बागलुङ, ११ भदौ – हिन्दू धर्मावलम्वी नारीहरुले मंगलबार सप्तऋषिको पूजा गरी यस वर्षको तीज पर्वलाई विदाइ गरेका छन् । तीजका व्रतालुले सप्तऋषिको पूजा नगरे व्रत पूरा नहुने र फल पनि नपाइने धार्मिक विश्वास छ । तीजमा व्रत बसेकाहरुले ऋषि पञ्चमीको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया, पोखरी वा आफ्नै घरमा स्नान गरी ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गर्ने गर्दछन् । स्नान गर्दा टाउकोमा चाल्नो राखेर पानी खन्याउने प्रचलन रहिआएको छ । यसरी स्नान गरिसकेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ । सप्तऋषिको पूजा गर्नाले रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए ‘पाप’बाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । देशभर रहेका सप्तऋषिका मन्दिरहरुमा विवाहित तथा अविवाहित ब्रतालु नारीहरुको घुइँचो लागेको थियो । ऋषिहरुको पूजा गरिसकेपछि चोखो खाने र नाचगान गरी तीजलाई विदाइ गर्ने प्रचलन छ ।