बागलुङ, १६ भाद्र – सरुवा भएर बागलुङ आएको भोलीपल्टै प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले आमजनताको सेवा सुविधा र अधिकारबारे अनुगमन तथा शुसासनको प्रतयाभूति दिने आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् ।
उनले शान्ति सुरक्षाको व्यवस्था सँगै सार्वजनिक निकायले गरेका काम प्रति निगरानी बढाउने पनि बताए । जनताका प्रत्यक्ष स्वास्थ्य, हित र लगानीसँग जोडिएका बिषयमा प्रशासनको अनुगमन बढाउने र जनतालाई राहतको महसुस गराउने बताए । स्थानीय विकास अधिकारीको रुपमा २ पटकसम्म बसेकोले जिल्लाको वास्तविकता, भौगोलिक विकटता लगायतमा परिचित भएको भन्दै उनले कानूनले दिएका अधिकार प्रयोग गरेर गर्न सकिने सबै काम गर्ने बताएका हुन् ।
संघिय र प्रदेश सभाको निर्वाचनका प्रकृया शुरु भैसकेकोले आचारसंहिता पालना सम्बन्धी अनुगमन र तत्काल कारवाही समेत गर्ने बिषयमा पनि गम्भिर भएको बताए । जिल्लाबासीले खानेपानी, सरसफाई लगायतका अत्यावस्यक बिषयमा भोग्नु परेका समस्या सम्बन्धमा पनि सम्बोधन गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् । गत साउनमा गएको पहिरोले पिडित भएकाहरुलाई राहत दिने, दिर्घकालिन बसोबासका लागि उपयुक्त स्थान छनौट, त्ससका लागि आवस्यक रकम संकलन र सेवा प्रवाहमा प्रशासनले अगुवाई गर्ने उनको कथन छ । ‘राजनीतिक दल, स्थानीय तह समेतले यो क्षेत्रमा काम गर्छन्’ थापाले भने, ‘उनीहरुको अभियानमा समेत सहयोग गर्दै नेतृत्वदायी भूमिका खेल्नेछु ।’ केही समय अघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिनिधि भूमिका समेत रहेको प्रशासनलाई त्यो भूमिका हटाइएको छ ।
उक्त भूमिका हटेकोले कतिपय काममा प्रशासनले कारवाही गर्न नसकेको कमजोरी स्विकारेका थापाले जनताको दैनिक जीवनमा आउने अवरोधलाई भने सम्बोधन गर्ने बताएका छन् । पत्रकार भेटघाटको क्रममा उनले संचारकर्मीलाई निर्भिक भएर अनियमितता, कानूनको विरुद्ध भएका घटना लेख्न आग्रह पनि गरेका छन् । कतिपय समयमा आउने अवरोधलाई चिर्न प्रशासन साथमा रहेको उनको भनाई थियो ।
जिल्ला भित्रका राष्ट्रिय राजमार्गको सफलताका लागि पहल गर्ने, ग्रामीण तहका सडकमा मनपरी लिइएका भाडालाई समायोजन गर्न अगुवाई गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् । प्रजिअ भएर आएपछि बुधवारदेखिनै थापालाई स्वागत, सम्मान गर्नेको लर्काे लागेको छ । निजामती कर्मचारीहरुको पेशागत संगठनहरु, उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति लागायतले थापाको स्वागत र सम्मान गरिसकेका छन् । उनले यो वा त्यो बाहना र यो गर्छु भन्ने नारा नदिई जनताको पक्षमा काम गर्ने पनि बताए ।