बागलुङ, १५ भदौ- बिदाको दिन भएकोले हरिचौर स्थित फुपुको घरमा जान्छु भनेपछि पठाएको छोरी १४ बर्ष भयो र पनि नफर्केपछि नरेठाँटी की ५१ बर्षिय सरस्वती विकको आँखा ओभाएका छैनन् । छोरीको बाटो हेर्दा हेर्दै विक दम्पत्तिले काम गर्ने सुर पनि पाउँदैनन् । ११ बर्षकी छोरी अमृतालाई कसले किन बेपत्ता बनाएको हो अहिले पनि जान्न नपाएको उनले बताईन् । बाटोमा सेनाले पक्रेर छोरीलाइ बेपत्ता बनाएको खवर पछि उनले धेरै ठाउँ धाएर पनि छोरीको पत्तो लगाउन सकिनन् । बेपत्ता छोरीको खोजीमा भौंतारिंदा कतै केही नभेटेपछि बेपत्ता आयोगमा समेत उनले उजुरी दर्ता गरेकी छिन् । बिकले आफ्नो पिडा पोख्दै छोरीको पत्तो लगाइदिन पटक–पटक आग्रह गर्छिन । ‘१४ बर्ष भयो, छोरीको लास पनि पाइएन, सास पनि पाइएन’ उनले भनिन्, ‘बेपत्ता आयोगमा पनि उजुरी गरिसकेकी छु, कानून नभएकाले खोज्न सकिएन भन्ने जवाफ दिएका छन् ।’ बुधवार अन्तराष्ट्रिय बेपत्ता दिवशको दिन पनि उनले पुरानो घाउ कोट्याउँदै भनिन् । गलकोट देखि सदरमुकाम आइपुगेकी बिकले औपचारिक कार्यक्रममा नेता र अतिथिहरुले गरेको भाषण भन्दा उनको चासो पहिले देखि चिनेका पत्रकार र मानव अधिकारवादीहरुलाई भेट्नमै बितेको थिाये । छोरीको कुरा उठाएर धुरुधुरु रुने उनको बानी भैसक्यो । विकको आँखामा अहिले पनि आँसु थामिएको छैन । उनी भन्छिन्, ‘मरेकी भए हाड, खोड र माटो भएपनि दिए बिर्सने थिए ।’ २०५९ को मंसिरमा छोरी बेपत्ता भएपछि अहिले सम्म राम्रोसंग निदाउन नसकेको उनले गुनासो गरिन् । ‘छोरी भेटिई भन्ने खवर कहिले पनि आउँदैन, बरु द्वन्द्व पिडितको कार्यक्रम छ भनेर बोलाउँछन्’ विकले भनिन्, ‘तैपनि कार्यक्रममा आएकाले छोरी भेटिएको खवर सुनाउने हुन् की भन्ने लाग्छ ।’ शुरुमा भेटिएको समाचार सुनाउछन् की भनेर केही समय भाषण सुन्ने र त्यसपछि पत्रकार र अधिकारकर्मी खोजेर दुःख बिसाउने गरेको उनले बताईन् । उनले छोरीको अवस्था बारे सत्य जान्न पाउनुपर्ने बताइन् । विकका श्रीमान हरिलाल पनि अहिले मानसिक सन्तुलत गुमाएका छन् । कसैले बोलाउँदा छोरी भेटिएकी होकी भन्दै आत्तिएर बोल्छन् र परिवारमा पनि झर्केर बोल्ने वानी परेको छ । रक्सी पिउने, बरबराउँदै हिड्ने गरेकोले ज्याला मजदुरी गरेको दुईचार पैसा पनि बचाउन नसकेको विकले गुनासो पोखिन् । दुई छाक खानका लागि मजदुरी गर्न बाध्य विक दम्पत्तिले भोकभोकै धेरैपटक सेना र प्रहरीमा धाएर पनि उतिबेला पत्तो लगाउन सकेनन् । विकका छोरा यामबहादुर पनि मानसिक रोगी भएकोले विकको परिवार पिडामा छ । समितिको तथ्यांक अनुसार बागलुङमा २४ बेपत्ता परिवारले प्रारम्भिक राहत बुझेका छन् भने एकजनाले अझै राहत पाएका छैनन् । सशष्त्र द्वन्द्वको समयमा १ सय ३९ जनाको मृत्यु भएको थियो भने १ सय २ जना अपहरणमा परेका थिए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङ र न्यायका लागि द्वण्द्वपिडित समाजको आयोजनामा भएको कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले वास्तविक पिडितको समस्या समाधान र पिडामा राहत दिनका लागि रोजगारी दिन पहल गर्ने बताए । उक्त अवसरमा बेपत्ता समाजकी संयोजक जसोदा शर्मा, समाजका अध्यक्ष बद्रीबहादुर केसी, सहायक जिशिअ कुश्मराज उपाध्याय, उच्च अदालत बारका अध्यक्ष केशव पराजुली, जिल्ला समन्वय समितिका सूचना अधिकारी अखिलनाथ शर्मा, मानवअधिकार संगठनका अध्यक्ष अम्मरबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, पिडित छमकुमारी बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगायतले बोलेका थिए । नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, मन्त्री नारायण शर्माको संचालन र अधिकारकर्मी विकास पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा अधिवक्ता राम शर्मा र रेडक्रसकै उपसभापति राजेन्द्र आचार्यले बेपत्ता दिवशको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Previous Articleमैत्रीपुर्ण फुटसलमा जेसिज विजयी
Next Article प्रदेश र संसदको चुनाव दुई चरणमा