डा. सुदर्शन सिलवाल- बागलुङ नेपालको प्रदेश नम्वर चार अन्तरगत पहाडी क्षेत्रमा पर्दछ । साविक धवलागिरी अञ्चलको अञ्चल सदरमुकामको रुपमा रहेको यस क्षेत्रको आकार प्रकार नेपालको नक्सा जस्तै छ । नेपालभित्रको सानो नेपाल भनेर बागलुङलाई चिनिन्छ । भौगोलिक नक्सा हेर्दा बागलुङ र नेपालको नक्सा सजिलै छुट्याउन सकिंदैन, अरुको हेराइमा नेपाल जस्तो देखिन्छ बागलुङ सायद त्यो भन्दा अब्बल छ भन्ने अनुभूति सबैले गरेको पाइन्छ । यस प्रकारको अनुभूति दिलाउने बागलुङ कूल १ हजार ७ सय ८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ (जिशिका, २०७२ ः १) । नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने बागलुङ पहाडी क्षेत्र भए तापनि प्राकृतिक रुपले सुन्दर, भौगोलिक रुपले विविधता, जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक रुपले विविधता भित्रको एकता, मौलिक संस्कृति, फरक पहिचान यसले बोकेको छ । प्राकृतिक साधन र स्रोतले सम्पन्न क्षेत्रमा यो पर्दछ । नेपालभित्रको सानो नेपाल, झोलुङ्गे पुल, लघुजलविद्युत, नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्ष, बागलुङ कालिका, निर्माण चरणमा रहेको पञ्चकोट धाम, घुम्टेको लेक, राडी पाखी, बुट्टेनली, भाँगो, टिमुर, सिल्टिमुर, गलकोट दरवार, वीरशाली पन्तको जन्मभूमि, आदिकवी भानुभक्त आचार्यको अध्ययनस्थल, हनुमाननाच आदि लगायतका फरक पहिचान र मौलिक संस्कृति यस क्षेत्रका विशेषताहरु छन् । आर्थिक कोरिडोरको रुपमा रहेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको अधिकांश भाग यसै क्षेत्रमा पर्दछ । तीनवटा संसदीय राजनीति क्षेत्र, १३ वटा इलाका, ५९ वटा गा.वि.स. र एकवटा नगरपालिका भएको बागलुङ जिल्ला नेपाल सरकारको २०७३ फाल्गुण २७ गते शुक्रबार राजपत्रमा प्रकाशित सूचना बमोजिम स्थानीय तहको नयाँ संरचनामा परिणत भएको छ । नयाँ संरचनाअनुसार जि.वि.स.को सट्टामा जिल्ला समन्वय समिति रहने गरी चारवटा नगरपालिका र ६ वटा गाउँपालिका रहने नयाँ व्यवस्था भएको छ (जिविस, २०७१; थापा र सिलवाल, २०७३) । यी स्थानीय तहहरुका लागि निर्वाचन समेत सफलता पूर्वक सम्पन्न भै नव निर्वाचित जनप्रतिनिधिहरुले आफनो कार्यभार समेत सम्हाली बागलुङको संमृद्धिका लागि नयाँ निति तथा कार्यक्रमहरु सार्वजनिक समेत गरी सकेका छन् । यस परिवर्तित सन्दर्भमा बागलुङको समग्र विकास के कसरी गर्न सकिन्छ, नागरिकलाई घरदैलोमा सरकारको उपस्थिति के कसरी गराउन सकिन्छ, जिल्लाको समृद्धि कसरी सम्भव हुन सक्छ भन्ने बारेमा अध्ययन अनुसन्धान हुनु आवश्यक छ । प्रस्तुत लेख मूलतः बागलुङको संमृद्धिका लागि स्थानीय सरकारको भुमिका के रहन सक्दछ सोको उजागर गर्न र समग्र विकासका सम्भावनाहरु पहिचान गर्नमा केन्द्रित रहनेछ ।