काठमाडौं, ११ भदौ – राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छभने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । शनिबारसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् । दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनता बीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताए । उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ ।
टोलीमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, शरदसिंह भण्डारी लगायतका नेता सहभागी थिए ।