छिटपुट घटनाबाहेक निर्वाचन प्रक्रिया शान्तिपूर्ण तरिकाले चलिरहेको आयोगले जनाएको छ।
प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन्।
Previous Articleअायल निगमका निर्देशक गोपाल खड्का बर्खास्त
Next Article ७५ प्रतिशतमा दलहरु सहमति नजिक