म्याग्दी, २६ भाद्र – बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको हातमा सधै एउटा लौरो र हथौडा हुन्छ । दैनिकजसो विहानै ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहिन भएपनि परिवारमा उनको ठुलै जिम्मेबारी छ ।
आर्थिक अवस्था कमजोर भएका दर्जीले गाउँका विद्यालय, ब्यक्तिगत घरमा दैनिकजसो गिटी कुट्ने गरेका छन् । श्रीमति र छोराको साहरामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँमा रहेको सार्वजनिक जग्गामा सानो छाप्रोमा बस्ने गरेका छन् । गाउँबाट प्रवासमा पुगेका यूवाहरुले प्रदिप सुबेदी, भूमिराज कार्की लगाएतले बेनी अनलाइन मार्फत १ लाख ४० हजार रुपैयाँ संकलन गरी गाउँमै हस्तान्तरण गरिएको थियो । सो रकमबाट गाउँका अगुवाहरुले ५० हजारमा बन्दकी धान खेत मिलाएपछि खानलाई सहज भएको बताए । त्यस्तै बेनीका यूवा नरशे श्रेष्ठले समेत एक छोरालाई बार्षिक १० हजार शैक्षिक सहयोग गरेका थिए ।
गाउँकै विपन्न दर्जीका जेठा छोराले अर्जुन मावि भकुण्डेमा १२ र कान्छो छोरा ६ कक्षामा अध्ययरत छन् । ‘घरको गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाईले घरमा विहानबेलुकी चुलो बल्छ’ दर्जीले भने । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधीको ब्यवस्था गर्नुपर्ने उनले बताए । ‘श्रीमति पनि बेलाबेलामा विरामी हुन्छिन, छोरालाई पनि औषधी चाहिन्छ’ दर्जीले भने । आर्थिक अवस्था कमजोर भएपछि स्थानीय यूवाहरुले सुरु गरेको अभियानबाट संकलन भएको आर्थिकले केही महिना सहज भएको बताए।
स्थानीयले दिएको जग्गा सडक विस्तारको क्रममा भत्काउने जानकारी पाएपछि निराश भएका दर्जीले सहयोगको याचना गरेका छन् । अपाङ्ताको क्षेत्रमा काम गर्ने धेरै संघसंस्था भएपनि आफ्नो घरमा सानो सहयोग समेत नगरेको उनको गुनासो छ । स्थानीय तहको निर्वाचनमा दैनिकजसो घरमा भोट माग्ने आउने नेताहरु विजय र पराजित भएपछि बाटोमा देखेर पनि बेवास्ता गर्ने गरेको दर्जीको गुनासो छ । तीनवटा चुनावमा नेताले गरेको प्रतिबद्धता एउटा पनि पुरा नभएको उनले बताए । ‘गरिवको घरमा त सहयोग गर्ने संघसंस्थाहरू पनि आउँदैनन्, हाम्रो नाम बेचेर सहरमै बस्नेहरु पनि धेरै छन्’ दर्जीले भने ।
गाउँ आसपासमा पुगेर गिटी कुट्ने गरेका दर्जीले प्रति बोरा ६० रुपैयाँ कमाउने गरेका छन् । उनलाई स्थानीयबासीले समेत सहयोग गर्ने गरेका छन् । जिल्लामा अपाङ संघ, महिला तथा बालबालिका कार्यालय सहितका संघसंस्थाले अपाङ्ताको क्षेत्रमा काम गरेपनि ग्रामिण क्षेत्रमा रहेका दर्जीजस्तालाई सहयोग गर्न सकेका छैनन् ।
Previous Articleभुकम्पले घर भत्किएपछि एक परिवार छिमेकीको शरण
Next Article जनशक्ति बिनाको अस्पताल