एसिडिटी अर्थात अम्लपित्त नेपालीहरुको आम समस्या हो । यसलाई नेपालीमा ग्याष्ट्रिक पनि भन्ने गरिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानको कारण एसिडिटीको समस्या हुनेगर्छ । ग्यास वा एसिडीटीको समस्या भएमा पेटमा जलन हुने, पेट दुख्ने, अमिलो पानी आउने गर्छ । अस्वस्थ्यकर खाना, समयमा खाना नखानु नै यसको प्रमुख कारण हो । किन हुन्छ ?ः एसिडिटी हुनुको मुख्य कारण भनेको खानपिनमा हुने लापरवाही होे । अर्थात अनियमित खानपानले एसिडिटी निम्त्याउँछ । एकसाथ धेरै खानेकुरा वा अपच हुनेगरी खाँदा एसिडिटी हुन्छ । अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा पनि एसिडिटीको कारण हुन् । चुरोट सेवन गर्ने, मदिरा पिउनेलाई एसिडिटीले सताउँछ । वासी खाना, दुधको चिया, कफीले पनि यो समस्या बढाउँछ । खाना खानसाथ सुत्नाले पनि एसिडीको समस्या हुने गर्छ । कसलाई हुन्छ ?ः समयमा खाना नखाने, मसलेदार वा मीठो मसिनो खानेकुरमा जोड दिने, मदिरापान गर्ने एसिडिटीको सिकार हुन्छन् । राती खानसाथ सुत्नेहरुलाई पनि एसिडिटी हुन्छ । जथाभावी खाना खाने तर, व्यायाम नगर्ने एवं निस्क्रिय जीवन विताउनेहरुलाई एसिडडिटी हुन्छ । कसरी थाहा पाउने ?ः अचानक डर लाग्नु, सास लिन समस्या उत्पन्न हुनु, पेट दुख्ने वा जलन हुने, पेट फुल्ने, मुखमा अमिलो पानी आउनु, वान्ता हुनु, भोक नलाग्नुर खान मन नलाग्नु, अमिलो डकार आउनु, छाती पोले एसिडिटी भएको थाहा हुन्छ । कसरी बच्ने ?ः एसिडिटीबाट बच्न सबैभन्दा पहिले खानपानको तालमेल बनाउन जरुरी छ । त्यसको लागि तारेको तथा अत्याधिक मसला प्रयोग गरिएको खानबाट बच्नु पर्छ । त्यस्तै , विहान खाली पेटमा मनतातो पानीको सेवन तथा नेपाली लसुुनको प्रयोगले पनि एसिडीटी हुनबाट बचाउँछ । दैनिक नरिवल पानीको सेवन तथा गर्नाले पनि कव्जियत लगायत एसिडीको समस्या कम हुन्छ । एसिडिटी हुनेले घरमै बनाएको खाना खान आवश्यक छ । त्यस्तै, आवश्यक भन्दा कम खाना खाने, राती सुत्नु अगाडी मन तातो दूधको सेवन गर्नाले पनि एसिडीटीको समस्या कम हुन्छ । त्यस्तै, खाना खादाँ पचाएर खाने, समय समयमा खाना खाने, राती सुत्नुभन्दा करिब तीन घण्टा अगाडी खानाको सेवन गर्ने, समय समयमा खाना खाने गर्नु पर्छ । घरेलु उपायः एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ । त्यस्तै, एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन । दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हींग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुल्दैन । –एजेन्सीको सहयोगमा