नारायण ढकाल
यो तिनीहरुको कथा हो, जहाँ म पियनको काम गर्थें । कामकै कारणले मात्र पियन थिएँ । त्यो पदका निम्ति मैले कुनै निवेदन वा दरखास्त दिएको थिइनँ, न त उनीहरुले मलाई वैधानिक रुपमा कुनै नियुक्तिपत्र नै दिएका थिए ।
कात्तिक महीनाको एक दिन मेरो गाउँको एक जना मास्टरले मलाई त्यहाँ लगेको थियो । बागबजारको चिसो गल्लीभित्र थियो त्यो कार्यालय । त्यस वर्षको जाडो केही चाँडै शुरु भएको थियो । तर पनि म अर्धकमिज लगाएर केही काम्दै मास्टरको पछिपछि घिस्रिइरहेको थिएँ । किनकि त्यो जागीरका लागि मलाई एकरत्ती पनि चाख थिएन । कुनै उत्साह थिएन । तर, बाध्यता चाहिँ थियो । यस्तो बाध्यता अचेल मेरो उमेरका धेरै केटाकेटीलाई पर्ने गर्छ । त्यसैले म भित्रभित्रै विरक्तिएर भए पनि उसको पछिपछि हिँडिरहेको थिएँ ।
मास्टर र म कार्यालय पुग्दा कृष्णहरि चुरोटको धूवाँ एकनास मास्तिर फुकेर ध्यानमग्न बसिरहेको थियो । उसको अगाडि एउटा टेबिल थियो । उसको असी प्रतिशत शरीर मेचमा भए पनि लगभग बीस प्रतिशत खुट्टाको वजन चाहिँ टेबिलमा अडिएको थियो । यसरी हेर्दा ऊ चालू खालको गुन्डा जस्तो पनि लाग्न सक्थ्यो । उसका दुई खुट्टाको टेबिलमाथिको उपस्थितिले त्यस किसिमको एउटा तर्कलाई बलवान् बनाउँथ्यो । तर, अन्य कुरा फेरि अर्कै शैलीमा थिए; जस्तो : उसले कुनै पहाडियाले झैँ शिरमा थेप्चिएको टोपी पनि लगाएको थियो अनि खजमजिएको पाइन्ट र कमिजमा थियो । जुत्ता पनि सामान्य खालका थिए । जस्तो कि काँठका बैदार अथवा मुखियाहरु अक्सर लगाउँछन् । उसको उमेर लगभग चालीसको थियो ।
“उहाँ कृष्णहरि, यो मञ्चको अध्यक्ष । अब तिमीले उहाँलाई नै हरेक काममा सघाउनुपर्छ । कृष्णहरि सर, मैले भनेको भाइ यही हो । अहिले निकै दुःख छ यसलाई । मानिस निकै सज्जन छ । एसएलसी पास छ । तपाईंले जे काम लगाए पनि गर्छ ।”
मास्टरले मेरो क्षमताको हुलियालाई विस्तार गरिनसक्दै मैले कृष्णहरिलाई नमस्कार गरिसकेको थिएँ । मैले नमस्कार गरेपछि उसले टेबिलमा अडिएका दुइटै खुट्टा झिक्यो र सामान्य तवरले मेचमा बस्यो । “अनि यिनको नाम ?” चुरोटको धूवाँ आकाशतिर फुक्दै सोध्यो उसले ।
“गणेशप्रसाद हो यसको नाम । साँच्चै गणेश जस्तै भलादमी छ यो केटो । मेरो वडाको केटो हो । यसका बाउ अहिले पनि जजमानी गर्छन् । तर, यसलाई जजमानी गर्न अप्ठेरो लाग्छ । एक्काइसौ“ शताब्दीमा आएर पनि के यस्तो पेशा गर्नु भन्छ । यो हाम्रो विचारको समर्थक पनि हो । हाम्रो गाउँमा मञ्चको विस्तार गर्न निकै उपयोगी छ यो । त्यसैले मैले पनि जोड गरेको ।”
