विक्रान्त शर्मा
काठमाडौं, ३० भदौ – ‘कसैले यसलाई एक्सन मूभी भनिरहेका छन्। तर, यो त पियोर लभ स्टोरी हो। अलिअलि एक्सन त गरेको छु त्यो पनि माया पाउनका लागि!’ शुक्रबारदेखि हलमा रिलिज भएको फिल्म ‘जोनी जेन्टलम्यान’बारे एकसाता अघि फिल्मका अभिनेता पल शाह यसरी स्पष्टीकरण दिँदै थिए। काठमाडौंस्थित पुतलीसडकको पलेटी क्याफेमा पलसँगै फिल्मकी अभिनेत्री आँचल शर्मा पनि उपस्थित थिइन्। पलले बोलिरहँदा आँचलका चन्चल आँखामा केही कौतहुल र केही रोमान्सको छायाँ सल्वलाएजस्तो देखिथ्यो।
पलको स्पष्टीकरण सुन्नासाथ फेरी उनलाई सोधियो, ‘फिल्मको नामचाँही जेन्टलम्यान अनि भूमिकाचाँही आक्रमक?’ प्रश्न सुनेर पल एक पल घोरिए। केही सम्झे जस्तो गर्दै उनले भने, ‘कहिलेकाँही जेन्टल हुनका लागि पनि आक्रमक हुनुपर्दो रहेछ।’
रिलको ‘जेन्टलम्यान’ रियलमा कत्तिको जेन्टल छ त? हरेक प्रश्नमा मुस्कुराउनु सबै हिरोहिरोइनको विशेषता नै हो। विशेषताभन्दा पनि बढी कलिउडको सर्त पनि हो। पलले भने ‘आफूलाई त जेन्टल नै छु जस्तो लाग्छ, अब अरुलाई के लाग्छ त्यो थाहा भएन।’ आफू जेन्टल लागेपनि पर्दाको जोनीसँग भनेको रियल क्यारेक्टर मिल्दैन। ‘फिल्मको रियल क्यारेक्टर मसँग मिल्दैन। मात्र १० प्रतिशत मिल्छ।’
त्यसपछि छेउमै रहेकी आँचल लामो हाँसोसहित बोलिन्,‘केटीको पछि लाग्ने कुराहरु नै मिल्दैन। उहाँ त्यस्तो हुनुहुन्न।’भनिरहनु नपर्ला, पल शाह नेपाली म्युजिक भिडियोको क्षेत्रमा निकै रुचाइएको नाम हो। हजारौँ युवायुवती उनका फ्यान छन्। आँचल पनि पलकी फ्यान हुन्। यी दुवै नाम ‘पेयर’का रुपमा ‘नाई नभन्नु ल ४’बाट फिल्ममा डेब्यु भएका हुन्।
सुटिङका हिसाबले दुवैको ‘जोनी जेन्टलम्यान’ दोश्रो फिल्म हो। तर रिलिजका हिसाबले पलको ‘म यस्तो गीत गाउँछु’ हलबाट हिट भएर पनि उत्रिसक्यो। आँचलको यो दोश्रो फिल्म हो। भन्छिन्, ‘मलाई स्क्रिप्ट नआ’को हाइन, आ’को हो। तर पनि थोरै गर्ने, राम्रो फिल्ममात्र गर्ने भनेर म ग्यापमा बसेँ। पहिलो फिल्ममा मलाई रुचाउनेले यसमा अझ बढी आशा गर्नुभएको छ। त्यसैले रिजल्ट के होला भनेर मनमा अलिअलि डर त छ।’
दुवैजनालाई लाग्छ– फिल्म इन्टरटेनिङ छ, दर्शकलाई बोर हुँदैन। त्यही पनि मनमा डरचाँही छ। भर्खरै फिल्म ‘म यस्तो गीत गाउँछु’ लाई दर्शकले रुचाए। पलको प्रशंसकको वृत्त पनि झन् बढ्यो। सापेक्षमा अपेक्षा पनि त थपियो। त्यसभन्दा बढी उनलाई लाग्छ, चुनौतिको आयातन बढ्यो। तर पनि उनी ढुक्क छन्। भन्छन् जसलाई यो फिल्मको स्टोरी मनपर्दैन उसलाई पनि पल र आँचलको कामचाँही पक्कै मनपर्छ।
आँचलले त फिल्म मात्रै होइन म्युजिक भिडियो पनि दुईटा बाहेक सबै पलसँग मात्र गरेकी छिन्। त्यसैले उनलाई पलसँग काम गर्दा ‘कम्फर्ट जोन’मा रहेको महसुस हुन्छ। पल पनि त्यसै भन्छन्, ‘फस्ट मूभीमा काम गर्दा हामी जति सहज थिएनौँ, त्यो सेकेन्डमा भएन। एकअर्कालाई बुझिसकेकाले काम गर्न एकदमै सहज भयो। उहाँसँग फेसन र फोटो सेसनको राम्रो ज्ञान भएकाले मलाई धेरै कुरा सिकाउनुभयो। कसरी पोज दिने, कसरी स्टाइल मार्ने, कुन सिन कसरी गर्दा राम्रो हुन्छ भन्ने कुराहरुमा उहाँले मलाई एकदमै सुझाव दिनुहुन्थ्यो।’
यो फिल्मका लागि दुवैले निकै मिहनेत गरेका छन्। पलले चार महिना मार्सल आर्टको ट्रेनिङ लिएका छन्। लगभग ८ किलो तौल बढाएका छन्। आँचलले १० केजी घटाएकी छिन्।
