गत हप्ता मात्रै बागलुङ नगरपालिका लहरेपिपलका मोहन केसीले छोराको उपचार गर्न धौलागिरी अंचल अस्पताल बागलुङमा ल्याए । सानो उमेरको छोराले इलेजर कानमा हालेपछि उपचारको लागि उनले अस्पताल ल्याएका थिए । अंचल अस्पतालको इमरजेन्सीमा डाक्टर भेटिनु एकादेशको कथा जस्तै हो । इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मीले सामान्य हेरचाह मात्र गरे । हाँसो उठ्ने विषय त के थियो भने अस्पतालमा कानभित्र हेर्ने उपकरण नै भेटिएन् । मेडिकलबाट उपकरण ल्याएर कानभित्र हेरेपछि अस्पतालका स्वास्थ्यकर्मीले पोखरा जान सुझाए । पोखराको नागढुंगास्थित फेवा सिटी अस्पतालमा १० मिनेट मै कानको इलेजर झिक्ने काम भयो । यो त एउटा प्रतिनिधि घटना मात्र हो । अंचल अस्पतालमा यस्ता सामान्य समस्याको निधान हुन सक्दैन भने जनताले अरु के अपेक्षा गर्ने ? अंचल अस्पतालको भवन जति आधुनिक र भव्य देखिन्छ त्यहाँबाट प्रवाह हुने सेवा अत्यन्तै दयनिय रहेको छ ।
अंचल अस्पतालमा स्तरोन्नति भएको ७ वर्ष बितिसकेको छ तर सेवा भने जिल्ला अस्पतालबाट प्रवाह हुने स्तरका छन् । भवन नयाँ छ तर, अस्पतालमा प्रयोग गरिएका अधिकांश उपकरण भने पुरानै छन् । सामान्य रोगको उपचार समेत अंचल अस्पतालबाट हुन नसकेपछि धौलागिरी अंचलका ९० प्रतिशत विरामी पोखराका निजी अस्पतालमा निर्भर हुनुपर्ने विकराल अवस्था छ । हुने खानेले सुविधा सम्पन्न अस्पतालमा उपचार गरेपनि सामान्य वर्गका जनता सरकारी अस्पतालमा भर पर्नु बाहेक अरु विकल्प छैन । निम्न वर्गका जनताले उपचार गर्ने अस्पताललाई राम्रो बनाउने बाचा सरकार परिवर्तन संगै फेरिने अस्पताल विकास समितिमा विराजमान हुने अध्यक्षले गर्छन् । ती बाचा पुरा गर्न समिति कहिल्यै गंभीर बनेको देखिदैन । त्यसैले त होला अंचल अस्पतालले ‘रिफर सेन्टर’को उपमा पाएको छ । अस्पताल विकास समिति केवल राजनीतिक कार्यकर्ता भर्ति केन्द्रमा सिमित बनेको छ । समिति निष्प्रभावी हुँदा अस्पताल पुरानै ढर्राबाट गुज्रिरहेको छ ।
अस्पतालको प्रमुख समस्या भनेको डाक्टरलाई टिकाउन नसक्नु हो । अस्पताल विकास समितिलाई डाक्टरले टेर्दैनन् । सरकारले उनीहरुलाई मौन समर्थन गर्छन् । यदि जुन ठाउँमा दरबन्दी छ त्यही ठाउँमा किन सेवा दिन चाहदैनन् डाक्टर सा’हेबहरु । यदि स्वास्थ्य मन्त्रालयले दरबन्दी भएको ठाउँमा काम गर्न नमान्ने डाक्टरहरुलाई कार्वाही गर्न सक्नुपर्छ । डाक्टरलाई सरकारको धाप छ । र, त सरकार परिवर्तनसंगै उनीहरु पनि सुविधा सम्पन्न शहरमा हानिन्छन् । सरकारी नुन खाएका डाक्टरले दुर्गमका जनतालाई पनि सेवा गर्नुपर्छ । त्यो उनीहरुको दायित्व हो । सरकार यतिसम्म लाचार छ कि डाक्टरको मनपरीतन्त्रलाई रोक्न सक्दैन । डाक्टरको काम पैसाको पछाडि मात्रै दौडने होइन मानवीय सेवा गर्नु पनि हो । यो कुरा मनन गर्न जरुरी छ । अंचल अस्पतालको भवन भव्य मात्रै भएर हुँदैन त्यहाँ पर्याप्त जनशक्तिको आवश्यकता पर्छ । अस्पताल विकास समितिले डाक्टरलाई टिकाउनेदेखि लिएर आधुनिक उपकरणको जोरजाम गर्न प्रभावकारी भूमिका खेल्नुपर्छ ।
Previous Articleदृष्टिविहिनले गिटी कुटेर परिवारको गुजरा
Next Article भ्रष्टाचारीलाई यसकारण उम्मेदवार बनाउनु हुँदैन