विधि र प्रक्रिया यस लेखको मुख्य उद्देश्य बागलुङको संमृद्धिका लागि स्थानीय सरकारको भुमिका र विकासका सम्भावना खोजी गर्नु रहेको छ । उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा बागलुङलाई अध्ययन क्षेत्रको रुपमा चयन गरी अध्ययन कार्य गरिएको छ । यो अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै स्रोतका अध्ययन सामग्रीहरु उपयोगमा ल्याइएको छ । प्राथमिक स्रोतका सामग्रीहरु मूलतः अध्ययन क्षेत्र अवलोकन, विभिन्न पार्टीका नेताहरु, पूर्व जनप्रतिनिधिहरु, समाजसेवी एवम् बुद्धिजीवीहरु, शिक्षक तथा कर्मचारीहरु, सामाजिक कार्यकर्ताहरु, उद्योगी, पर्यटन व्यवसायी आदिसँगको औपचारिक एवम् अनौपचारिक अन्तरवार्ता एवम् छलफल, बागलुङ जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाहरुका निर्वाचित जनप्रतिनिधिहरु, सम्वन्धित गाउँपालिका र नगरपालिकाका सचिवहरु, उद्योगि, व्यापारी र स्थानीय बुद्धिजिबीहरु आदिलाई सहभागि गराई सञ्चालन गरिएको विचार गोष्ठि आदिको माध्यमबाट यस क्षेत्रका सम्भावनाहरुका विषयमा रायसुझावहरु सङ्कलन गरिएको छ । त्यस्तैगरी द्वितीयक स्रोतका सामग्रीहरुको सङ्कलनमा सरकारी अभिलेखहरु, गा.वि.स.÷जि.वि.स.÷जि.शि.का.ले प्रकाशित गरेका वस्तुगत विवरणहरु, विविध प्रतिवेदनहरु आदिलाई मुख्य आधार बनाइएको छ । यी सम्पूर्ण क्षेत्रहरुबाट प्राप्त हुन आएका सूचना एवम् जानकारीहरुको समीक्षा गरी यो लेख तयार गरिएको छ ।नेपालको राजनितिक परिवर्तन र बागलुङमा स्थानीय सरकारको संरचना नेपालको दोस्रो जनआन्दोलन २०६२÷०६३, नेपालको पहिलो संविधान सभाको निर्वाचन २०६४ र दोस्रो संविधान सभाको निर्वाचन २०७० को उपलब्धिको रुपमा नेपालको संविधान–२०७२ वि.सं.२०७२ असाज ३ गते जारी भएको छ । यससंगै नेपाल अहिले नयाँ युगमा प्रवेश गरेको छ । नेपालका जनताहरुले वर्षौदेखि उठाउंदै आएको स्वशासनको अधिकार, एकात्मक केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य, हरप्रकारका विभेद र उत्पीडनको अन्त्य, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताको पहिचान र मान्यता, आर्थिक समानता, सामाजिक न्याय र समानुपातिक समावेशी सहभागितामा जोड, बहुददलीय लोकतान्त्रिक शासन प्रणाली, जनताका अधिकारहरुको सुनिश्चितता आदि लगायतका व्यवस्था सहितको शासन व्यवस्था “नेपालको संविधान २०७२” को कार्यान्वयनसंगै कायम हुन पुगेको छ । नेपालको इतिहासको लामो कालखण्डमा ९० प्रतिशत सभासद्हरु (तराई–मधेशबाट प्रतिनिधित्व गर्ने १३२ सभासद् मध्ये ९१ जना, आदिवासी जनजाति १८२ मध्ये १६९ जना, महिला सभासद्, १७७ मध्ये १५५ जना, दलित सभासद् ३७ मध्ये ३६ जना र थारु सभासद् ३२ मध्ये २३ जना) को हस्ताक्षरबाट जारी भएको संविधानले (झण्डै ७० वर्ष लामो) जनचाहना पूरा गरेको छ । समृद्धिको आधारशीला निर्माण गर्न सोही अनुसारका नीति तथा कार्यक्रमहरुको तर्जुमा पनि भएको पाइन्छ । स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा आए पश्चात् नेपालको पुरानो संरचना पाँच विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला, जिल्ला विकास समिति, २१७ नगरपालिका, ३१५७ गाउँ विकास समिति स्वतः हटेका छन् । यिनीहरुलाई समायोजन गरी नयाँ संरचना निर्माण गरिएको छ । जसअन्तर्गत सघीय तह, प्रदेशतहमा प्रदेश र