बागलुङ, २४ भाद्र – ३८ औं राष्ट्रिय शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवश बागलुङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘संघिय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ यो बर्षको दिवश मनाइएको हो ।
दिवशको अवसरमा सरोकारवालाले स्तरीय शिक्षाका लागि स्थानीय तहको नेतृत्वमा अहिलेको आवस्यकता र चाहना अनुसारको शिक्षा दिन सक्नुपर्ने धारणा राखेका छन् । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले शिक्षाको गुणस्तरमा साझा चासो बढाउनुपर्ने, स्थानीय तहले अवको मोडल तयार गर्ने र दक्ष जनशक्तिको व्यवस्थापन मार्फत शिक्षालाई व्यवहारिक बनाउनुपर्ने धारण राखे ।
उनले संघियताको मोडलमा राजनीतिक व्यवस्था गएको र त्यसकै आधारमा शिक्षालाई समावेश गर्न लागिंदा केही अन्यौलता छाएको भन्दै सिकाईबाटै संघियतालाई सफल बनाउनुपर्नेमा पनि जोड दिए । उनले संघियताको मोडलभित्र आफ्नै आवस्यकताको आधारमा शिक्षाको विकास गर्न सकिने समेत बताए । ‘हिजो सरकारले गरेन भनेर कराउन सजिलो थियो, अव आँफैले गर्ने अवसर आएको छ’ थापाले भने, ‘कसरी सफलता पाउन सकिन्छ भन्ने बाटो पत्ता लगाएर दु्रत बिकासमा फट्को मार्नुपर्ने समय आएको छ ।’ प्रदेशहरु बीचको प्रतिष्पर्धि शिक्षा प्रणाली बनाउनुपर्ने आवस्यकतामा पनि उनले जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले अवको शिक्षा व्यवहारिक र नयाँ विश्वको आवस्यकतालाई पुरा गर्ने प्रकारको हुनुपर्नेमा जोड दिए । उनले जिल्ला र देशको वर्तमान शैक्षिक अवस्था, चुनौती र भोलीको आवस्यकताका लागि कसरी अगाडि बढ्ने भन्ने मार्गचित्र सहितको मोडलको बारेमा पनि चर्चा गरेका थिए ।
जिल्ला समन्वय समितिका उपाध्यक्ष बिष्णुप्रसाद भुषालको अध्यक्षता, शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ आचार्यको संचालन र बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलको तर्फबाट चिनिमाया काला मगर, शिक्षक महासंघका उपाध्यक्ष छविरमण ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा ‘संघिय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने शिर्षकमा आयोजित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताका बिजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै गएको माध्यामिक तहको परिक्षामा उत्कृष्ठ हुने जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका ६ विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।