कृष्ण प्रसाद शर्मा
गत हप्ता दक्षिण भारतको तिरुनलभेलीकी १२ बर्षिय बालिका जो ७ कक्षामा अध्यानरत थिईन । उनी महिनावारी हुँदा आएको रगत आफ्नो कपडामा र बेन्चमा देखिएका कारण स्कुलमा शिक्षकले गाली गरे । उनी अर्को दिन त्यही पीरले आत्महत्या गरिन । सुन्दा निकै उदेक लागेको यो घटना हाम्रो देशमा छाउपडीका नाममा महिलालाई गोठमा राखेर सर्पको टोकाईले मृत्यु भएको घटना प्रायः हरेक बर्ष हुन्छन् । करीब तीन महिना अगाडी एक जना आमाले आफ्नो फेसबुक स्टाटसमा आफ्नी छोरी पहिलोपटक रजश्वला भएकोमा बधाई दिईन् । यो कुरालाई लिएर धेरै टिकाटिप्णी भए ‘किन कि यो कुरा आमाले भन्न हुन्थ्यो वा हुन्थेन भन्ने बारेमा ।’ बालिका सन्तानोत्पादनको लगी योग्य बन्नका लागी रजश्वला भएको सन्दर्भमा यो कुरा ठीकै छ । महिलाले यौन बारेमा खुलेर लेख्यो भने मान्छेहरू अरिङगल झै हुन्छन् जहाँ महिलाले मुण्टो हल्लाएर स्वीकृती दर्शाइए समाजले भलाद्मी र सम्भ ठहराईदिन्छ ।
समाजका विभिन्न अवयवहरूमध्ये मान्छेहरू सामाजिक, आर्थिक, धार्मिक (यसलाई आस्थाका रुपमा पनि) हिसावले बढी घेरिएका हुन्छन् । जसमा महिलालाई महिनावारीका बेला “नछुने’’ भनेर सामाजिक, घरायसी बस्तुको बिक्री गर्दा (एक त महिलाको आर्थिकमा निर्णय गर्ने अधिकार छैन । अझ यो बेला आर्थिक कारोबार गर्न दिईंदैन (केही पहाडी जिल्लाहरूमा) अनि धार्मिक रुपमा अधिकांश धर्मको व्याख्यताले बर्जित गरेका छन् कतिपय कृयाकलापहरू भगवानको आदेशका नाममा । यसरी हेर्दा महिलालाई निरिह देखाउने यी कृतिम कृयाकलापहरू भईरहेका छन् । जब तीज आउँछ अनि महिलासँग जोडिएर पाप पुन्यको भण्डार निस्किन्छन् । सबैका घर–घरमा पाप पुण्यको बहस र खजानाको खुव चर्चा हुन्छ । पाप र पुन्य बाचन नगरेको घर फेला पर्दैन गाउँदेखी शहर सम्म । फेशन र गरगहनाले जीउ ढाके पनि मनमा पाप पुन्यको कुरा चाही ढाक्न पञ्चमीको ब्रत बसालेर ढकाईन्छ । प्रायः जसो अधिकांश धर्ममा महिनावारी हुँदाँ “पुण्ययुक्त’’ काम लगायत कतिपय काम नगर्न भनि बर्जित गरिएको छ । महिनावारी हुँदा घरमा दाईभाई र बाबुसँग देखिन नहुने भनेर अरूको घरमा पठाउने चलन आज पनि छ । कतै छाउपडीको नाम दिईएको छभने कतै नजरबन्दकै हिसाबले सुर्य देख्न नहुने भनेर पनि राख्ने चलन छ ।
महिनावारी एक प्राकृतिक कुरा हो । यसमा आउने रगतमा कहिकतै पापजन्य पदार्थ मिसिएको छैन तर समाजले यसलाई दुषित रगतका रुपमा परिचित गराईदिएका छन् । यदि सन्तान उत्पादनमा रजश्वलाको ठुलो महत्व भए आज हामी यस धर्तिमा आउनु पाप नै हो र आफ्नो आमा पापीनी हो भन्न सक्नुहुन्छ ? “नछुने’’भन्ने समाजले दिएको उपमा हो । समाजले दलितलाई जातिय रुपमा जस्तै महिनावारी हुँदाको महिलालाई सामाजिक रुपमा नछुनेको दर्जामा राखिदिएको छ । छाउपडी जस्तो कुरुतीले बर्ष दिनमा कति मान्छेको ज्यान लिएको छ त्यस बारे हामीले गैरसरकारी संस्थालाई जिम्मा दिएका छौ । ढिलै भएपनि हालै मात्र छाउपडी राख्नेलाई सजाय दिने गरी कानुन निर्माणको प्रकृयामा छ । यो सकरात्मक रुपमा लिनु पर्छ ।