स्थानीय तहमा चार महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २४६ वटा नगरपालिका र ४८१ गाउँपालिका पर्दछन् । सबै तहको अधिकारहरु पनि तोकिएको छ । संघीय तहलाई ३५ वटा अधिकार दिइएको छभने प्रदेश तह र स्थानीय तहलाई क्रमशः २१ वटा र २२ वटा अधिकारहरु प्रदान गरिएको देखिन्छ (अन्नपूर्ण राष्ट्रिय दैनिक, २८ फागुन २०७३) । अधिकार प्राप्तिको लडाइ मुलतः अन्य भएको छ । नेपालको नयाँ परिवर्तित सन्दर्भ अनुसार बागलुङको स्थानीय तहको संरचना पनि परिवर्तन भएको छ । जिल्ला विकास समिति, एक वटा नगरपालिका र ५९ वटा गाउँपालिका समितिलाई समायोजन गरी जिल्ला समन्वय समिति, चारवटा नगरपालिका र ६ वटा गाउँपालिका बनाइएको छ । नगरपालिका र गाउँपालिकाको सिमानामा फेरवदल भएको छ । जनताको घरदैलोमा सेवा पुगेको छ । यसका साथै जनताहरुको काम, कर्तव्य र अधिकार, जिम्मेवारी एवम् दायित्व समेतमा वृद्धि हुन गएको छ । आफनो क्षेत्रको विकास गर्न आफै कस्सिनु पर्दछ भन्ने भावनाको विकास भएको छ । वडास्तरमा समेत सरकारको उपस्थिति भएको कारण स्थानीय विकासका लागि केन्द्रमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको देखिन्छ । नेपाललाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउूदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको निर्देशक सिद्धान्त बमोजिम संघीय संरचना निर्माण गरिएको छ । यस संरचना अनुसार बागलुङ एक वटा नगरपालिकाको सट्टामा चारवटा नगरपालिका र ५९ वटा गा.वि.स.को सट्टामा ६ वटा गाउँपालिका बनाई सीमा र केन्द्र समेत तोकिएको छ । बागलुङ नगरपालिका पुरानो कालिका, मूलपानी र लहरेपिपल मात्र सीमित नरही मालिका, पाला (वडा नं. ६, ७, ८ र ९), सिगाना (१–५, ७–९), तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटा, र नारायणस्थानसम्म फैलिन पुगेको छ । तर केन्द्र भने साविक बागलुङ नगरपालिका नै तोकिएको छ । गलकोट नगरपालिकामा हटिया, हरिचौर, नरेठाँटी, दुदिलाभाटी, पाण्डवखानी, रिघा, मल्म र काँडेबास गरी ८ वटा गा.वि.स. मिलाई मजुवाफाँटमा केन्द्र बनाइएको छ । त्यस्तै जैमिनी नगरपालिकामा कुश्मीसेरा, सर्कुवा, पैयूँथन्थाप, विनामारे, अर्जेवा, छिस्ती, दमेक र राङखानी, जैदी गरी ९ वटा गा.वि.स. मिलाइएको छ र यसको केन्द्र कुश्मीसेरा बनाइएको छ । बागलुङको सबैभन्दा टाढा रहेको नगरपालिका ढोरपाटन नगरपालिका हो र यसमा बुर्तिबाङ, खुंगा, अधिकारीचौर र बोबाङ गरी चारवटा गा.वि.स. गाभिएको छ । यस नगरपालिकाको केन्द्र बुर्तिबाङ बनाइएको छ । त्यस्तैगरी काूठेखोला गाउँपालिका (बिहुँकोट, रेश, लेखानी, तंग्राम, भिमापोखरा, धम्जा, सिगानाको एकवडा वडा नं. ६ र पालाको १,२,३,४,५ वडा) मा आठ वटा गा.वि.स. समावेश गरी विहुँ सुुल्डाँडा केन्द्र तोकिएको छ । ताराखोला गाउँपालिका (अमरभूमि, अर्गल, हिल र ताराखोला) मा चारवटा गा.वि.