बागलुङ/एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिले शैक्षिक मागसहित बिहिबार गलकोट नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र प्रस्तुत गर्दै संगठनका गलकोट अध्यक्ष चूडामणि शर्माले जनताको बलिदानी पूर्ण संघर्षले मुलुक संघीय संरचनामा गएर स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपनि गलकोट नगरपालिकाबाट जनताले सेवा सुविधाको प्रत्याभूति गर्न नसकेको र शैक्षिक क्षेत्रलाई बेवास्ता गरेकाले तत्काल शिक्षा कार्यालयको एकाई सञ्चालन गर्न आग्रह गरेका थिए ।
दशै बिदाअघि नै शिक्षक, कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउनुपर्ने, सामुदायिक विद्यालयमा वस्तुगत आधारमा तत्काल शैक्षिक बजेट विनियोजन गर्नुपर्ने, संस्थागत विद्यालयमा लगाइएको अवैज्ञानिक कर खारेज गर्नुपर्ने, शैक्षिक नीति निर्माण र कार्यान्वयनमा शैक्षिक संगठनलाई प्रतिनिधित्व गराउनु पर्ने, नगरपालिकाको नीति निर्माणमा पारदर्शिता गर्नु पर्ने लगायतका मागसहित ज्ञापन पत्र बुझाएको थियो ।
शिक्षकका जायज मागहरू तत्काल सम्बोधन नगरे शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य हुने संगठनका सचिव हेमबहादुर बुढाथोकीले दिएका थिए । नगरपालिकाका मेयर, उपमेयर कार्यालयमा नभएको र कुनै पनि जनप्रतिनिधिलाई निमित्त प्रमुख नदिएका कारण नासु माधवप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको सदस्य भक्तबहादुर बिष्टले बताए ।
Previous Articleबाल दिवसमा विविध कार्यक्रम
Next Article एम्बुलेन्स चलाउन अक्षयकोष स्थापना