बागलुङ/नगर विकास समिति बागलुङको अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रतनप्रसाद मलेपती नियुक्त भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्री स्तरिय निर्णयबाट उनी आगामी २ बर्षका लागि नगरविकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् । भदौ ११ गतेको निर्णय अनुसार, मलेपतीलाई अध्यक्षमा मनोनयन गरिएको थियो । उनलाई बागलुङ नगरविकास समितिको अध्यक्षमा मनोनित गरेको चिठी मन्त्रालय अन्र्तगतको नगरविकास समिति तथा साना शहर शाखाले भदौ २२ गतेको मिति राखेर काटेको छ । नगरविकास समिति अध्यक्षमा शहरी विकास मन्त्रीले आफ्नो पार्टीका स्थानीय नेतालाई नियुक्ती गर्ने अभ्यास रहँदै आएको छ । माओवादी केन्द्रबाट शहरी विकास मन्त्री बनेका प्रभु शाहले उनलाई बागलुङ नगरविकास समितिको सातौँ अध्यक्ष मनोनित गरेका हुन् । मलेपतीको नाममा पठाईएको चिठीमा लेखिएको व्यहोरा अनुसार बागगलुङ नगरविकास समिति बागलुङको अध्यक्ष पदमा बढीमा २ बर्षको लागि उनलाई मनोनित गरिएको हो । मलेपती माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य, नेवा राष्ट्रिय मुक्ति मोर्चा तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य हुन् । बागलुङ बजार निवासी उनी उद्योग व्यापार संगठन बागलुङका निवर्तमान संयोजक समेत रहेका छन् ।