स. राखी अर्गलको भातखाने डाँडामा केन्द्र बनाइएको छ । निसी, देविस्थान, राजकुत र बोहोरागाउँ मिलाएर निसीखोला गाउँपालिका बनाइएको छ र देविस्थानमा केन्द्र तोकिएको छ । तमान, बोङ्गादोभान र खुंखानीलाई मिलाएर बोङ्गादोभान केन्द्र रहनेगरी तमानखोला गाउँपालिका बनाइएको छ । ग्वालीचौरमा केन्द्र रहने गरी दर्लिङ, भिमगिठे, रणसिंहकिटेनी, जलजला, ग्वालीचौर, दगातुन्डाँडा र सिसाखानी गा.वि.स.लाई मिलाएर बढीघाट गाउँपालिका बनाइएको छ । बरेङ सुडालामा केन्द्र रहने गरी सल्यान, सुखौरा, बाटाकाचौर, धुल्लुबास्कोट र हुग्दीशिर मिलाएर बरेङ गाउँपालिका बनाइएको देखिन्छ । बागलुङमा बनाइएका स्थानीय तहका नयाँ संरचनाहरुलाई हेर्दा ४ वटा नयाँमध्ये जनसङ्ख्याको हिसावले बागलुङ नगरपालिका (कूल जनसङ्ख्या ५७,८२३) र क्षेत्रफलको हिसावले हेर्दा ढोरपाटन नगरपालिका (कूल क्षेत्रफल २२२.८५ वर्ग कि.मी) सबैभन्दा ठूला र क्षेत्रफलमा सानो बागलुङ नगरपालिका (९८.०१ वर्ग कि.मी.) तथा जनसङ्ख्यामा सानो ढोरपाटन नगरपालिका (कूल २६२१५) रहेको छ । त्यस्तैगरी ६ वटा गाउँपालिका मध्ये जनसंख्याको हिसावले सबैभन्दा ठूलो बडिगाड गाउँपालिका (कूल ३०,९०६ जना) र सानो तमानखोला गाउंपालिका (कूल १०,६५९ जना) भएको देखिन्छ (संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रतिवेदन, २७ फाल्गुण २०७३; सिलवाल, २०७३) ।बागलुङका आर्थिक संमृद्धिका सम्भावनाहरु आर्थिक संमृद्धि कुनै भावनात्मक विषय होइन । यो त अर्थतन्त्रका बृहत चरहरुमा आउने अनवरत र सकरात्मक परिवर्तन हो । कल्पनाको महल बनाउँदैमा यसमा पुग्न सकिदैन् । यसका लागि लगानी र दृढ इच्छा शक्तिको आवश्यकता पर्दछ । आवश्यकतामा आधारीत प्रष्ट निति तथा कार्यक्रमहरुको तर्जुमा र तिनिहरुको सफल कार्यान्वयनबाट मात्र मुलुकलाई संमृद्धिमा लान सकिन्छ । यो स्तरमा पुग्न निति र प्रवृतिमा परिवर्तन हुनु पर्दछ । स्थान विशेषका संम्भावना र चुनौतीहरु पहिचान हुनु पर्दछ । बागलुङ जिल्लामा आर्थिक संमृद्धिका असीमित सम्भावनाहरु रहेका छन् । संमृद्धिका लागि ती सम्भावनाहरुको पहिचान एवम् उचित व्यवस्थापन हुनु पर्दछ । बागलुङ नगरपालिकाको सन्दर्भमा हेर्ने होभने व्यापार, व्यवसाय, कृषि, पर्यटन आदि विकासका आधार हुन् । बलेवामा आयत–निर्यात केन्द्र व्यापार, बागलुङ बजारमा व्यापार, विहुं, सिगाना, तित्याङ, भकुण्डे र मालिका सुन्तला, कागतीको पकेट क्षेत्र, बागलुङ कालिका, पञ्चकोट धाम, संसारकोट, भकुण्डे धुरी, भैरवस्थान मन्दिर, कालीगण्डकीमा उत्तरमा नगरपालिकाको सिमानादेखि बेलवगरसम्म ¥याफ्टिङको व्यवस्था, भकुण्डेमा होम–स्टेको व्यवस्था, सामुदायिक बगैचा र मिनी जुको निर्माण आदि मार्फत् पर्यटन प्रवद्र्धन, धौलागिरी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा परिणत, शिक्षामा गुणस्तरीयता र प्राविधिक शिक्षाको व्यवस्थापन, साविकको धौलागिरी अञ्चल अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण, बाङ्गेचौरमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला निर्माण, कुँडुले, बलेवा बा.न.पा.