बागलुङ/बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जीवन पुर्नस्थापना केन्द्रले चुमेको छ । शनिबार भएको फाइनल नयाँ जिवनले खेलमा बागलुङ स्पोर्टस् क्लबलाई ९–७ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको सुरुवातमा सुवास गुरुङको गोलबाट बागलुङ स्पोर्टस्ले अग्रता लिएता पनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा उपाधि जित्नबाट बञ्चित बनेको हो ।
नयाँ जिवनले उपाधि जित्दा रोशन केसीले ४, सुनिल तामाङले ३, राजेश जिसी र गणेश थापाले सम्मान १–१ गोल गरेका थिए । बागलुङ स्पोर्टस् क्लबको तर्फबाट खेलको म्यान अफदी म्याच घोषित भएका सुवास गुरुङले ६ गोल गरेका थिएभने किरण दुराले १ गोल गरेका थिए । जिल्लामै पहिलो पटक आयोजना गरिएको फुटसलको उपाधि जित्दै नयाँ जिवनले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेतामा सिमित बनेको बागलुङ स्पोर्टस् क्लबले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रश आवर फुटसल प्रा.लि. बागलुङले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ स्पोर्टस् क्लबका सुवास गुरुङ, उत्कृष्ट गोलरक्षक नयाँ जिवनका मञ्जेश राना मगर र अनुशासित टिम मानव सेवा आश्रम घोषित भए । उनीहरुले नगद ३ हजार प्राप्त गरे । विजेता र उपविजेताहरुलाई बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, जिल्ला फुटसल संघका संस्थापक अध्यक्ष राम शर्मा र जिल्ला भूसंरक्षण कार्यालयका शेर बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।