बागलुङ, ४ भदौ – युवा तथा साना व्यवसायी कोषको सहयोगमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित युवा स्वरोजगार कार्यक्रमको ऋणिहरुलाई व्याज फिर्ता गरिएको छ । प्रगति बहुउद्देश्यीय सहकारीले युवा स्वरोजगार कार्यक्रम अन्तरगत युवा तथा साना व्यवसायीहरुलाई लगानी गरिएको ५० लाख फिर्ता गर्ने उत्कृष्ट ४२ जना व्यवसायीहरुलाई शनिबार ४ लाख ७३ हजार ७ सय २६ रुपैयाँ व्याज फिर्ता गरेको छ । उक्त कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय बागलुङका डिभिजन अधिकृत विष्णु प्रसाद शर्माले युवा स्वरोजगारको कार्यक्रमबाट युवा तथा साना व्यवसायीहरुलाई व्यवसाय गर्नमा धेरै राहत मिलेको बताएका थिए । उनले उक्त कार्यक्रमले युवाहरुलाई व्यवसाय गर्नको लागि केही राहत मिल्नुको साथै व्यवसाय तर्फ आकषर्ण गरेको बताएका थिए । कर्याक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, काँठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, संस्थाका सल्लाहकार डिल्लीराज गौतम र व्यवसायी गंगाबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा (कुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष तोयानाथ गौतम र संचालन सचिव उदयचन्द्र चापागाईले गरेका थिए । यस्तै उक्त अवसरमा सहकारीले आफ्ना महिला शेयर सदस्यहरुलाई दरखाने कार्यक्रम पनि गरेको थियो । नेपाली महिलाहरुको महानचाड हरितालिका तिजको अवसर पारेर सहकारीले महिलाहरुलाई दरखाने कार्यक्रम गरेको हो ।