७ र भकुण्डेको धुरीमा पम्पिङ सिस्टममार्फत् सिंचाई तथा खानेपानीको व्यवस्थापन, बागलुङ बजारमा झण्डै हजारजना क्षमता भएको सिटीहल निर्माण, नगरपालिकाको उपल्लो बेल्टमा पशुपालन समेत गर्न सकिने प्रवल सम्भावना देखिन्छ (जनक पौडेल तथा अन्यसंग विभिन्न समयमा लिएको अन्तरवार्ता, २०७४) । गलकोट नगरपालिकालाई आधुनिक, सुविधा सम्पन्न शहरको रुपमा विकास गर्नुपर्दछ । यस नगरपालिकामा घुम्टेको लेक, निलुवा लेक, मतिमारे, डुडे लेक, गाईघाट, राडीपाखी, स्लेट ढुंगा, तामाखानी, जडिबुटीहरु, जलस्रोत, खेतीपातीका लागि उपयुक्त जमिन, पशुपालनका लागि जंगल आदि लगायतका सम्भावनाहरु रहेका छन् (देवेन्द्र खत्री तथा अन्यसूग विभिन्न समयमा लिएको अन्तरवार्ता,२०७४) । जैमिनी नगरपालिकामा पर्यटन व्यवसाय (माइस्थान मन्दिर, जैमिनिघाट, हाडिकोट धुरी, तारेभिर, नामदुक धुरी), कृषि, पशुपालन र हाइड्रोपावर निर्माण गर्न सकिने सम्भावना छ । त्यस्तैगरी ढोरपाटन गरपालिकामा नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण, ढोरपाटन ताल बराह मन्दिर, रुद्र ताल, बौद्धगुम्वा, प्राकृृतिक चिकित्सालय, नेपालका निर्माणाधीन १० वटा व्यवस्थित सहर मध्येको बुर्तिबाङ बजार आदि भएको हुँदा पर्यटनको प्रवल सम्भावना छ । हाइड्रो पावरको हिसावले यो क्षेत्र अत्यन्त उर्वर मानिन्छ । उत्तरगंगामा जलाशययुक्त ३ सयदेखि ७ सय मे.वा.सम्मको हाइड्रोपावर निर्माण गर्न सकिने सम्भावना छ । आलु, पशुलापन र सुन्तलाको लागि बोबाङ उर्वर क्षेत्र भएको जानकारहरुले बताएका छन् (इन्द्रलाल सापकोटासंग लिएको अन्तरवार्ता, १२ चैत्र २०७३; देवकुमार नेपालीसंग लिएको अन्तरवार्ता, २५ असार २०७४) । यसको लागि उत्तरगंगा, निसीखोला, तमानखोला, भुजीखोला लगायतका सबैलाई समेट्ने गरी विद्युतको ट्रान्समिसन लाईन निर्माण, उत्तरगंगामा वृहत् ताल निर्माण, पर्यटकीय पूर्वाधार विकास लगायतका कार्यहरु गर्न ढोरपाटन विकास समिति बनाई एकीकृत विकासको प्रक्रिया थालनी गर्नुपर्दछ । यी सबै सम्भावनाहरुलाई व्यवहारमा उतार्न र प्राप्त उपलब्धिलाई जनतासामु समानुपातिक ढङ्गले पस्किन स्थानीय सरकारको भूमिका अधिक रहन्छ । यस्तै गरी बागलुङमा नयाँ संरचना अनुसार निर्माण गरिएका गाउँपालिकाहरुमा पनि धेरै सम्भवनाहरु रहेका छन् । काँठेखोला गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ । विहुँकोट, रेश, तंग्राम, धम्जा आदिका क्षेत्रहरुमा सुन्तला, कागती, चिया र पशुपालनका लागि पकेट क्षेत्र बनाउन सकिने सम्भावना देखिन्छ । बागलुङ बजारलाई उपलब्ध गराइएको खानेपानीको स्रोत यही गाउँपालिकामा नै रहेको हुँदा यसलाई आयको दीगो स्रोत बनाउन सकिन्छ । रामकोट मन्दिर, घोडाबाँधे, थाप्लेको धुरी, गाजाको दह, फलामखानी (धम्जा), तामाखानी (हलहले), अर्गानिक उत्पादन आदिले गर्दा पर्यटन क्षेत्रलाई मुख्य स्रोत बनाउन सकिने सम्भावना रहन्छ । गाजाको दह क्षेत्र, घोडाबाँधे क्षेत्र र धम्जाको माथिल्लो क्षेत्रलाई लाली गुराँस क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यसको लागि सडक, शिक्षा र पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्दछ । तारा गाउँपालिकामा