कृष्णहरिको छोटो प्रश्नमा निकै लामो जवाफ दिएको थियो मास्टरले । त्यसै बखत चुरोटको अन्तिम सर्को फुक्दै कृष्णहरि उठ्यो । । नजिकैको फिल्टरबाट मिनरल वाटरको खाली बोतलमा पानी सार्यो र ठाडो घाँटी लगाउन थाल्यो ।
तर, पछि थाहा भयो— यो उसको आनै खाले दर्शन रहेछ । पानीवाद त नभनौ“, तर ऊ पानीको मामिलामा निकै व्यवस्थित रहेछ । पानीबारे चिन्तनको एउटा कोलाज उसको अभिव्यक्तिमा झल्किन्थ्यो ।
“हामी तेस्रो विश्वका मुलुकका जनताले अरुभन्दा पानीमा बढी जोड दिनुपर्छ । उसो त पानी सबै मानिसको जीवन हो, हामी गरीबहरुका लागि अझ बढी नै जीवन हो । तर, हाम्रो देशका शासकहरु पानीको यो महङ्खव बुझ्दैनन् ।”
पछि त्यहाँ काम गर्दै जाँदा मैले उसका यस्ता ठेट आग्रहहरु धेरै पटक सुनेँ ।
मञ्चमा मेरो पहिलो दिन त्यत्तिकै बितेको थियो । धेरै नबोल्ने, गम्भीर प्रकृतिको कृष्णहरिसित म धेरै बेर रहन सकिनँ । त्यस दिन म मास्टरसँगै घर फर्किएको थिएँ ।
मञ्च भनिने त्यो ठाउँ मानव अधिकारका निम्ति काम गर्ने एउटा गैरसरकारी संस्था थियो । तर, त्यो संस्थाका निम्ति आर्थिक खर्च बेहोर्ने स्वदेशी वा विदेशी दाता भने अझै पनि आएका थिएनन् । संस्था दर्ता भएर कार्यालय खोलेको निकै समयपछिसम्म त्यो संस्थाका अरु सदस्यले मासिक रुपमा आनो खल्तीबाट पैसा हालेर टेलिफोन, बिजुली र घरभाडा तिर्दै गए । पछि आजित भएर त्यसका सदस्यहरुले मरेको बाख्रालाई उपियाँले छोडेझैँ एकएक गरेर त्यो संस्थालाई छोड्दै गए । अन्त्यमा अध्यक्ष कृष्णहरि, महासचिव कुलबहादुर र कोषाध्यक्ष जमुना नगरकोटी मात्र बाँकी बचे । अझ म गएको एक वर्षपछि त जमुना पनि आउन छोडी ।
त्यहाँ पुगेको केही समयपछि मलाई थाहा भयो— जमुना र कुलबहादुर निकै गहिरो प्रणय सम्बन्धमा गाँसिएका रहेछन् । उनीहरु खुला रुपमा त्यो कुरा व्यक्त गर्दैनथे । तर, उनीहरुको व्यवहारबाट केही लुक्दैनथ्यो । यसका लागि निकै गहिरिरहन पर्दैनथ्र्यो । खास गरी यो कुरामा जमुना अग्रगामी देखिन्थी । खाजा खाने, चिया खाने वा अन्य मामिलामा ऊ आनो विशेष अनुराग कुलबहादुरप्रति देखाउँथी । अर्को कुरा, कुलबहादुर मञ्चको कार्यालय आएपछि ऊ पनि स्कुटर लिएर युद्ध रतारमा आइपुग्थी ।
