म्याग्दी, ५ भदौ- उमेरले ८० नाघेका बेनी नगरपालिका–१ रत्नेचौरका अम्बर बहादुर थापालाई हिजोआज कपीकलप प्यारो लाग्छ । विहानै उठ्ने, घरको काम गर्ने र गाउँलेसंग भलाकुसारी गरी दिन काट्ने गरेका थापा दिनभर नाति–नातिनाको उमेरका विद्यार्थीहरू संग गाउँमा रहेको भानु माविको कक्षा १ मा विताउने गरेका छन् । पुर्व भारतीय सेना समेत रहेका थापाले किताव र कापी लिएर विद्यालयमा पुग्दा कलिला विद्यार्थीले स्वागत र शिक्षकले सहयोग गर्ने गरेको बताउँछन् । ‘शिक्षा विना यो सृष्टि चल्दैन्,उमेरले पाको भएपनि ज्ञान आर्जनमा कलिलै छु’ थापाले भने । उनले भारतीय सेनाबाट अवकाश पाएपछि पढाईलाई निरन्तरता दिने सोच बनाएपनि परिस्थितिले साथ नदिएको बताए । दैनिक विद्यालयमा जाँदा अक्षर चिन्न सजिलो भएको बताउँदै प्राथमिक तहसम्मको अध्ययन गर्ने धोको रहेको बताए । ‘अंग्रेजीमा राम्रो बोल्ने धोको छ, पहिले बुद्धि पुगेन अहिले रहर गरेको छु’ थापाले भने ।विहानै उठ्ने गरेका थापाले झोलामा किताव लिएर विद्यालय जाँदा गाउँलेले समेत बधाई दिने गरेको बताए । केही गाउँलेले हाँसोमा उडाउने गरेपनि आफुँले राम्रो पढेर समाजलाई देखाउने धोको रहेको बताए ।थापालाई कक्षामा बालबालिकाले साथीजस्तै ब्यवहार गर्ने गरेका छन् । ‘उहाँले अंग्रेजी र गणितमा राम्रो विद्यार्थी बन्ने योजना बनाउनुभएको छ । हामीले आवश्यकता अनुसार सहयोग गरेका छौ’ विद्यालयका प्रधानध्यापक भरत खत्रीले भने । नियमित विद्यालयमा आउने गरेका थापालाई कक्षा कोठामा समेत सहज वातावरण बनाउन र शिक्षकले समेत प्राथमिकता दिने गरेको प्रअ खत्रीको भनाई छ । ‘सिक्नलाई उमेरले छेक्दैन्, निरक्षर गाउँलेका लागि उहाँ प्रेरणा बन्नुभएको छ’ खत्रीले भने । उनले जिल्ला शिक्षा कार्यालय मार्फत सञ्चालित साक्षरता कार्यक्रम मार्फत धेरै महिलाले जीवनमा नसोचेको परिवर्तन आएपनि पुरूषलाई सहज नभएको अवस्थामा विद्यालय गाउँमा रहेका निरक्षरलाई समेत विद्यालयको पहुँचमा ल्याएर कक्षर चिनाउने अभियानमा सहभागिता गराउने बताए । साक्षर वडाको घोषणा भइसकेको रत्नेचौरमा ६० काटेका अभिभावकलाई अक्षर चिन्ने वातावरण मिलाइएको विद्यालयले जनाएको छ । जिशिका म्याग्दीका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले आगामी कात्तिक महिनामा साक्षर जिल्ला घोषणा गरिने बताए । ‘गाउँगाउँमा अक्षर चिन्ने लहर चलेको छ । आफ्नो ब्यस्त घरायसी कामलाई समेत छोडेर समुहमा सिक्नेको संख्या अत्याधिक छ’ रेग्मीले भने । उनका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा १५ देखी ६० बर्ष उमेर समूहको कुल जनसंख्या मध्ये हरेक वडामा ९० प्रतिशत भन्दा धेरै रहेकाले साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको बताए । जिल्लामा बैदेशिक रोजगारमा गएका आफन्तले सामाजिक सञ्जाल र स्काईप, भाईबर प्रयोगमा बृद्धबृद्धालाई आर्क्षित गर्न थालेपछि अक्षर चिन्न नजिकका साक्षर कक्षाहरूमा पुग्ने गरेका छन् ।