बागलुङ, २१ भाद्र – तेक्वान्दो डोजाङ बागलुङका मुख्य प्रशिक्षक परशुनारायण बोहरा उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित भएका छन् ।
जिल्ला खेलकुद विकास समिति बागलुङका सहायक प्रशिक्षक समेत रहेका बोहरालाई राष्ट्रिय खेलकुद परिषदको ५४ औं वर्षगाँठको अवसरमा परिषदका सदस्य सचिव केशव विष्टले उक्त पुरस्कारबाट सम्मान गरेका हुन् । बागलुङ जिल्लामा तेक्वान्दो खेललाई विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रशिक्षक बोहराले राष्ट्रिय तथा अन्तराष्ट्रिय टुर्नामेन्टमा पदक जितेका छन् ।
बोहराले काठमाडौंमा सम्पन्न आमन्त्रित अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्सतर्फको सिंगलमा स्वर्ण र गु्रपमा तेस्रो स्थान हासिल गरेका छन् । बोहरा २०४८ सालदेखि तेक्वान्दो खेलमा लागेका हुन् । बोहराले २०५२ सालदेखि सरकारी सेवामा प्रवेश गरे । बोहराले हालसम्म ८ सयभन्दा धरैलाई प्रशिक्षण दिईसकेका छन् ।
बोहराबाट दिक्षित खेलाडीमध्ये नन्दु बिष्ट अन्तराष्ट्रिय खेलाडी हुन्भने टार्जन कायत मगर राष्ट्रिय खेलमा चर्चित नाम हो । बिष्ट केही समय सरकारी कारारमा समेत जिल्लाको प्रशिक्षकको रुपमा काम गरेका छन् । अहिले पनि बिष्ट, मगर र प्रविन थापामगरले स्वयमसेवी जिल्ला प्रशिक्षकको रुपमा काम गरिरहेको बोहराले बताए ।
‘पुरस्कारले मलाई खेल जगतमा थप काम गर्ने उत्साह थपिदिएको छ’ प्रशन्न हुँदै बोहराले ढोरपाटनसंग भने– ‘मैले पाएको सम्मान समग्र जिल्लाको गौरव हो ।’ ‘२५० जन भन्दा धेरै ब्लक बेल्ट प्रशिक्षार्थी उत्पादन गर्न सफल बोहरा निकै मेहेनती र इमान्दार प्रशिक्षकको रुपमा परिचित छन्’ –खेलकुद पत्रकारितमा विशेष दख्खल राख्ने पत्रकार रामकृष्ण बोहराले भने । बोहराको कार्यकालमा जिल्लाको बलेवा र कुँडुलेमा प्रशिक्षण केन्द्र सञ्चालन गरेर तेक्वान्दोका खेलाडिहरु उत्पादन गर्ने शिलशिला जारी छ । खेल सिकाएका अधिकांश प्रशिक्षार्थी अवसरको अभावमा बिदेशिदा आफुलाई खिन्नता बोध गराउने बोहरा बताउँछन् ।
बोहराको मेहेनत र इमान्दारीता तथा निरन्तरताको फल मिलेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर परियार बताउँछन् । ‘मेहनत गरेर निरन्तरता दिने होभने राज्यले खेलाडिलाई पनि हेर्छ भन्ने भएको छ’ परियारले ढोरपाटनसँग भने– ‘बोहराले पाएको पुरस्कार जिल्लाको मात्र नभइ प्रदेशको गौरव हो ।’ उनले पाएको सम्मानले पुराना खेलाडिलाई निरन्तरता दिन र नयाँ खेलाडिलाई खेलप्रति उत्साहित बनाउने परियारको बुझाई छ ।
उनले बोहराको सम्मानले सम्पुर्ण बागलुङे खेलाडिको सम्मान भएको अनुभुती गरेको बताए । जिल्ला तेक्वान्दो संघका सचिव समेत रहेका बोहराले बाङ्गेचौरमा निर्माणधिन कवर्ड हलको काम निकै समय दिँदै आएका छन् । खेलकुद मन्त्रालयको सानो सहयोगबाट निर्माण थालिएको कवर्ड हलको काम चलिरहेको बोहराले बताए ।
हल निमार्णको विदेशमा रहेका साथीहरुसंग सहयोग जुटाउने तेक्वान्दो संघको अभियानमा पनि बोहराले महत्वपुर्ण खेल्दै आएका छन् ।