काठमाडौं, २८ भदौ-आउँदो दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिएको छ । बुधबारदेखि नयाँ नोट साट्न थापाथलीमा बिहानैदेखि सर्वसाधारणको लाइन लागेको थियो ।
सर्वसाधारणलाई नोट सटही सुविधा सहजै उपलब्ध गराउन नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखाहरूबाट पनि नोट सटही सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।‘ती बैंकहरूले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा–सुकिलो नोट प्रतिव्यक्ति अधिकतम २० हजार रुपैयाँका दरले वितरण गर्ने छन्,’ उनले भने, ‘थापाथलीस्थित राष्ट्र बैंकका काउन्टरहरूबाट भने प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नोट सटही सुविधा दिइनेछ ।’ यसकारण आफूलाई पायक पर्ने नजिकको सरकारी बैंकका शाखा तथा राष्ट्र बैंकका शाखाबाट ५, १०, २०, ५० र १०० दरका नयाँ सफा–सुकिला नोटहरू सटही गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका थिए ।
यो वर्ष सरकारी स्वामित्वका कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई पनि बढी सक्रिय बनाइएको हो । राष्ट्र बैंकका अनुसार २८ गतेदेखि सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट नयाँ नोट साटन पाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्सालबाट नोट साट्न सक्नेछन् । गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारस्थित कृषि विकास बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । सटही सुविधालाई सहज बनाउन प्रत्येक दरका नोटको खुद्रा संख्या १ सयको प्याकेटका आधारमा मात्र सटही गरिनेछ । यसकारण सोहीबमोजिम नोट माग गरी सटही कार्यलाई सहयोग पुर्याउन सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।
संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेनालगायत संघसंस्थाहरूलाई भने यही भदौ २१ देखि ३० प्रतिशतसम्म नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यका बाहिरका नागरिकले भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोष सुविधा लिएका वाणिज्य बैंकबाट नयाँ नोट साट्न सक्नेछन् । उपत्यका बाहिर पनि भदौ २८ गतेदेखि सर्वसाधारणलाई नयाँ सफा–सुकिला नोट सटहीको सुविधा उपलब्ध गराइने राष्ट्र बैंक जनाएको छ ।