बारा, १३ भदौ – आमासँगको रिस फेर्न बाराको सिम्रौनगढमा नाबालकको हत्या भएको छ । रौतहट जिल्लाको गढिमाई गाउँपालिका‐७ का रवीना खातुनका २ वर्षीय छोरा रेयाल अंसारीको हत्या भएको प्रहरीले जनाएको छ ।
बालक हत्याको आरोपमा प्रहरीले सिम्रौंनगढ नगरपालिका ‐३ की २० वर्षीया हसबुन खातुनलाई पक्राउ गरेको छ । बालक रेयाल आइतबार बिहान ११ बजे मामाघरबाट हराएका थिए । उनी हराएपछि खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुनेश्वरप्रसाद साहले जानकारी दिए ।
स्थानीय रुवैडा खातुनको आँगनमा साँझ अन्दाजी ८ बजेको समयमा हत्यागरी फलिएको अवस्थामा बालकको शव फेला परेको थियो ।
रौतहट घर भएकी रविना बाराको सिम्रौनगढस्थित माइतमा तीन वर्षदेखि बस्दै आएकी थिइन् । रविना र हत्या आरोपी हसबुन खातुनबीच सामान चोरीको आरोपमा सोही दिन बिहान झगडा भएको थियो ।
आमासँगको रिस फेर्न हसबुनले रविनाका नाबालक छोराको मुख थुनेर हत्या गरी अर्को घर अगाडि फालेको अनुसन्धानबाट खुल्न आएको डिएसपी साहले जनाए ।
बालक हराएको केही बेरमा नै बालकको हत्या गरी खाना पकाउने तीन मुखे चुलो भित्र दिनभरी शव लुकाएर रातपरेपछी अर्काको आँगनमा फालिएको अनुसन्धानबाट खुलेको डिएसपी साहले बताए ।
Previous Articleफोरम लोकतान्त्रिकले मधेसकेन्द्रित दलसँग चुनावी तालमेल गर्ने
Next Article २०७४ भाद्र १४ गते बुधबारको राशिफल