सन्दर्भः निर्वाचन क्षेत्र निर्धारण
बागलुङ, १६ भाद्र – निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रदेश नम्बर ४ मा १८ वटा संसदीय निर्वाचन क्षेत्र र ३६ वटा प्रादेशिक क्षेत्र बनेका छन् ।
बागलुङमा तीनवटा संसदीय निर्वाचन क्षेत्र रहेकोमा घटेर २ वटा संसदीय क्षेत्र र ४ वटा प्रादेशिक क्षेत्र निर्धारण भएको छ । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार बागलुङ नगरपालिका, जैमीनि नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका संसदीय निर्वाचन क्षेत्र नं. १ तथा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला, बडीगाढ, निसीखोला र तमानखोला गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. २ निर्धारण गरिएको हो ।
त्यस्तै प्रदेश सभाकोलागि वागलुङ नगरपालिकाको वडा नं. ११ देखि १४ सम्मको बलेवा क्षेत्र बाहेकको भूगोल र काठखोला गाउँपालिकालाई निर्वाचन क्षेत्र १, बलेवा, जैमीनी र बरेङलाई समेटेर क्षेत्र नं. २, ताराखोला, गलकोट र बडीगाढको क्षेत्र नं. ३ र ढोरपाटन, निसी र तमानखोलाको क्षेत्र नं. ४ निर्धारण भएको हो । प्रदेशमा ४ जना सांसद र संघका २ सांसदले बागलुङको प्रतिनिधित्व गर्छन् ।
आयोगको बिभाजनलाई लिएर केटी टिकाटिप्पणी भएपनि समग्रतामा राजनीतिक दलले चित्त बुझाएका छन् । एमाले अध्यक्ष इन्द्रलाल सापकोटाले समग्रतामा एमालेको छलफलको एजेण्डा जस्तै भएको बताए । हाल १० वटा स्थानीय तहमा पार्टी ईकाई गठन भएकोले निर्वाचनको तात्कालिक महत्वलाई लिएर थप कमिटी गठन गर्ने र निर्वाचनमा होमिने योजनामा एमाले रहेको उनको भनाई छ । गलकोट एकैठाउँमा हुनुपर्छ भनने स्थानीयको माग सम्बोधन भएकोमा उनले खुसी व्यक्त गरे । ‘पार्टीको विधान संशोधन पछि मात्र मुख्य स्वरुप कस्ते हुने निष्कर्षमा पुगिन्छ’ अहिलेको आवस्यकता हरेर घोषित क्षेत्रमा अस्थायी कमिटिमार्फत काम गर्र्छौ ।
उता कांग्रेस सभापति दिपेन्द्र थापाले पनि यो निर्णयलाई सहज रुपमा लिएको बताए । आयोगले बनाएको निर्धारणलाई स्विकारेर अवको निर्वाचनमा लाग्नुनै बुद्धिमानी हुने उनले बताए । पार्टीको विधान अनुसार अहिलेसम्म ३ निर्वाचन क्षेत्रको समिति क्रियाशिल छ । त्यो समितिलाईनै सक्रिय बनाएर निर्वाचनमा जान्छौं । आवस्यकता भयो भने अरु थप पनि बनाउने योजना छ । तर निर्वाचनपछि स्थायी रुपमा यसको बास्तविक मोडल बन्ने उनले बताए । आयोगको निर्णयमा प्रतिक्रिया दिने भन्दा तोकिएकै संरचनामा रहेर आफ्ना कार्यक्रम बनाउनु बुद्धिमानि हुने पनि उनले बताए ।
माओवादी केन्द्रका नेता चन्द्रबहादुर बुढाले यो विभाजनलाई सामान्य रुपमा स्विकारेको बताए । उनले प्रदेश निर्माणमा जनसंख्यालाई सन्तुलित गर्दा भूगोललाइ पछाडि पारिएको बताए । प्रदेश तर्फ बागलुङ नगरमा रायडाँडालाई बलेवामा लैजाने भन्ने सुझाव विपरित बानपामै राखिएको प्रतिक्रिया दिए । स्थानीय मानिसको मनोविज्ञानको आधारमा समग्रता मिलेकोले पार्टीले समर्थन गर्ने उनको भनाइ छ । अव हुने निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने सोचिनसकेको उनले बताए । ‘आवस्यकताको आधारमा क्षेत्रीय समिति बन्ला, तर अहिले गाउँ र नगरपालिका स्तरीय समितिलेनै अवको निर्वाचन परिचालन गर्छ ।’
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले यो विभाजन व्यहारिक नभएको प्रतिक्रिया दिए । उनले पहाडैपहाड भएको नेपालको भूगोललाई १० प्रतिशत र जनसंख्यालाई ९० प्रतिशत अंक दिइएकोमा असहमति जनाए । त्यस्तै बागलुङ नगरपालिका बिभाजन गरेकोमा आपत्ति व्यक्त गरेका छन् । विभाजनले जनतालाई विकास निर्माणको काम गर्दा समस्या आएको समेत बताए ।
‘जनसंख्या र भूगोलको अंकले हिमाल र पहाड खाली भएर असन्तुलन कायम हुने देखिन्छ ।’ थापाले भने, ‘तराईमा सानो प्रदेशमा धेरै सांसद बन्ने, पहाडको विकासमा कोह नबोल्ने भयो ।’ उनले पहाडको पक्षमा बोल्ने विदेशी शक्ति नभएको आरोप पनि लगाए । घोषित सिमांकनमा रहेर निर्वाचनमा होमिने उनले बताए । एउटा मात्र हुन्छ भन्ने हल्ला चिरिएर बागलुङ २ निर्वाचन क्षेत्र भएकोमा भने खुसी व्यक्त गरे ।
Previous Articleप्रजिअ थापाले भेटे पत्रकारलाई
Next Article १६ भाद्र २०७४, ढोरपाटन दैनिक