आलु, भाँगो, टिमुर उत्पादन गर्न सकिने अवस्था छ । लोठसल्ला, लोक्ता, अल्लो (तारा, हिल, अर्गल) जस्ता जडिबुटीहरु होमस्टे, हाइड्रोपावर, ढुंगाखानी, मार्वल, मत्स्यपालन, पशुपालन र पर्यटन (गाईघाट, भुत्याहाको गल्छि, घुम्टे धुरी) को राम्रो सम्भावना देखिन्छ । बढीगाड गाउँपालिकामा खानी, जलविद्युत, कृषि र पर्यटनको निकै सम्भावना छ । फलामखानी, स्लेट ढुंगाखानी, तामाखानी (रणसिंहकिटेनी, जलजला), सिसाखानी (सिसाखानी), सुन्तला, अदुवा, बेसार (सिसाखानी, दगातुन्डाूडा), अलैंची (जलजला), कफि (ग्वालीचौर, दगातुन्डाँडा, भिमगिठे), शिवधुरी (रणसिंहकिटेनी), होमस्टे (जलजला, दगातुन्डाँडा), चमेरे गुफा (ग्वालीचौर), थानापति मन्दिर (ग्वालीचौर), खड्गदेवी मन्दिर (दगातुन्डाँडा), बडिगाड २ देखि गुल्मीको मुसिकोट नगरपालिकासम्म आकाशेपुल, नेपालको पश्चिमका १८–२० वटा जिल्लासम्म दृश्यावलोकन गर्न सकिने जलजलाको धुरी लगायतका सम्भावनाहरु यस क्षेत्रमा रहेको देखिन्छ । नुहाउनको लागि खरबाङ चिउरी हर्वल साबुन (खरबाङ) को उत्पादन झण्डै ५०० जति भेडा बाख्रापालन (रणसिंहकिटेनी), माहुरीपालन आदि व्यवसाय अहिले पनि सञ्चालनमा रहेको पाइन्छ । यसका साथै यस गाउँपालिकाका खरबाङ, ग्वालीचौर, खाराखोला, भिमगिठे बजारलाई व्यापारिक केन्द्रको रुपमा र भिमगिठे, दगातुन्डाँडा, ग्वालीचौर, सिसाखानीको तल्लो क्षेत्रमा मत्स्यपालन समेत गर्न सकिने प्रवल सम्भावना छ (मेयरसिंह पाइजा र विष्णु भुषालसंग लिएको कुराकानीमा आधारित जानकारी, १३ चैत्र, २०७३; स्थलगत अवलोकन, २०७४) । त्यस्तैगरी निसी गाउँपालिकामा कृषि, खानी र पर्यटनको सम्भावना छ । सुन्तला, अदुवा, बेसार, अलैंची (बोहोरागाउं, देविस्थान र तल्लो निसी), आलु र बाख्रापालन (उपल्लो निसी), ढुंगखानी (निसीको हरिपनी र काडा), तिलाचन ताल (निसी), निसीदेखि ढोरपाटनसम्म केवलकार, उत्तरगंगा र निसीखोलामा विजुली उत्पादन, तरकारी खेती, माहुरीपालन तथा मत्स्यपालन आदि समेत गर्न सकिने सम्भावना निसी गाउँपालिकामा रहेको देखिन्छ (भूमिराज घर्तीसंगको अन्तरवार्ता, १३ चैत्र २०७३) । तमान र बरेङ गाउँपालिकामा पनि पर्यटन, कृषि, जडिबुटी र पशुपालनको राम्रो सम्भावना रहेको देखिन्छ । यी सबै सम्भावनाहरुलाई व्यवहारमा उतार्नका लागि सडक सञ्जाल निर्माण, शिक्षा, सुविधायुक्त अस्पताल निर्माण, पर्यटकीय पूर्वाधारहरुको विकास आदिलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरी कार्यान्वयन गर्न सकेमा बागलुङको आर्थिक संमृद्धि सम्भव हुन सक्दछ ।निश्कर्ष तथा सुझावहरु बागलुङको समग्र विकास गर्नका लागि उल्लिखित सम्भावनाहरुलाई मध्यनजर गर्दै आर्थिक संमृद्धिको परिकल्पना गर्नुपर्ने बेला आएको छ । नेपालको संविधान २०७२ ले पनि स्थानीय तहलाई समृद्ध बनाउनको लागि राजश्व सङ्कलन, शिक्षा, स्वास्थ्य, स्थानीय सेवा व्यवस्थापन, सडक, कृषि, पशुपालन, जलविद्युत, खनिज सम्पदा, भाषा, संस्कृति, ललितकला लगायतका २२ वटा अधिकारहरु उपलब्ध गराइएको छ । योजना तर्जुमा, प्राथमिकता निर्धारण, स्रोत