बागलुङ, १० भदौ – बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुस ७ देखि १५ गते सम्म पाँचौं महोत्सव हुने भएको छ । संघको कार्यसमिति बैठकले उक्त समयमा महोत्सव गर्ने निर्णय गरेको हो । जिल्लामा उत्पादन हुने सामाग्रीलाई बजारीकरण गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने तथा लघु तथा घरेलु उद्योगको प्रवद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको संघका अध्यक्ष जयराम भारीले बताए । महोत्सवमा जिल्लामा सबै जाती, भाषा, संस्कृतिको संरक्षण र सम्मान गर्ने लक्ष् समेत राखिएको छ । महोत्सवका लागि आवस्यक अन्य निर्णय र काम क्रमश गर्दै जाने योजना बनाईने प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । संघले देशमा आएको बाढीपिडितलाई सहयोग गर्ने पनि बताएको छ । उक्त अभियानमा संघले संस्थागत रुपमा १० हजार रुपैयाँ र अध्यक्ष सहित पदाधिकारी समेतले ६५ हजार रुपैयाँ संकलन गरेर दैविप्रकोप राहत कोषमा पठाउने निर्णय पनि गरेको बताइएको छ । बैठकले स्थानीय तह निर्वाचन पछि आएको जनप्रतिनिधिहरुको नगर समितिले व्यवसाय करमा गरेको वृद्धि प्रति भने चिन्ता व्यक्त गरेको छ । अप्रत्याशित रुपमा वृद्धि गरिएको करलाई समायोजन गरिनुपर्ने भारीले अनुरोध पनि गरेको बताए । नगरपालिकाले २ सय देखि ५ सय प्रतिशत सम्म कर वृद्धि गरेको व्यवसायीले गुनासो गरेका छन् । करका दायरा बढाएर दर घटउन पनि उनीहरुले आग्रह गरे ।