बागलुङ/आश्विन संक्रान्तिका दिन आइतवार कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको जानकारहरु बताउँछन् । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । शास्त्रका अनुसार, विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । यही सम्झनामा नेपालका कालीगढले आइतबार भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । यो दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । आइतवार बागलुङ, पर्वत म्याग्दि लगायका क्षेत्रमा पनि धुमधामका साथ बिश्वकर्मा पुजाआजा गरिएको छ । बिषेश गरेर फलामबाट निर्मीत मेसिनरि सामाग्रीहरुको पुजाआजा गरिएको हो । ध्वजा पतका सहित बिभिन्न रंगहरुले आफ्ना मेसिनरी सामाग्रीहरुलाइ रंगाएर पुजाआजा गरिएको एक व्यवसायीले बताए ।