बागलुङ/जिल्लामा मंगलबारदेखि सुरु भएको धौलागिरी अञ्चल स्तरिय फुटसल प्रतियोगिताको दोस्रो दिन चार खेल भएका छन् । दोस्रो दिनको प्रतियोगितामा मानव सेवा आश्रम, चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब स्पोर्टस् क्लब निलो, कालिका भगवती युवा क्लब र नयाँ जिवन पुर्नस्थापना विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा मानव सेवा आश्रमले कालिका भगवती युवा क्लब सेतोलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । मानव सेवाको जितको लागि देशराज चौधारीले ४ गोल गरेका थिएभने क्षतिज आचार्य र सुमित श्रेष्ठले समान १–१ गोल गरेका थिए । कालिकाको लागि शाहिल खड्काले २ र रोशन लामिछाने र अनुल केसीले १–१ गोल गरेका थिए । यस्तै दोस्रो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग निलोले सिमफोनी कम्प्युटर इन्स्टिच्युटलाई ६–३ गोलअन्तरले पराजित गरेको छ । चिल्ड्रेन लाईफको जितको लागि गणेश लामिछानेले २, कृष्ण पुन, विनोद थापा, इश्वर पुन र दिलिप जिसीले समान १–१ गोल गरेका थिए ।
सिमफोनीको लागि जिवन केसीले २ र किरण केसीले १ गोल गरेका थिए । युवा क्लबले माल्ढुंगा युवा क्लबलाई १२–६ गोलअन्तरले पराजित गरेको छ । कालिकाको जितको लागि आशिष केसी र अविशेक केसीले समान ४–४, विरेन्द्र बोहोराले २ र सन्दिप क्षेत्री र नारायण केसीले समान १–१ गोल गरेका थिए । यस्तै माल्ढुंगाको लागि आशिष शाक्य, रोहित थापा र सुरज शाक्यले समान २–२ गोल गरेका थिए । यस्तै बुधबारको चौथो खेलमा नयाँ जिवनले रेस्मी युथ सोसाईटी हटियालाई पराजित गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा समान ८–८ गोल भएपछि अतिरिक्त समयमा नयाँ जिवनले २ गोल गर्दै जित निकालेको थियो । नयाँ जिवनको जितको लागि रोशन केसीले ७ गोल गरेका थिए । उनले २ गोल अतिरिक्त समयमा गरेका थिए । यस्तै नयाँ जिवनको लागि राजेश जिसी, सुनिल तामाङ र किरण थापाले समान १–१ गोल गरेका थिए । यस्तै रेस्मी युथको लागि चोक बहादुर केसीले ४, ऋषि सापकोटाले २ र अमृत बुढा र विजय सापकोटाले समान १–१ गोल गरेका थिए ।
Previous Articleकृषि र भूसंरक्षणमा समुदाय सक्रिय
Next Article विद्यार्थीलाई पोशाक वितरण