बिराटनगर , १२ भदौ-प्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ । कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट छ ।
विराटनगरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र भारतबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको बताए । उनले भने, ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं ।’ प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सरकारमा माओवादी केन्द्रको नेतृत्व गरेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासमेत सहभागी थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले संविधान संशोधन आवश्यक नै नभएको पनि बताए ।‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन । तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन,’ प्रचण्डले भने, ‘देशलाई आवश्यक परे फेरि बहस गरौंला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’