कुनैबेला समय र सन्दर्भका खवर बोकेर घरदैलोमा गुन्जने सारङ्गी अचेल बेखबर जस्तै बनेको छ । सञ्चारका साधानहरुको अभावमा सांगीतिक रुपामा समाचार बोकेर दैलोमा आउने त्यो सारङ्गी संरक्षणको अभावमा आफै बेखवर बनेको हो । नेपाली लोकबाजाको रुपमा स्थापित सारङ्गी किन र कसरी लोप हुदैछ भन्ने बारेमा हामी सबैलाई थाहा छ । एकाध गैरसरकारी तथा सामाजिक संघ संस्थाहरुले बाहेक लोक बाजा सारङ्गीको संरक्षण तथा अभिलेखमा सारोकारवालको पटक्कै ध्यान गएको देखिदैन् ।
‘चाहिंदाको भाडो नचाहिंदाको ठांडो’ बनाउने नेपाली परिपाटीको सिकार बनेको छ आज नेपाली लोकबाजा सारङ्गी । नेपाली समाजमा विशेष गरेर गन्र्धव समुदायले बजाउने यो बाजा लोपोन्मुख अवस्थामा छ । काठमाण्डौका केहि स्टुडियोमा रेकर्डिङका लागि बजाउने बाहेक यो बाजा बजाउनेहरुको संख्या पनि निकै पातलो छ । हरेक प्रकारका गीत संगीतहरुमा प्रयोग गरिने यो बाजा कैद गरिएका आवाजहरुमा त सुन्न पाइन्छ तर पहिले पहिलेको जस्तो आफ्नै आँगनमा आफ्नै बेदना बोल्न भने पक्कै छोडेको छ । सरोकारवालाहरुको बेवास्ता र यो बाजा बजाउनेहरुको दैनिकी नचलेपछि बाजा बिस्थापनमा परेको हो । आधुनिक सञ्चार साधनले सञ्चारको काम गर्ने र अत्याधुनिक मेसिनमा कैद गरिएका संगीतहरुले मानिसको प्यास मेटाउन थालेपछि सारङ्गी बेखबर बनेको हो । कुनैबेला सांगीतिक धुनमा छोरीचेली बेचिएका खबरदेखी प्रदेशमा नेपालीले पाएको दुःखका बारेमा गन्र्धवहरुले सारङ्गीको प्रयोग गरि अखवारको काम गर्थे । त्यसको बद्लामा दिइने सामान्य खाद्यान्नले उनीहरुको गर्जो टथ्र्यो । दुर–दराजसम्म हिउँद, बर्खा, झरी र बादल केही नभनी खबरको पोको बोकेर हिड्ने गन्धर्वहरुको दैनिक चल्न छोडेपछि सारङ्गीसंगै सति गएको कुरालाई कसैले नकार्न सक्दैन् ।
हाम्रा कला, साहित्य र संगीत हाम्रा राष्ट्रका गहना हुन । तिनको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो । पुरानो परिपाटीबाट नचलेको गन्र्धवको दैनिकीलाई सुधार्न र उनीहरुको जीवनयापनको व्यवस्थापन गर्ने जिम्मा राज्यको हो । गन्र्धवहरुको संरक्षण र सारङ्गी जस्तो सुरिलो धुनको सबै बर्गका मानिसलाई मन पर्ने संगीत दिने बाजाको संरक्षण तथा पुनरउत्थानमा लाग्नु जरुरी छ । सारङ्गी गन्र्धवले मात्रै बजाउँछन् भन्ने होइन । उनीहरुको त्यो कलालाई अन्य जाति तथा वर्गमा हस्तान्तरण गर्ने होभने अझ त्यसको प्रभावकारी संरक्षणमा टेवा पुग्छ । पुरानो पुस्तालाई सम्मान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने परिपाटीको अभावमा आज यो अवस्था आएको हो । त्यतिमात्रै हैन हाम्रो समाजले हेर्ने दृष्टिकोणका कारण नयाँ पुस्तामा त्यो कलाप्रतिको बितृष्णा पैदा भएको हो । सारङ्गीलाई गन्र्धवले बजाउने बाजा होइन समाजको सुखदुःख मधुर स्वरमा बोल्दिने साथिको रुपमा हेरौं । सामान्य प्रयासले मात्रैपनि हाम्रो आवाज बोल्ने सारङ्गीले पुनरजीवन पाउँछ भने त्यसको संरक्षमा सचेत नागरिकको हैसियतले राज्यलाई सहयोग गरौं । लोक बजाको संरक्षण र प्रर्बद्वन हामी सबैको दायित्व हो ।
Previous Article२०६० भाद्र ३१ः भुल्न नसकिने त्यो क्षण
Next Article आमालाई पापीनी भनेजस्तै हो रजस्वला पाप मान्नु