वीरगञ्ज, १३ भदौ – प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मधेसकेन्द्रित दलसितको तालमेललाई प्राथमिकता दिने भएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री भारतेन्दुकुमार मल्लिकले अनलाइनखबरसँग कुरा गर्दै स्थानीय तह र जिल्लाको माग तथा चाहना अनुसार तालमेल गरिने बताए । उनले कुनै पनि दल बैरी नभएको बताए ।
उम्मेदवार सिफारिस गर्न केन्द्रीय पदाधिकारीको नेतृत्वमा ५ सदस्य टोली आठै जिल्लामा पठाइएको र सिराहा र सप्तरीको ८० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको महामन्त्री मल्लिकले बताए ।
धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयर उम्मेदवार इन्जिनियर अमरेन्द्र झालाई बनाउने पार्टीले निर्णय गरिसकेको उनले बताए ।
मधेसकेन्द्रित दलसित तालमेलको कुरा अघि बढेको र अन्य दलका नेताहरु पनि तालमेलका लागि सम्पर्कमा रहेको मल्लिकले बताए ।
राजपा र संघीय समाजवादी फोरमबाट टिकट नपाउनेहरु लोकतान्त्रिकसँग टिकट माग्न आइरहेको समेत उनले खुलासा गरे ।
यसैबीच, फोरम लोकतान्त्रिकले धनुषाका उमाशंकर अरगरियाको अध्यक्षतामा प्रदेश नं २ को समिति गठन गरेको छ । उपाध्यक्षमा बाराकी कलाबती देवी र सचिवमा सिरहाका अरुणकुमार सदालाई मनोनित गरिएको हो ।
Previous Articleमाथिबाटै घटुवा गरेर चुस्त संगठन बनाउँछौंः प्रचण्ड
Next Article आमासँगको रिस फेर्न नाबालकको हत्या