बागलुङ, ७ भदौ-बानपा—३ रात्माटामा रहेको धौलागिरी वीरेन्द्र मावि अगुवा स्रोत केन्द्र र तित्याङ श्रोत केन्द्रका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि एक दिवशीय प्रश्न निर्माण कार्यशाला सम्पन्न गरिएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजना तथा करुणा शिक्षण काठमाण्डौँको सहयोगमा उक्त कार्यशाला सम्पन्न भएको हो । दुवै स्रोत केन्द्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकको समेत आयोजना गरिएको थियो । कार्यशालालाई सम्वोदन गर्दै जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले शिक्षकहरुले अध्ययन अध्यापनको साथै प्रश्न निर्माणमा विविधता ल्याउनुपर्ने बताए । पढाई जतिसुकै राम्रो र विषयवस्तुमा दक्ष भएपनि प्रश्न सोध्ने शैली उपयुक्त नहुँदा सिकाइ उपलव्धि हासिल नहुने बताउँदै हरेक शिक्षकहरुले प्रश्न निर्माण सीप हासिल गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा करुणा शेरचन काठमाण्डौँका कार्यक्रम संयोजक सौरभ राना, स्रोतव्यक्ति समाज बागलुङका अध्यक्ष विष्णुप्रसाद सापकोटा, सिगाना मावि तित्याङका प्रधानाध्यापक गोपालकुमार शर्माले मन्तव्य व्यक्त गरेका थिए । तित्याङ मावि स्रोत केन्द्रका स्रोतव्यक्ति उमानाथ अधिकारीको अध्यक्षता, मूलपानी माविका प्रधानाध्यापक चुडामणि सुवेदीको स्वागत मन्तव्य र अगुवा स्रोतकेन्द्र रात्माटाका स्रोतव्यक्ति ढकबहादुर पुनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै दुवै स्रोत केन्द्रका प्रधानाध्यापकहरुको बैठकले कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाको अध्यक्षतामा ५ सदस्यीय प्रश्न पत्र निर्माण समिति गठन गरेको स्रोतव्यक्ति ढकबहादुर पुनले बताए । जस्को सदस्यहरुमा मालिका माविका प्रधानाध्यापक सोपबहादुर थापा, सिँगाना मावि लामिचौरका शिक्षक लोकबहादुर खड्का, तित्याङ माविका शिक्षक भूपेन्द्र खड्का र धौलागिरी वीरेन्द्र माविका शिक्षक चन्द्रादेवी शर्मा रहेका छन् । नमुना प्रश्न पत्र निर्माण गरी प्रत्येक विद्यालयहरुमा उपलव्ध गराउने संयोजक सापकोटाले बताए ।
Previous Article२०७४ भाद्र ७ गते बुधबारको राशिफल
Next Article आश्रमलाई सामाग्री र नगद सहयोग