बागलुङ/बर्षातको समयमा अधिकांस ग्रामीण सडक अवरुद्ध भएपनि लेखानी जाने सडक नियमित चलिरहने गर्छ । यो सडकमा नियमित हेरालो राख्ने, पानीको निकासका लागि नाली निर्माण, भूक्षय नियन्त्रणका लागि विभिन्न क्रियाकलाप समेत संचालन भएकोले सडक नियमित संचालन हुन सकेको स्थानीय बताउँछन् । सडकमा केही खराबी आएमा गाउँलेहरु मिलेर मर्मत गर्छन् । खाल्डाखुल्टी पुरेर नियमित सवारी संचालन गर्दा गाउँमा आउने खाद्यान्न आयातमा सहज भएको छभने बिरामी पर्दा स्थानीयलाई सदरमुकाम पुग्न सहज भएको छ । नियमित मर्मत गर्ने भएकोले ठूलो खर्च पनि लाग्दैन । जिल्ला र गाउँपालिका तहमा उनीहरुले मर्मतका लागि बजेट पनि नमागेको उपभोक्ता समितिकी कोषाध्यक्ष दुर्गादेवी गुरुङले बताईन् । केही बर्षदेखि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन लगायतका संस्थाले संयुक्त रुपमा संचालन गरेको समुदायमा आधारित दिगो वन तथा भू–व्यबस्थापन परियोजनाले समुदायलाई जागरुक बनाएको छ । साथै उनीहरुलाई जलवायु परिवर्तनको असरबारे चेतना दिएको छ । जलवायु परिवर्तनलाई अनुकुलन बनाउनका लागि गर्नुपर्ने कामबारे उनीहरुले सिकेका छन् । जसको कारण केही समयदेखि लेखानीबासीले भू–संरक्षणको अभियानलाई तीव्रता दिएका छन्भने कृषिलाई व्यवसायिकीकरण बनाएर आम्दानी लिन पनि सफल भएका छन् । उनीहरुको उत्पादन बढाउन कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको कृषि प्रसार अधिकृत बिप्लबप्रसाद अधिकारीले बताए । त्यस्तै, जलवायु परिवर्तनका असरबारे जानकारी दिने, सडक छेउमा रुख बिरुवा रोप्ने, तटबन्धनका गर्ने काममा जिल्ला भू–संरक्षणको सहयोग छ । ‘आवस्यक तारजाली पठाएर सडक संरक्षणमा पहल गरेका छौं’ जिल्ला भू–संरक्षण अधिकृत सेरबहादुर श्रेष्ठले भने, ‘आम उपभोक्तालाई जागरुक बनाएर चेतना दिन सकेमा दिगो व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण लेखानी र कर्लिममा देखिएको छ ।’ काठेखोला–८ लेखानी र वडा नं. ५ कर्लिममा दुवै कार्यालयको अभियान संचालनमा छ । यसैबीच, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव र बेमौसमी तरकारी खेती सम्बन्धी किसानलाई तालिम पनि दिइएको नेपाल गाजा डेभलपमेण्ट फाउण्डेसनका कार्यक्रम अधिकृत रामबाबु थापाले बताए । उनीहरुलाई समुदायमा आधारित दिगो वन तथा भू–व्यवस्थापन परियोजनाबारे तालिम दिइएको थियो । दुई स्थानमा दिइएको तालिममा आमा समूह, वडा कृषक समूह, वडा कृषि समन्वय समितिका सदस्यलाई जनप्रतिनिधिहरु, सामूदायिक वन उपभोक्ता समूहका पदाधिकारी, मोटरबाटो उपभोक्ता समिति, बुद्धिजीवि, विद्यालयका प्र.अ समेतको सहभागिता थियो । तालिममा कृषि प्रसार अधिकृत बिप्लबप्रसाद अधिकारी र जिल्ला भू संरक्षण अधिकृत सेरबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए । यो तालिमपछि स्थानीयमा अझै बढी सक्रिय बन्ने प्रेरणा मिलेको पाएको फाउण्डेसनका कार्यकारी निर्देशक प्रमानन्द कंडेलले बताए । तालिमलाई उपलब्धीमूलक मानेर कृषि उत्पादन अझै बढाउने, बजारको खोजी गर्ने र जलवायु परिवर्तनको अनुकुलनका लागि बिरुवा रोप्ने र भूक्षय कम गर्ने अभियानमा लाग्ने स्थानीय हरिमाया पुनले बताइन् । लेखानीको कृषि विकास र भूसंरक्षण अभियानमा फाउण्डेसनले ५ बर्षे दिर्घकालिन रणनीतिक योजना बनाएर जनप्रतिनिधिसँगै मिलेर काम गर्ने योजना पनि बनाएको कंडेलले जानकारी दिए ।