महासचिव कुलबहादुर खत्रीलाई मैले जागीर पाएको भोलिपल्ट मात्र भेटेको हुँ । अग्लो, केही खस्रो अनुहारको त्यो युवक कृष्णहरिभन्दा तीन–चार वर्षजति जेठो थियो । उसको अनुहारमा कतैकतै बिफरका दागहरु पनि थिए । तर, धेरै नियालेर हे¥यो भने मात्र ती स्पष्ट देखिन्थे । ऊ धेरै फरासिलो, बकबक गरिरहनुपर्ने, ठट्टा पनि गरिरहने स्वभावको थियो । कृष्णहरिका तुलनामा उसको स्वर निकै धोद्रो र कडा थियो । पहिलो भेटमा उसलाई देख्नेहरु स्वतः डराउँथे । मलाई पनि त्यस्तै भएको थियो शुरुशुरुमा । तर पछि गएर कुलबहादुर एकदमै सजिलो मानिस साबित भयो, सहयोगी र सरल ।
“समस्या लुकाउनु हुन्न । लुकाएको समस्या कहिल्यै समाधान हुँदैन । जे भन्नु छ, खुलस्त भन्नुपर्छ । मलाई मनमा कुरा राखेर भलादमी बन्ने मानिसहरु मन पर्दैनन् । आशा छ, तिमी मसित यही किसिमले व्यवहार गर्दै जान्छौ ।” उसले मलाई भन्यो ।
त्यहाँ काम गर्दै जाँदा के पनि थाहा पाइयो भने, कृष्णहरि र कुलबहादुर राजनीतिमा असफल भएपछि मानव अधिकारको नयाँ क्षेत्रमा पसेका रहेछन् । राजनीति भनेको यस्तै न हो, जहाँ आफनै खालको नोकरशाही हुन्छ ! पार्टीको त्यो नोकरशाहीलाई राजनीतिशास्त्रका मानिसहरु सङ्गठन भन्छन् । सङ्गठन भनेको यस्तो कुरा हो, जसमा क्षमतावान् धेरै तल र बुद्धू निकै माथि रहन पनि सक्छन् । शायद उनीहरुका निम्ति पनि त्यस्तै केही भएको थियो ।
– अब हामी कहिल्यै राजनीति गर्दैनौँ । राजनीतिसित हामीलाई सख्त घृणा छ । जब राजनीतिमा नैतिकताको मूल्य हुँदैन, त्यसपछि यसमा र फोहोरको कन्टेनरमा केही अन्तर हुँदैन ।
– राजनीति गर्नुभन्दा त सडकमा बसेर भीख माग्नु राम्रो ।
त्यस कार्यालयमा सुन्न पाइने संवादहरु लगभग यस्तै बान्कीका हुन्थे । मैले चाँडै ती सब कुरा बुझ्न थालेँ ।
मञ्चमा मैले डेढ वर्षजति काम गरे“ । त्यो तमाम अवधिमा मञ्चलाई कसैले आर्थिक सहायता दिएन । बीचमा एउटा पत्रिका निकालेका थिए । त्यसबाट सामान्य फाइदा नभएको होइन । तर, कार्यालयको भाडा तिर्न र टेलिफोनको बिल बुझाउन उनीहरुलाई सधै“ धौधौ परिरह्यो ।
२०५५ सालको हिउँदसम्म कृष्णहरि र कुलबहादुर एउटै आत्माका दुइटा शरीर जस्ता थिए । कृष्णहरिप्रति कुलबहादुरको स्नेह, मर्यादा, समर्थन अत्यन्त उपल्लो दर्जाको थियो । त्यसैबीच उनीहरुले मानव अधिकारका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न एउटा प्रस्ताव तयार गरे । त्यो प्रस्ताव लिएर उनीहरु थुपै्र ठाउँ पुगे । लगभग एक महीना दुवै जनाको काम त्यही भयो । ज्यादै आशावादी भएर उनीहरु कार्यालयबाट निस्किन्थे । साँझ फर्किंदा पनि त्यो आशावाद जस्ताको तस्तै देखिन्थ्यो ।