व्यवस्थापन, योजना कार्यान्वयन, उपब्धी वितरण तथा योजनाको संरक्षण लगायतका अधिकार स्थानीय तहलाई दिई स्वायत्त र शक्तिशाली निकाय बनाइएको छ । जनतालाई घरदैलोमा सेवा दिई स्थानीय विकास मार्फत् सुदृढ एवम् आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्य राज्यले लिएको छ । यस परिप्रेक्ष्यमा बागलुङको स्थानीय सरकारले पनि क्षेत्र विशेषका विकासका कार्यक्रमहरु तयार गरी अगाडि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।यसरी बागलुङ सम्भावना नै सम्भावनाहरुको खानी हो । सिङ्गो नेपालको विशेषता बोकको क्षेत्र हो । झोलुङ्गे पुल, माइक्रोहाइड्रो÷हाइड्रोपावर, हनुमान नाच, राडीपाखी, बुट्टेनली, सिस्नो, अल्लो, नेपाली कागज, भागो, टिम्मुर, जटिवुटीहरु (सतुवा, कालकुट विष, निर्विष÷निरमौसि÷निरबौसी, एक्लेबिर, भुतकेश, जटामशि, सुगन्धवाल, सर्पगन्ध, चिराइतो, पाषणभेद, रक्तमुल, गुर्जो, घोडटाप्रे, अभिजालो, पॉचऔंले, कुट्की, लसुनेसाग, कुकुरडाइनो, गोलकाक्रि आदि), खानीहरु, मौलिक संस्कृती, मेलाजात्रा, जैविक विविधता, ढोरपाटन शिकार आरक्षण, घुम्टेको धुरी, बागलुङ कालिका, पञ्चकोटधाम, भैवरस्थान मन्दिर, सरकारी क्याम्पस, अञ्चलस्तरीय अस्पताल, प्राकृतिक सौन्दर्यता लगायतका आर्थिक सम्भावनाहरु बागलुङमा रहेको देखिन्छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको अधिकांश भाग यसै क्षेत्रमा पर्ने भएको हु‘दा व्यापारिक केन्द्र यो क्षेत्रलाई बनाउन सकिन्छ । प्रदेशस्तरीय शैक्षिक तथा अनुसन्धान केन्द्र निर्माण गर्न सकिने प्रसस्त आधार यहाँ छन् । व्यावसायिक कृषि, धार्मिक एवम् शाहसिक पर्यटन, पशुपालन, जटिवुटि उत्पादन तथा प्रशोधन केन्द्र, प्रदेशस्तरीय रङ्गशाला निर्माण, कालीगण्डकी नदीमा र्याफ्टिङ, साइकल यात्रा, होमस्टे, माहुरीपालन, विभिन्न स्थानमा केवलकार निर्माण, सुविधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण, सुन्तला, आलु, अलैची, अदुवा,बेसार, चिया, बाख्रापालन आदि उत्पादनको पकेट क्षेत्र निर्माण, पम्पिङ प्रणालीबाट खानेपानी तथा सिंचाईको व्यवस्था, आकाशे पुल निर्माण, सामुदायिक वनलाई सामुदायिक सुन्दर वगैंचामा रुपान्तरण गरी मिनि जु निर्माण, लिफ प्लेट उद्योग, विभिन्न फलफुलमा आधारित जाम उद्योग, नेपाली कागज उद्योग, इटा÷क्रशर उद्योग, स्लेट ढुङ्गा÷मार्वल उद्योग, नर्सरी व्यवस्थापन आदि लगायतका अर्थोपार्जनका सम्भावना यो क्षेत्रले बोकेको देखिन्छ । यी सवै क्षेत्रको विकास मार्फत सम्बृद्ध बागलुङ निर्माण गर्न सकिन्छ । यसको लागि स्थानीय सरकारले स्थानीय सम्भावना, आवश्यकता र जनचाहना बमोजिमका निति तथा कार्यक्रमहरु तय गरी अगाडि बढ्नु पर्दछ । सडक सञ्जाल, शिक्षा र विद्यमान स्रोतको उचित व्यवस्थापन मार्फत यी आर्थिक संमृद्धिका सम्भावनाहरुलाई व्यवहारमा उतार्न सकिन्छ । (त्रिभुवन विश्वविद्यालय नेपाल)
Previous Articleउत्पादन बढाउने लक्ष्यमा आधारित अनुदान नीति
Next Article विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड