बागलुङ, २३ भाद्र – गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधारको लागि वडा भित्रका विद्यालय तथा बालविकास केन्द्रहरुमा सुरु गरेको अनुगमन जारी रहेको छ ।
वडा अध्यक्ष डम्बरबहादुर श्रीसको टोलीले बुधबार रत्नलक्ष्मी माध्यामिक विद्यालय रिघामा अनुगमन निरिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा वडाध्यक्ष श्रीसले विद्यालयमा शैक्षिक सुधारको लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासन जागरुक हुनुपर्ने बताएका थिए ।
श्रीसले कुनैपनि विषयमा समस्या हुँदा समाधान पनि संगै हुने भन्दै विद्यालयसंग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने र वडा कार्यालय सधै शैक्षिक विकासको लागि सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा शिक्षकहरुको तर्फबाट सहायक प्रधानाध्यापक तुलबहादुर श्रीस, विद्यालयका सल्लाहकार टंक श्रीस लगायतले विद्यालय नतिजामुखी उपल्ब्धीको लागि लाग्नुपर्ने बताएका थिए । कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष दानतारा पुनको अध्यक्षता तथा प्रधानाध्यापक दामोदर शर्मा को संचालनमा सम्पन्न भएको थियो ।
अन्तरक्रिया कार्यक्रमले आगामी भाद्र ३० गते जिल्ला शिक्षा कार्यालयको उपस्थितिमा अभिभावक, विद्यार्थी र शिक्षकहरु बीच अन्तरक्रिया कार्यक्रम गर्ने र आवश्यकता र समस्याको पहिचान गर्ने निर्णय गरेको छ । त्यस्तै टोलीले सोही दिन छिचिम्रा प्राथमिक विद्यालय छिचिम्रा पोखरीमा पनि अनुगमन तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले शिक्षाको आधारभूत जग प्राथमिक विद्यालय भएकोले बालबालिकाको मनोवैज्ञानिक विकास तथा सकारात्मक सोचको विकास आधारभूत तहबाट गर्नुपर्ने बताउ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसको अध्यक्षता तथा प्रधानाध्यापक भक्त श्रीसको संचालनमा सपन्न भएको थियो । त्यस्तै अध्यक्ष श्रीसले जनता बालविकास केन्द्रको पनि अनुगमन तथा निरिक्षण गरेका छन् ।
बालविकास केन्द्रमा भएको कार्यक्रम बालविकास व्यावस्थापन समितिका अध्यक्ष सुमन श्रीसको अध्यक्षता तथा सहजकर्ता होमु शाहीको संचालनमा सम्पन्न भएको थियो । गल्कोट नगरपालिका वडा नं. ११ रिघाले वडा भित्रको शिक्षा नीति निर्माण गरि वडा भित्रका सबै विद्यालय अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण सहित शैक्षिक सुधार गर्ने उद्धेश्य साथ कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहेका डम्वर श्रीसले जानकारी दिएका छन् ।