यी त भए फिटनेश र फिल्ममा कुरा। अर्को कुरा पनि छ पल र आँचलको समकालमा। के भने, प्रेमको कुहिरो। प्रेमको कुहिरो लाग्न निश्चित मौसम चाहिँदैन। यसको आद्रता अखबार, अनलाइन र फेसबुक–ट्वीटर जता पनि, जतिवेला पनि व्युत्पन्न हुन सक्छ। कहिले त्यो आद्रता ओशिलो र हलुंगो हुन्छ त कहिले थामि नसक्नु गरुङ्गो।
यद्यपी यो जोडी अफेयरको भुइँ-कुहिरोबारे जानकार भए पनि यसमा सत्यता नभएको दाबी गर्छ। तर रमाइलो के छ भने यसबारे तपाई उनीहरुलाई प्रश्न गर्नुहोस्, यसको खुलेर विरोध पनि गदैनन् पल र आँचल। उनीहरुलाई लाग्छ–यसले फिल्मको प्रमोसनमा सहयोग नै पु¥याइरहेको छ। ‘अरु सेलिब्रेटीहरुले सम्बन्धलाई जानीजानी प्रमोसनको खुड्किलो बनाउँछन् तर हाम्रो आफै भइदियो,’ आँचलले पनि भनिन् भनिन्, ‘हामीले केही नबोलेकाले अडियन्सले हामीलाई साथ पनि दिनुभयो। त्यसैले हामीलाई घाटा पनि भएन फाइदैफाइदा भयो।’
मन्द मुस्कानसहित पल आँचलको कुरामा सहमत भए,‘मलाई पनि सुरुमा त यसरी हल्ला हुँदा एकदमै रिस उठेको थियो। पछि बुझ्दै जाँदा थाहा भयो यस्तो हल्लाले प्रमोसनमा हेल्प नै गर्दो रहेछ।’
पल स्वयम् भन्छन्, ‘आँचलको मप्रति उच्च सम्मान छ।’ फिल्म रिलिजका बेला त ठिकै छ तर बाह्रैमास अफेयरका बारेमा मात्रै प्रश्न सोधिँदाचाँही उनीहरुलाई दिक्क लाग्छ। त्यति मात्र होइन डर पनि लाग्छ। ‘अहिले त हामीलाई फोनमा कुरा गर्न पनि डर लाग्छ’ पलले रहस्य खोले,‘कसैले सुनिरहेको पो छ कि? कसैले ट्रयास गरिपो हाल्छ कि? भन्ने डर मनमा हुन्छ।’
पल–आँचलको भनाईमा उनीहरुको अफेयर हल्ला मात्रै हो। त्यसोभए यो हल्लालाई यो जोडीले कहिल्यै सत्य बनाउन चाहेन? ‘यो सत्य हुन सक्थ्यो होला, हामी एक–अर्काप्रति आकर्षित हुन सक्थ्यौँ होला,’ आँचलले अफेयर नुहुनको कारण खुलाउन खोजिन्,‘तर मिडियाले अफेयर हुनुअघि नै हल्ला चलाइदियो नि त! रिलेसनमा नबस्दै यस्तो हल्ला भयो भने बसियो भने त देशै छाड्ने अवस्था आउने रहेछ भन्ने भयो।’पलले आफु खेल्ने थुप्रै फिल्म आँचललाई सिफारिस गर्ने गरेको हल्ला फिल्मवृत्तमा व्यापक छ। एकातिर पल यसमा सहमत छैनन् भने अर्कोतिर आँचलको हल्लाप्रति ठूलो दुःखमनाउ छ। ‘अहिलेसम्म उहाँले सिफारिस गरेर मैले फिल्म खेलेको छैन, म चाहन्छु बरु कुनै दिन मैले उहाँलाई रिकमेन्ड गर्न पाऊँ !’
पल र आँचललाई एकदमै मनपर्ने ‘जोनी जेन्टलम्यान’को एउटा गीत ‘तिमी बिना मान्दैन यो मन’को सुटिङ भारतमा भएको हो। गीतको छायांकनको क्रममा भारतको गुहाटी, सिलाङ लगायत ठाउँमा पुग्दा त्यहाँ पलको क्रेज देखेर आँचल नै दंग भइछिन्। ‘जाबो एउटा पार्टीमा जाँदा उहाँको क्रेजका कारण पाँचजना बडीगार्ड लानुपरेको थियो,’ आँचलले सम्झिइन् ‘त्यस्तै एकपल्ट हामी टेम्पोबाट ट्राभल गरेर होटल पुग्नै लाग्दा गड्याङगुडुङ आवाज आयो । के भएछ भनेर हेरेको त उसको फ्यानहरु पल– पल भन्दै चिच्याइरहेका रहेछन्। म त चकित भएँ।’
आँचलले यसरी प्रशंसा गरेपछि पलले अलि अप्ठेरो महसुस गरे। अनि अप्ठेरो मान्दै बोले, ‘यो सब न्यूजमा दिनुपर्छ भन्ने त छैन। तर दर्शकको माया देखेर म नै छक्क पर्छु। जीन्दगीमा कहिल्यै यसरी कलाकार बनेर चर्चा कमाउँछु भन्ने मैले सोचेको थिइनँ। यो मेरो कल्पनाभन्दा बाहिरको कुरा हो।’
पलको यस्तो क्रेज देखेर आँचललाई मनमनै त पक्कै डाह लाग्यो होला? ‘झन् खुशी पो लाग्यो। मैले पनि मिहनेत गरे भने एकदिन मेरो पनि यस्तै फ्यान फलोइङ होला भन्ने महसुस भयो।’
Previous Articleकुचो देखाएर तर्साउनेलाई मधेसी जनताले बढार्छन्-ओली
Next Article महासंघ र आश्रमलाई शर्माको सहयोग