रजश्वला हुने कुराले यो सृष्टिलाई निरन्तरता दिनेमा ठुलो योगदान छ । महिलालाई रजश्वला भएका बेला कठिन हुनु एक ठाउँमा छ तर पुरूषले महिलालाई कठिन देखाएर उनीहरूलाई धेरै कुरामा बञ्चित समेत गराईएको छन् । महिला महिनावारी भएको बेला स्कुल आउन खोज्दैनन् त्यसैले पढाई छुट्छ अनि कमजोर हुन्छन भन्ने शंका गरिन्छ त्यो सत्य होईन । केही दिनको पढाईले कमजोर हुने होईनन् बरु यसो भनेर बालिकालाई घरमै बस्नु पर्छ भन्ने गलत सन्देश निरन्तर दिईरहेका छौं । कामदार खोज्दा महिला महिनावारी हुन्छिन् त्यसैले बरु पुरुषलाई खोजे महिना भर काममा आउँछन् भन्ने सोचाई समेत पाईन्छ तर महिलाको प्राकृतिक रुपमा भएको घटनालाई रोजगारसँग जोडेर पक्षपातपुर्ण व्यवहार गर्नु न्याय सम्वत पक्कै हुँदैन । महिलालाई देवी, दुर्गा काली जस्ता शक्तिशाली उपमा दिने तर तिनै देवी काली फेरी कमजोर भएको देखाउने गरिन्छ । भगवान शुद्ध हुन्छन् भनेर सिकाउने अनि भगवानको रुप देख्ने महिला फेरी अशुद्ध कसरी भईन त ? जसको वीर्यले सन्तानको सृष्टी भयो उसैको मुख हेर्न नहुने भनेर अरुको घरमा ५–७ दिन लुकेर बस्न पठाउने यो कसरी न्याय सम्मत भयो त ?
पाप धर्म त कर्मले गर्दा हुने हो नकी कसैको रगतले निर्धारण गर्दैन । कुरानले रजश्वला प्राकृतिक रुप भएको व्याख्या गरे पनि केही निश्चित कामहरू गर्न प्रतिबन्ध गरेको छ । जसलाई अल्लाहले भन्नु भएको थियो भन्ने कुरा भगवानकै नाममा छोडेर अरूलाई बोल्न नसक्ने बनाईदिन्छन् । हिन्दु धर्ममा रजश्वला भएकी महिलालाई पुजापाठमा सामेल मात्र नगराईएको छैन कि पुजाको प्रसाद समेत खान चोख्खिएपछि खानु पर्ने बनाईएको छ । हामीले यो प्रथालाई महिलाको समस्याका रुपमा मात्रै चित्रित गरेका छौं । खासमा यो जसरी दलितलाई जातिय रुपमा एक्लाएर सामाजिक रुपमा असोभनिय गरिरहेका छौ त्यस्तै महिलालाई महिनावारी हुँदा गरेका छौं ।
कुरामा आर्दश, शब्दमा समानता र राजनितिमा समावेशी जे जति कुरा अलापे पनि महिलालाई दोस्रो दर्जाको रुपमा मात्र नभई अझ उपबर्गमा खण्डित गरिएको छ । यसो भन्दा यो कुरा महिलाबादीको दृष्ट्रिकोणको दृष्टिभ्रम नहोस् । हरेक पुरुषले आफ्नो घरघरबाट महिनावारीको यो दुषित सोच हटाउन पहल गरौ । आफ्नो घर कमजोर गराएर अरूको घरको खाँबो हल्लाउन जानु गलत हो । आजैदेखी महिनावारी पाप होईन यो बरदान हो । महिलाको सम्मानमा सबैको मान् अटेको हुन्छ । समानता कुरामा होईन व्यवहारमा लागु गरौं ।
Previous Articleसारङ्गीको संरक्षण हाम्रो साझा दायित्व
Next Article रेडक्रसको दिवसमा फलफुल वितरण