तर, चाँडै उनीहरुको सम्बन्ध चिसिन थाल्यो । लगभग एक महीना नाघेपछि कुलबहादुर निराश हुन थाल्यो । उसले रङ्गहीन हुँदै गएको आनो कार्यालयमा खुइ®य गर्दै एक दिन भन्यो, “यहाँ राजनीति मात्र कन्टेनर भएको होइन रैछ । समाजसेवाको क्षेत्र पनि त्यत्तिकै भ्रष्ट रैछ । अब म भोलिदेखि यो प्रस्ताव बोकेर लखरलखर हि“ड्न सक्दिनँ । अब म गाउँ जान्छु । हलो जोतेर खान्छु । जे गर्छु, शिर ठाडो पारेर गर्छु ।”
“धैर्य गर् । यहाँको सबैको जीवनमा यस्ता घटनाहरु स्वाभाविक हुन् । एउटा अवधिसम्म टिक्न सक्नुपर्छ । त्यसपछि आफैँ एउटा किनारा फेला पर्छ ।” कृष्णहरिले पहिलेझैँ मिनरल वाटरको बोतल उचाल्दै भन्यो । त्यसपछि ऊ भुँडीमा पानीको भेल ओराल्न लाग्यो । अनि फेरि उसले पुरानै पारामा भन्यो, “मेरो त जीवनको एक मात्र प्रेरणा यही पानी मात्र हो ।”
“नकरा साले ! काठमाडौँको फोहोर पानी पनि कहीँ प्रेरणाको विषय हुन्छ ? मलाई अब तेरो टुच्चा दर्शन पटक्कै मन पर्न छोड्यो । तँ अशक्त साधु होस् ।” कुलबहादुरले आफना कुरा यसरी राख्यो, कृष्णहरि रक्तअल्पताले ग्रस्त बिरामी जस्तो देखियो एक छिन ।
“म अब यो काठमाडौँमा बस्दिनँ । तेरो पो यहाँ घर छ; जग्गाजमीन छ । तँ चार वर्ष बिग्रिस् भने पनि सम्हालिने ठाउँ छ । मेरो के छ ? अहिले पहाडमा मेरो जम्मै जग्गा बेच्यो भने पनि पचास हजार आउँदैन । अब मेरो अगाडि एउटा उपाय छ, गाउँ गएर हलो चलाउनु ।” रिसाहा पिँढीको युवक जस्तै कुलबहादुर करायो ।
त्यसपछि कुलबहादुरमा बिस्तारै परिवर्तनका भावहरु झल्किन थाले । पहिलेको त्यस्तो फरासिलो मानिस एकाएक अन्तर्मुखी जस्तो देखिन थाल्यो । यति धेरै चुरोट सल्काउन थाल्यो, मानौँ ऊ कुनै सक्रिय ज्वालामुखी हो ।
अचानक उसका काला गाला र ओठमाथि अस्तव्यस्त रुपमा रौँहरु बढ्न थाले । उसको अनुहार हेर्दा यस्तो बुझिन्थ्यो मानौँ अब उसले मुख धुने र दाँत माझ्ने कर्मसमेत परित्याग गरिसकेको छ ।
“हे मूला ! यस्तो लापरवाही पनि गर्नु ? कम से कम मुख धुने, दाँत माझ्ने र धोएका लुगा लगाउने कुरामा त सचेत हो !” असह्य भएपछि एक दिन कृष्णहरिले भन्यो ।
“यो मेरो निजी मामिला हो । यसमा तेरो किन आपत्ति ?” कुलबहादुरले ठस्केर जवाफ दियो ।
“डुङडुङती गन्हाउने मुख लिएर हिँड्नुलाई निजी मामिला भन्छस् ? अलिकति पनि लाजशरम छैन जनावर जस्तो भएर हिँड्न ?” कृष्णहरि पनि चर्कियो ।
“तिमीहरु मान्छे जस्ता भएर के नै लछार्न सकेका छौ र ? भुत्रो गर्न सक्यौ ? म जनावर हुन्छु, कसलाई के मतलब ? मलाई उपदेश दिने तँ को होस् ?”
