म्याग्दी, ८ भदौ-जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरू गरेका छन् । नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम शुरू भएपछि स्थानीयले रोजगारका अवसरका साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको दुई हजार ३ सय मिटर लामो टनेलमा ९७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्यले तीव्रता पाएको छ । उता निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रोपावरले ६२ मेगावाट र हुवाखोला जलविद्युत् आयोजनाले ३८ मेगावाट उत्पादन लक्ष्यसहित सडक, मजदुरलाई आवास गृह लगायतका संरचना निर्माण कार्य शुरू गरेको छ । अन्नपूर्ण बेस क्याम्पको फेदमा बाँध राख्ने तयारी गरिएको आयोजनाले हुवाखोलादेखि छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको छ । यी दुवै आयोजना निलगिरि हाइड्रोपावरले सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले समेत सर्वे, पानी जाँचलगायतका काम गरिरहेको छ । ‘उत्तरी म्याग्दीको विकासमा जलविद्युत् कोशेढुंगा सावित हुनेछ । ऊर्जालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ’ अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर बरुवालले बताए । –रासस
Previous Articleमहेन्द्र प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Next Article एसिडीटी के हो ?