बागलुङ, ३१ भाद्र – अधिवक्ता राम शर्माले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणको लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
शर्माले शुक्रबार आफ्नो ४७ औं जन्मदिनको अवसरमा एक कार्यक्रमका बिच महासंघको भवनको निर्माणको लागि १५ हजार रुपैयाँ र मानव सेवा आश्रमको लागि पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
शर्माले भवन निर्माणको लागि नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानालाई सहयोग रकम हस्तान्तरण गरेका थिए । यस्तै बागलुङमा सञ्चालित मानव सेवा आश्रममको लागि शर्माकी माता हेमकुमारी शर्माले आश्रमका प्रमुख मनिष रायमाझीलाई रकम हस्तान्तरण गरेका थिइन । सहयोग हस्तान्तरण पश्चात बोल्दै शर्माले आफुले कुनै प्रचाबाजीको लागि सहयोग गरेको नभई समाज प्रतिको उत्तरदायीत्व सम्झेकोे बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, मानव सेवा आश्रमका मनिष रायमाझीले शर्मालाई जन्मदिनको शुभकामनच्स दिएका थिए । कार्यक्रमको सञ्चालन नवराज केसीले गरेका थिए ।
त्यस्तै सिदार्थ शिक्षा सदन बागलुङका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले पनि शुक्रबार मानव सेवा आश्रमलाई आफ्नो १ दिनको खाजा खर्च कटौती गरेर सहयोग गरेका छन् ।
विद्यार्थीहरुले ३ हजार रुपैयाँ आश्रमलाई सहयोग गरेको विद्यालयकी शिक्षिकका सन्ध्या भण्डारीले जानकारी गराएकी थिइन् । कार्यक्रममा विद्यार्थी सहित विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले समेत आश्रमको लागि एकबोरा चामल, १० प्याकेट तेल, भुजा, चाउचाउ लगायतका सामाग्री सहयोग गरेको बताइएको छ ।
अहिले आश्रममा १५ जना व्यक्तिहरु आश्रित छन् ।