यति भनेपछि कुलबहादुर अचानक भावुक भयो । मलाई लाग्यो— अब ऊ डाँको छोडेर रून्छ । तर, ऊ त्यो अवस्था आउनुअघि नै आफू बसेको ठाउँबाट उठ्यो र फन्किएर तलतिर झर्यो ।
मेरो विचारमा, कुलबहादुरको यस किसिमको मानसिक विघटनका पछाडि उसको बेरोजगारी र आर्थिक अभाव नै मुख्य जिम्मेवार थियो । अत्यन्त मिल्ने साथी कृष्णहरिसितको सम्बन्धको खाडल गहिरिँदै जानुमा पनि सम्भवतः यसैको मूल हात थियो ।
यसमा अर्को कारण पनि थपिएको थियो, जमुना । चुनौतीको त्यही समयमा जमुना पनि मञ्च आउन छोडेकी थिई ।
त्यसअघि जमुना र कुलबहादुर मञ्चमा परेवाका जोडी जस्ता देखिन्थे । बेलाबेला उनीहरु काठमाडौ“बाट अचानक बेखबर गायब हुन्थे । त्यो थाहा पाएपछि कृष्णहरि भन्थ्यो, “मैले प्रेमलाई यसरी गहिरो ढङ्गमा कहिल्यै बुझ्न सकिनँ । दार्शनिकहरु प्रेमलाई जीवनको उत्कृष्ट अभिव्यक्ति र पूर्णता भन्छन् । तर, मलाई त्यसले कहिल्यै छोएन ।”
साँच्चै, कृष्णहरिलाई प्रेमको मामिलामा मञ्चमा आउनेहरुले हिटलर नै भन्ने गर्थे ।
एक पटक कुलबहादुर र जमुना एक हप्तासम्म कार्यालय आएनन् । त्यहाँ उनीहरुको चर्चा चल्दा कसैले भन्यो— उनीहरु पोखरा गएका छन् ।
त्यही सन्दर्भमा, उनीहरु फर्किएपछि कृष्णहरिले भन्यो, “आनो मिसनको दायित्व पनि ख्याल गर्नुपर्छ । तिमीहरुको यो रोमियो–जुलियट पारा मलाई पटक्कै मन पर्दैन । एक अर्कासित छुट्टिनै सकिँदैन भने खुला रुपमा बिहे गरेर बस्नु नि !”
कुलबहादुले कृष्णहरिको आक्रोशलाई कुनै किसिमले पनि प्रतिवाद गरेन । ऊ अँध्यारो मुख लगाएर अर्कातिर फर्कियो ।
तर, जमुना र कुलबहादुर पोखराबाट फर्किएपछि बिस्तारै टाढा हुन थाले । मञ्चको कार्यालयमा आउने कुनै व्यक्तिले यो कुरा मलाई भन्यो । कसले भन्यो, म अहिले सम्झिन सक्दिनँ । तर, त्यस दिन कुलबहादुर र जमुनाको प्रेम प्रसङ्ग चल्दा मञ्चको कुनै पनि हर्ताकर्ता त्यहाँ उपस्थित थिएन । कृष्णहरि कामविशेषले सिंहदरबारभित्र कुनै मन्त्रालयमा गएको थियो । कुलबहादुर पनि त्यहाँ थिएन ।
“कुलबहादुरले जमुनासित बिहेको प्रस्ताव राख्यो । तर, जमुनाले मानिनछ । किनभने, ऊ काठमान्डुमा घर नभएको व्यक्तिसँग बिहे गर्न कदापि तयार छैन रे !”
“अनि अचेल प्रेम भनेको यस्तो पनि हुँदो रैछ, होइन त ?”
