बागलुङ, ४ भदौ – निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिएको छ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी शनिबार सकिएको निर्वाचन आयोगले जनाएको छ । गत साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय बागलुङमा नयाँ मतदाताका लागि फोटो सहितको मतदाता नामावली दर्ता सुरु गरिएको थियो । त्यससँगै जिल्लाका १० वटै स्थानीय तहमा श्रावण १६ गतेदेखि मतदाता नामावली सुरु गरिएको थियो । जिल्लाका स्थानिय तहहरुमा करिव २५ दिन सम्म सञ्चालन गरिएको उक्त फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमबाट बाग्लुङ जिल्लामा साढे ११ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म जिल्लाभर ११ हजार ५ सय ४७ मतदाता थपिएका छन् । ती मध्ये महिला ५ हजार ४ सय १८ तथा पुरुष ६ हजार १ सय २९ जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार १० स्थानीय तह अन्तरगत बागलुङ नगरपालिकामा ३ हजार ७ सय १०, गलकोट नगरपालिकामा १ हजार ३ सय ६२ जना, जैमिनी नगरपालिकामा ९ सय ३४, ढोरपाटन नगरपालिकामा १ हजार ७ सय ८१ जना रहेका छन् । यस्तै काठेखोला गाउँपालिकामा ४ सय ९०, ताराखोला गाउँपालिकामा ५ सय ३१, बरेङ गाउँपालिकामा ३ सय ३४, बढिगाड गाउँपालिकामा ९ सय २०, निसीखोला गाउँपालिकामा ९ सय ३७ तथा तमानखोलामा ५ सय ४८ जना थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास चन्द्र शर्माले बताए ।