बागलुङ/प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराद्धारा सञ्चालित एम्बुलेन्स सेबालाई अझ व्यापक, दिगो र ब्यवस्थित रुपले सञ्चालन गर्न अक्षयकोष खडा गरिने भएको छ । सेवालाई जनस्तरमा प्रभावकारी बनाउँदै थप सेवा बिस्तार गर्न कोष खडा गर्न लागिएको हो । उप–समिती निर्माण गरेर सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवालाई दिगो बनाउनको लागि अक्षयकोष खडा गर्न लागिएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष टेकनारायण आचार्यले बताए ।
गतबर्ष भारतीय राजदुताबासको सहयोगमा केन्द्रलाई प्राप्त भएको एम्बुलेन्स सञ्चालनका लागि बिभिन्न निकायबाट दश लाख रुपैयाँ प्राप्त भएको छ । देश बिदेशमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमलाई अक्षयकोष खडा गरि व्यवस्थित गरिने उनले बताए । केन्द्रले २५ लाखको अक्षयकोष निर्माणको लागि थप सहयोगको आव्हान गरेको छ । रोजगारीको शिलशिलामा बिदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने तत्परता देखाएकाले २५ लाखको लक्ष्य बनाएर सहयोगका लागि अपिल गरिएको हो । बिभिन्न देशमा प्रतिनिधि खटाएर सहयोग संकलन गर्ने काम भइरहेको एम्वुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमिती संयोजक काशीराम आचार्यले बताए ।
उपसमितीले सहयोग संकलनका लागि अमेरिकामा हरिप्रसाद शर्मा र भूमिश्वर सापकोटा, क्यानडामा टंक सापकोटा र प्रेम चापागाईं जापान, रामचन्द्र सापकोटा (ओसाका) र धनप्रसाद सापकोटा (टोकियो) तथा युरोपमा भिम के.सी. (पोर्चुगल) इन्द्र पकवान (बेल्जियम ) लाई प्रतिनिधिको रुपमा खटाएको छ ।
त्यस्तै अस्ट्रेलियामा टुकनाथ शर्मा र सुजाता शर्मा तथा बेलायतमा यदुनाथ आचार्यलाई खटाईएको संयोजक आचार्यले बताए । बिभिन्न देशमा खटाइएका प्रतिनिधिहरु मार्फत संकलित सहयोग रकमलाई अक्षयकोषका रुपमा खडा गरिने र थप सेवा समेत बिस्तार गरिने आचार्यले बताए । ‘हामीले अर्को साल भित्र सेवा क्षेत्र भित्रका सबै सर्वसाधारणलाई सेवा दिने गरी काम थालेका छौं’ आचार्यले भने– ‘कच्ची सडक भएका कारण गाउँ–गाउँसम्म एम्वुलेन्स पु¥याउन कठिन भइरहेको छ ।’ नगरपालिकाले सडकको सुधारका काम थाले सेवा क्षेत्र भित्रका प्रत्येक घरदैलोमा एम्बुलेन्स पुग्ने उनको भनाई छ । एम्बुलेन्स सेवालाई व्यवस्थित गर्दै अर्को बर्षदेखी शवबहान समेत सञ्चालनमा ल्याउने लक्ष्य रहेको उपसमितीले जनाएको छ ।
भौगोलिक हिसावमा कठिन पहाडी इलाकामा शवबहान अत्यावस्यक रहेको भन्दै त्यसको लागि पहल थालिएको संयोजक आचार्यले बताए । यसअघि एम्वुलेन्स सञ्चालनको लागि स्थानिय चन्दादाताबाट पाँच लाख, कोरियामा बस्ने नेपालीबाट चार लाख तथा साउदी अरब र कतार लगायतका मुलुकबाट ९० हजार सहयोग संकलन संकलन भएको थियो ।