“उपभोक्तावाद भनेको यही हो । उपभोक्तावादले आज संसारमा सबैलाई स्वार्थी बन्न बाध्य पारेको छ ।”
मैले सम्झिन सकेसम्म कुराकानीको बान्की यस्तै थियो ।
यसरी मञ्चको अवसानको समयभन्दा अघिका केही महीना कृष्णहरि र कुलबहादुरबीचको सम्बन्ध शीतयुद्धको कालखण्ड जस्तो थियो । हरेक भेटमा उनीहरु बाझ्न थाल्थे ।
कृष्णहरि भन्थ्यो, “केही समय पर्खौं । समाज परिवर्तन हुने सम्भावना अझै छ । एकदमै प्रचण्ड खडेरीमा पनि दूबो मर्दैन । खालि के हो भने, हामीले नैतिकतावान् भएर धैर्य कायम गर्नुपर्छ । हामी जोगिन्छौँ । हाम्रो समय आउँछ ।”
“भाडमा जाओस् तेरो नैतिकता ! यो शब्द बकवास हो मेरो लागि । कुकुर जस्तो अरुको घरघर चहारेर खान्नँ । घरपट्टिको गाली र भत्र्सना सहन, साथीभाइको अगाडि आवारा देखिनका निम्ति तेरो नैतिकताको पछि लाग्दिनँ अब म । अब म आनो ज्यान जोगाउनुप¥यो भने मान्छे मार्न पनि तयार छु, बुझिस् ?” कुलबहादुरले चर्केर भन्यो ।
त्यसपछि कृष्णहरि मरेको मान्छेझैँ शब्दहीन भयो ।
उनीहरुको झगडाको त्यो तमाम अवधिमा म एकदमै तटस्थ थिएँ । तर्कमा दुवै जना बराबर थिए र दुवै जनाको पक्षमा सत्यको आग्रह थियो । दुवै जना परिस्थितिले गर्दा मनको भग्नावशेष बोकेर बाँचिरहेका थिए । तर, त्यो द्वन्द्वको प्रभाव मेरो घरसम्म पुगिसकेको थियो ।
यहाँ मैले आनो घरका बारेमा केही बढी बेलीविस्तार गर्नुपर्ने हुन्छ ।
प्रत्येक बिहान उठेपछि आतङ्कको भयले मलाई सताउँथ्यो ।
कामका लागि मसँग कुनै विकल्प थिएन । बा जजमानहरुको घरमा, कुनै न कुनै काममा गएका बखत मलाई अलि सजिलो पथ्र्यो । श्रीमती घरधन्दामा व्यस्त हुन्थी र केटाकेटीहरु च्यातिएका किताब पल्टाएर गृहकार्य गर्न व्यस्त हुन्थे । म घरनजिकैको चियापसलमा गएर अर्थ न बर्थका कुराहरु सुन्थे“ । बा कतै नगएका दिन मलाई समय काट्न पनि निकै अप्ठेरो पथ्र्यो । उहाँका आँखाको अव्यक्त भावले मलाई भित्रभित्रै नालायक बनाइरहेको हुन्थ्यो ।
“कि पितापुर्खाको बाटोमा हि“ड्नु, नभए किन बाँच्नु ?” बा यदाकदा कराउनुहुन्थ्यो ।
मसित कुनै जवाफ हुँदैनथ्यो । म लडाइँको मोर्चामा हतियारबिना गएको सिपाही जस्तो हुन्थे“ । बाको आक्रोश स्वाभाविक थियो । आनो छोरो जागीरको बहानामा दिनहुँ शहर जान्छ, फर्किंदा रित्तो हात फर्किन्छ भन्ने थाहा पाएपछि जुनसुकै बाबुलाई छटपटी हुनु स्वाभाविक हो । म त्यही छोरो थिएँ, जसले बिनातलब धेरै महीना शहर आउजाउ गरेर बसभाडाको मात्र अपव्यय गरेको थियो ।
यही प्रसङ्गमा एक दिन श्रीमतीले पनि भनी, “भन्नोस् त, तपाईंको यो व्यवहारले कुन चाहि“ त्यस्तो बाबुलाई खुशी पार्छ ? तपाईं छोरो भएर जन्मेको के सार भयो ? बुढेसकालमा आफनो बूढो हाड नघोटी खान नपाउने भएपछि कुन चाहि“ बाबुलाई शान्ति हुन्छ ? मैले देख्दा त धन्य हुनुहुन्छ तपाईंका बा । आखिर उहाँ नभएको भए हाम्रो उहिल्यै पाटीको बास भैसक्थ्यो ।”
