म्याग्दी, २ भाद्र – शारिरीक रुपमा अपाङ्गता भएका म्याग्दी जिल्लाका करिब ३ हजार ३ सय जनाले अपाङ्गता परिचयपत्र पाएका छन् । गत आर्थिक वर्ष २०७३÷७४ सम्म म्याग्दीका कुल ३ हजार २५९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । अपाङ्गता परिचयपत्र लिनहरुमा ‘क’ वर्गका २०७ जना, ‘ख’ वर्गका १ हजार १३१, ‘ग’ वर्गका ८९९ र ‘घ’ ९१८ जना रहेको महिला तथा बालबालिका कार्यालय म्याग्दीले जनाएको छ । अपाङ्गता परिचयपत्र लिनेमा महिला १ हजार ३४६ र पुरुष १ हजार ८०९ जना रहेको निमित्त महिला विकास अधिकृत भूवनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार अपाङ्गता परिचयपत्र लिनेमा महिलाको तुलनामा ४६३ जना पुरुष बढी देखिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयबाट १०४ जनाले अपाङ्गता परिचयपत्र लिइसकेको उनले बताए । अपाङ्गता परिचयपत्र पाउनका लागि शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिले अस्पतालको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र अपाङ्गता देखिने गरी तीनओटा फोटो पेश गर्नुपर्ने हुन्छ । व्यक्तिले पेश गरेको सिफारिस, प्रमाण र फोटोका आधारमा उसलाई विभिन्न वर्ग अनुसारको अपाङ्गता परिचयपत्र दिने व्यवस्था रहेको निमित्त कार्यालय प्रमुख समेत रहेका मल्लले बताए । अपाङ्गता स्रोत पुस्तिका अनुसार अरुको साहारा लिएर पनि दैनिक जीवन आफै सम्पादन गर्न नसक्ने, तीब्र बौद्धिक अपाङ्गता र पूर्णरुपमा श्रवण र दृष्टिविहिन लगायतका समस्या भएकालाई ‘क’ वर्गको रातो रङको परिचयपत्र दिइने गरिएको कार्यालयले जानकारी दिएको छ । यसैगरी कम्मरमूनिको भाग क्रियाशिल नहुँदा ह्वीलचियरको सहायता लिनुपर्ने, दुबै हातको पाखुरामूनिका अङ्ग नभएका, दुबै खुट्टा पूर्ण क्रियाशिल नभई बैसाखीको प्रयोग गर्नुपर्ने, पूर्ण दृष्टिविहिन तथा बहिरा र दैनिक जीवन आफै सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङको परिचयपत्र दिने व्यवस्था रहेको बताइएको छ । त्यस्तै कृत्रिम अङ्ग वा सहायक सामाग्रीको प्रयोगबाट दैनिक जीवन आफै सम्पादन गर्नसक्ने, पोलियो भएर घुँडामूनिको अङ्गमा मात्र प्रभाव परेको, शारिरीक रुपमा अपाङ्ग तर स्वतन्त्र हिँडडुल गर्नसक्ने, हत्केला भन्दामूनि बुढीऔंला र चोरऔंला नभएका जस्ता समस्या झेल्दै आएको व्यक्तिले ‘ग’ वर्गको पहेंलो रङको परिचयपत्र पाउने व्यवस्था रहेको छ । त्यसैगरी शारिरीक रुपमा सामान्य विचलन भए पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाई नहुने, ठूला अक्षर पढ्न सक्ने, हत्केलाभन्दा तल बुढीऔंला र चोरऔंला भएका, खुट्टाको औंलाका भागहरु नभएका र श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने सुस्त श्रवण व्यक्तिले ‘घ’ वर्गको सेतो रङको अपाङ्गता परिचयपत्र पाउने व्यवस्था रहेको स्रोत पुस्तिकामा उल्लेख गरिएको छ । सोही अवधिमा कुल २५८ जना ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिक परिचयपत्र लिएकोमा ११२ महिला र १४६ जना पुरुषहरु रहेको कार्यालयका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीले बताइन् । गतवर्ष नै २ जना महिलालाई हिंसापीडित राहत वितरण गरिएको उनले बताएकी छिन् । जिल्लाको विभिन्न स्थानमा १७ ओटा महिला सहकारी गठन गरेको महिला विकास कार्यालयले लैङ्गिक हिंसा निगरानी समूह समेत गठन गरी त्यसमार्फत समुदायस्तरमा सचेतना वृद्धि, हिंसा न्युनीकरणको काम गरिँदै आएको उनको भनाई छ । यसैबीच कार्यालयलाई गतवर्ष प्राप्त कुल एक करोड ३६ लाख ७१ हजार बजेटमध्ये एक करोड १९ लाख आठहजार २८७ रुपैयाँ मात्रै खर्च भएको छ । कार्यालयले उक्त बजेटमार्फत महिला विकास कार्यक्रम, लैङ्गिक हिंसा निवारणका लागि महिला संस्थाहरुको एकीकृत विकास, ज्येष्ठनागरिक एवं बालकल्याण शीर्षकमा कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ ।
Previous Articleमाओवादी म्याग्दीको ३ महिने अभियान शुरु
Next Article जनमोर्चाको ढोरपाटन नगरपालिकामा भेला