काठमाडौं, २८ भदौ/निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।
आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ । गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ ।
Previous Articleदसैं र तिहारका लागि नयाँ नोट सटही आजदेखि सुरु
Next Article काँठेखोला–४ मा राजमोको अध्यक्षमा कँडेल निर्वाचित