“धेरै नकरा है, नकरा । अब मेरो के दोष छ त यसमा ? अर्को कुनै जागीर नपाएसम्म म के नै गर्न सक्छु र ? आखिर म मात्रै यस्तो सकसमा परेको हुँ र ? मभन्दा कति धेरै पढेका हाम्रा सरहरु पनि त बिलखबन्दमा परेका छन् ! देशको अवस्था बिग्रँदै गएपछि हाम्रो के लाग्छ ?” मैले भने“ ।
“देशको अवस्था देखाएर आफनो नपुंसकतालाई किन ढाक्नुपर्यो ? गाउँमा तपाईंकै उमेरका अरु मानिस पनि त छन्, तर सबै कुनै न कुनै व्यवहारमा लागेकै छन् त !” उसले भनी ।
“तँलाई अरुको समस्या कसरी थाहा हुन्छ ? अरुको चुलो बल्छ कि बल्दैन तँलाई के थाहा ? तँलाई खालि बकबक गर्न मात्र आउँछ ।”
यसरी मञ्चमा भएको विघटनको छाया बिस्तारै मेरो घरमा समेत फैलिन थाल्यो । पहिले पूर्णतया बेरोजगार हुँदा स्थिति अर्कै थियो । बा र श्रीमतीलाई एउटा आशा थियो, दुःख मैले जागीर नपाएसम्म केही दिनका लागि मात्र हो भनेर । त्यही आशामा उनीहरु थिए अनि त्यही आशाको त्यान्द्रोले म र उनीहरुमाझको सम्बन्धमा सहजता ल्याइदिएको थियो । तर, अब त्यस्तो स्थिति थिएन । म काममा लागेको छु भन्ने भएपछि उनीहरुमा अर्को किसिमको आशा पलाउनु स्वाभाविक थियो ।
गाउँमा भने मेरो हैसियत अर्कै प्रकारले स्थापित भैसकेको थियो । मानिसहरु मेरो अगाडि वा पछाडि कुरा गर्नुपर्दा भन्थे— यो मान्छे डलर कमाउने ठाउँमा छु भनेर भित्रभित्रै घमन्डले चूर पो छ त !
मलाई थाहा छैन, अर्थहीनतामा पनि भ्रमवश अर्थबोध किन किन्छ ? तर, घरभित्र नपुगुन्जेल मात्र मलाई त्यस्तो हुन्थ्यो । जब घरमा केटाकेटीको विद्यालय शुल्क, लुगा र कलमकापीको डरलाग्दो राक्षस अगाडि उभिन्थ्यो, त्यसपछि त्यो भ्रम समाप्त हुन्थ्यो ।
यस्ता घटनापछि मैले अन्तरात्माबाट लगभग निर्णय गरिसकेको थिएँ— अब म तुरून्तै मञ्च छोड्छु । किन टाँसिइरहने त्यहाँ ? मञ्च छोडेपछि एउटा चुनौती न आउने हो मेरा अघि— गाउँमा बसेर कसरी दिन काट्ने ! घरमा एक छिन बस्न सकिँदैन, असफलताको पीडा बोकेर । तर, तास खेलेर बरालिनेहरुका माझमा अरुले खेलेको हेरेर पनि त समय सक्न सकिन्छ ! त्यसैले अब मैले मञ्चबाट बिदा लिनु नै उपयुक्त हुन्छ । मञ्चमा छिर्दा जसरी कुनै निवेदन लेखेको थिइनँ, त्यसै गरी छोड्दा पनि कुनै राजीनामा लेख्नुपर्ने थिएन ।
फागुन महीनाको एक साँझ । जाडो त्यति घटिसकेको थिएन । म कृष्णहरिलाई आफनो बहिर्गमनको निर्णय सुनाउन कार्यालयमा पर्खिरहेको थिएँ । त्यसै बखत कृष्णहरि अत्यन्त तनाव र द्वन्द्वको मुद्रामा भित्र पस्यो । पस्नासाथ पहिले ऊ फिल्टर राखिएको कुनातिर हान्नियो र मिनरल वाटरको बोतलमा पानी भर्न थाल्यो । आधा बोतल पानी एकैसासमा सिध्याएपछि हताशिएर उसले भन्यो, “सुन्यौ गणेश ? साला कुलेले त आत्महत्या गरेछ नि !”
