काठमाडौं, ५ भदौ -नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भइरहेको छ । विहानदेखि १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म जारी रहने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
अध्यक्षका तीन जना प्रमुख प्रतिस्पर्धीहरुले संगै भोट खसालेका छन् । अध्यक्षका लागि गोविन्द आचार्य, तीर्थ कोइराला र उजिर मगरले सँगै एउटै मत पेटिकामा भोट खसालेको दृश्य देख्न सकिन्थ्यो । अध्यक्षमा इन्द्रबहादुर राउत र भावना विद्रोहीले पनि उम्मेदवारी दिएका छन् । स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दिएका उजिर मगरलार्इ प्रेस सेन्टरले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ ।
मतदान गर्न सहज होस् भनी निर्वाचन स्थलमा अलगअलग प्रदेशका मतदाताहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।विभिन्न जिल्लाबाट आएका पार्षदहरु मतदान गर्न अहिले पनि लाइनमा बसेका छन् । प्रतिस्पर्धी उम्मेदवारहरु मतदान गर्न लाइनमा बसेका मतदाताहरुसँगै लाइनमा बसेर भोट मागिरहेका छन् । यसपटक झण्डै १५०० मत खस्ने अनुमान गरिएको छ ।
मतदान सकिए लगत्तै संचारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा मतगणना सुरु गरिने जनाइएको छ । महासंघको २५ औं महाधिबेशनबाट ४५ सदस्यीय नयाँ कार्यसमिति चयन हुँदै छ ।