बागलुङ/नियमित बिद्यालय नआउने जिल्लाको जैमिनी नगपालिकास्थित ३ बिद्यालयका बिद्यार्थीलाई बुधबार पोशाक बितरण गरिएको छ । बिबिध कारणले नियमित बिद्यालय उपस्थित नहुने बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न भन्दै पोशाक बितरण गरिएको हो । जैमिनी नगरपालिका–१ कुश्मीशेराको सरस्वती प्रबिका ६ जना तथा सिद्धीगणेश प्राविका ५ जना र नगरपालिका–२ दमेकको ज्ञानज्योति प्राबिका ७ जना बालबालिकालाई पोशाक बितरण गरिएको हो । अन्य ३ जना बिद्यार्थीलाई पाइन्ट मात्रै बितरण गरिएको ज्ञानज्योति प्राबि दमेकका शिक्षक डिलबहादुर नेपालीले बताए ।
परिवारको आर्थिक स्थिती कमजोर रहेको र एक पटक सिलाएका पोशाक पुराना तथा फाटेको भएकाले बिद्यार्थीहरु बिद्यालय नियमित आउन छोडेका थिए । बिशेष गरेर दलित बस्तीका बिद्यार्थीहरु बिद्यालय जानुको साटो अभिभावकसँग काम खोज्न हिड्न थालेपछि बिद्यालयहरुले पोशाक बितरणको पहल थालेका थिए । पुराना तथा च्यातिएका पोशाकका तथा स्टेशनरीको समेत समस्याका कारण नियमित बिद्यालय नआउने बिद्यार्थीहरुको लागि आसमान नेपाल बागलुङको सहयोगमा पोशाक बितरण गरिएको सरस्वती प्राबि कुश्मीशेराका प्रधानाध्यापक युवराज शर्माले बताए । बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहभागी गराउन हौसला प्रदान गर्ने अभिप्रायले यस्तो व्यवस्था गरिएको आसमान नेपालका संयोजक लक्ष्मण थापाले बताए ।
तीनवटै बिद्यालयका बिद्यार्थीहरुलाई आसमान नेपालको तालिम केन्द्र कुश्मीशेरामा बोलाएर पोशाक बितरण गरिएको थियो । शिक्षकहरुको संयोजनमा तालिम केन्द्र आइपुगेका बिद्यार्थीहरुले पोशाक पाएपछि खुशी व्यक्त गरेका छन् । ‘पोशाक पाएकाले उनीहरु निकै खुशी देखिएका छन्’ ज्ञानज्योतिका शिक्षक नेपालीले भने– ‘यो उत्साहले नियमित बिद्यालय आउनेमा हामी विश्वस्त छौं ।’ भर्नाको समयमा समेत बिद्यालयहरुले उनीहरुलाइ अभियान नै चलाएर बिद्यालयसम्म ल्याएका थिए । अभिभावकको गैह्रजिम्मेबारपुर्ण व्यवहारका कारण बिद्यार्थीहरुलाई नियमित गर्न नसकिएको प्रअ शर्माले गुनासो गरे । स्टेशनरीको समस्या रहेका बिद्यार्थीलाई समेत आवश्यक स्रोतको पहिचान गरी उपलव्ध गराउन बिद्यालय प्रयासरत रहेको उनको भनाई थियो ।