कृष्णहरिको भनाइले मलाई एकदमै रन्थनायो । के भनेको यो उसले ? कुलबहादुरले आत्महत्या गर्यो ? किन ? म अवाक् भएँ । केही बोल्न सकिनँ । मेरो कन्चटका रौँहरु एक्कासि कीलाझैँ ठाडा भए । म पक्क परेर कृष्णहरिलाई हेर्न थाले“ ।
“आत्महत्या पो गर्नुभो ? किन ? कहाँ ? कसरी ?” म पागलझै“ बरबराएँ ।
“गणेश, तिमीले मेरो कुरा बुझेनौ क्यार ! कुले जङ्गल पसेछ क्या ! भन त, के यो जानाजानी आत्महत्या होइन ? के संसारमा अहिलेसम्म कुनै अराजकतावादीहरुले समाजलाई बदलेका छन् ?”
त्यसपछि तुरून्तै मेरो मनोदशामा आमूल सुधार आयो । अघिल्लो आत्महत्याको कुराले मलाई जति विचलित पारेको थियो, जङ्गल पसेको कुराले मलाई कत्ति पनि छोएन । अब म पुनः पुरानै अवस्थामा पुगे“ ।
“आजदेखि यो कार्यालयको इतिहास पनि समाप्त भयो । बुझ्यौ गणेश ? आज मेरो जीवनको एउटा कालखण्डको अन्तिम क्षण हो । आज पहिलो पटक मलाई आफू अत्यन्त एक्लो भएको अनुभूति भएको छ । यसअघि मलाई लाग्दैनथ्यो, म एक्लो छु । भोलिदेखि तिमी पनि यहाँ नआए हुन्छ । के काम यो ठाउँको ? हामीले तिमीलाई पनि धेरै दुःख दियौँ । तर, यो परिस्थितिको खेल हो । यो कुरा तिमी अवश्य बुझ्छौ । सक्छौ भने मलाई माफ गर ।” त्यसपछि उसले बोतलबाट फेरि एक घुट्को पानी निल्यो ।
“जे भए पनि कुलेले राम्रो गरेन । उसले आफूभित्रको निराशाको निकास खोज्न यस्तो बाटो रोज्यो । समाजको वस्तुस्थिति चरम प्रतिकूल भएको यो समयमा उग्रवादी दुस्साहसको शरणार्थी हुनु भयानक पलायन वा जघन्य आत्महत्याभन्दा बढी के हो ? के निराशा, बदला भाव वा उन्मादले समाजलाई बदल्न सकिन्छ ? कति दिनसम्म चल्न सक्छ यस्तो यात्रा ?”
यति भनेर उसले पुनः बोतलको बाँकी पानी एकैसासमा रिङ्खयायो । त्यसपछि ऊ बोल्न छोड्यो । मैले देखे“— उसका आँखामा दुई थोपा आँसु उम्रिएको थियो । तर, विषादका ती थोपाहरु पानी जस्तो सजिलोसित बगेर झर्न मानिरहेका थिएनन् । ती जडवत् रुपमा आँखाको भण्डारभित्रै कैद थिए । त्यसपछि म शब्दहीन भएर मञ्चको कार्यालयबाट निस्किएँ । बाहिर अँध्यारोले छोपिसकेको थियो । मलाई लाग्यो— बिजुलीबत्तीको कृत्रिम उज्यालोमा पनि सिङ्गो शहर अँध्यारोले मलिन थियो । (फिनिक्स बुक्सद्वारा हालै प्रकाशित नारायण ढकालको छानिएका पुराना कथाहरुको संग्रह ‘नारायण ढकालका कथा’बाट)