बागलुङ, १३ भदौ – काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीहरुले आफ्नो उद्देश्य अनुसारको काम गर्न नसकेमा उद्देश्य मिल्ने सहकारीहरुसँग मर्ज गर्नुपर्ने बताएका छन् ।
नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँको १६ औं साधारणसभाको उद्घाटन पछि बोल्दै थापाले धेरै सहकारीहरुले उद्देश्य अनुरुपको काम नगरेको भन्दै स्थानिय तहको जनताहरुको आर्थिक विकासको लागि सहकारीहरुले उद्देश्य अनुरुपको काम गर्नुपर्ने बताए । ‘अहिले सहकारीबाट २, ३ लाख ऋण गरेर गाउँका युवाहरुलाई विदेश पठाउने चलन रहेको छ’ अध्यक्ष थापाले–‘भने गाउँमा गाई बस्तु पाल्न लाज मान्ने युवाहरु त्यही २, ३ लाखको ऋणबाट विदेशमा गाईपालनमा काम गरिरहेका छन् ।’ हामीले आफ्नो देशमा काम गर्न लाज मान्छौं त्यस प्रथाको अन्त्य नभएसम्म गाउँ विकास हुँदैन ।
थापाले गाउँका युवाहरु विदेश गएपछि श्रीमतीहरु छोराछोरीको पढाईको लागि भन्दै बागलुङ बजार जाने चलन रहेको बताउँदै त्यसको अन्त्यको लागि काठेखोलामा शिक्षाको विकासको लागि काम गर्न लागेको जानकारी गराएका थिए । अध्यक्ष थापाले सिहदरबारको अधिकार गाउँ–गाउँमा भनेर जति नारा लगाएपनि स्थानिय तहमा अहिलेसम्म कुनै कामको लागि अधिकार प्राप्त नभएको बताए ।
उनले कामको अधिकार प्राप्त नभएपनि आएको बजेटको सहि सदुपयोग गर्दै काठेखोलाका जनताहरुको मुहारमा खुसी ल्याउने बताए । थापाले गाउँपालिकामा जनप्रतिनिधिहरुले मात्र काम गर्छभनेर नहेर्न आग्रह गर्दै गाउँको विकासको लागि सवै जनताहरुले जनश्रमदान तथा सल्लाह सुझाव दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, ७ का अध्यक्ष प्रेम लामिछाने, समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल प्रसाद कंडेल, कृषि सेवा केन्द्र विहुँकी प्रमुख भिमा राई, पशु सेवा केन्द्र शाखा काठेखोलाका प्रमुख रामकृष्ण सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७३/०७४मा दुध विक्रीबाट ८४ लाख ९० हजार २ सय ४४ रुपैयाँ आम्दानी गरेको सहकारीका अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिएका थिए । सहकारीले काठेखोला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । सहकारीका शेयर सदस्य अगन्धर कंडेलले पदाधिकारीहरुलाई शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
सहकारीका अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बालानन्द कंडेल र संचालन सचिव जगुपति कंडेलले गरेका थिए । सहकारीले बिहुँ, भीमापोखरा र तंग्रामलाई कार्यक्षेत्र बनाई त्यसक्षेत्रका किसानबाट उत्पादित दुधलाई संकलन गरेर विक्रि गर्दै आएको छ ।
Previous Articleबालविकास केन्द्रका विद्यार्थीको स्वास्थ्य परिक्षण
Next Article उपभोक्ता हितमा काम